निर्माण व्यवसायीहरूद्वारा २ ठूला विभागमा धर्ना र तालाबन्दी, उपाध्यक्षसहितका व्यवसायी पक्राउ

काठमाडौं । काम सम्पन्न भएका आयोजनाहरूको भुक्तानी लगायतको माग राखेर आन्दोलनमा रहेका नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारी र सदस्यहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार बिहान ललितपुरको चाकुपाटमा रहेको सडक विभाग र जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाएर विरोध प्रदर्शन गर्न खोजेका व्यवसायीहरूलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामासहित ४५ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धिविक्रम शाह ताला लगाउन खोजेपछि पक्राउ गरिएको बताएका छन् ।

महासंघका पदाधिकारी र सदस्यहरूले तालाबन्दीसँगै दुई कार्यालयहरूमा धर्ना पनि दिएका छन् ।

महासंघले आफ्ना मागहरू पूरा गर्नुपर्ने भन्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ ।

निर्माण व्यवसायीहरूले सरकारसँग काम गरेबापतको रकम भुक्तानीको माग गरेका छन् । ठेक्काको म्याद थप गर्नुपर्ने पनि उनीहरूको माग छ ।

निर्माण व्यवसायीहरूले विभिन्न माग राखेर काठमाडौंमा सिठी जुलुस, निर्माणका साधन लगायत राखेर प्रदर्शन गरिसकेका छन् । सरकारले निर्माण व्यवसायीहरूको मागलाई सुनुवाई गरेको छैन ।

Published : Sunday, 2023 August 13, 11:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया