काठमाडौंमा आधा करोड नेपाली नक्कली नोट र मान्छेहरू पक्राउ, अर्जुन हुन् घटनाका नाइके

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली जस्तो देखिने नेपाली (मुद्रा) नोट रू. ५२ लाख ७५ हजारसहित ९ जना मानिसहरूलाई नियन्त्रण लिएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरेर काठमाडौं प्रहरीका प्रमुख (एसएसपी) दानबहादुर कार्कीले नागढुङ्गा चेकप्वाईन्टबाट पर्यटक बसबाट ५२ लाख ७५ हजार नक्कली नोट बरामद गरिएको बताएका छन् । नक्कली नोट प्रकरणको नाइके सिन्धुपाञ्चोकको वलेफी गाउँपालिका वडा नं. ७ घर बताउने वर्ष ४० को अर्जुन सुबेदी रहेको कार्कीले बताएका छन् ।

काठमाडौं प्रहरीले ठूलो परिणाममा नक्कली नेपाली नोट बरामद गरेर राज्यलाई ठूलो नोक्सानी हुनबाट बचाएका छन् । संभवत नेपाली नक्कली नोट यति ठूलो परिणाममा बरामद भएको पहिलो पटक हुन सक्छ ।

प्रहरीले बिहीबार बिहान १० बजेको समयमा काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ स्थित नागढुङ्गा चेकप्वाईन्टमा प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गरेको थियो ।

लुम्बिनीबाट काठमाडौंतर्फ आउँदै गरेको लु. १ प. ५ नम्बरको हरियो नम्बर प्लेट भएको पर्यटक बसलाई चेकजाँच गर्ने क्रममा नक्कली नोट बरामद भएको एसएसपी कार्कीले बताएका छन् ।

‘बसको ढोकाको साईडको सामान राख्ने डिक्कीमा र्‍याप गरी राखिएको चाउचाउको कार्टुन शंका लागि चेकजाँच गर्दा उक्त कार्टुनभित्र नक्कली जस्तो देखिने एक हजार दरका नेपाली मुद्रा (नोट) ३५ गड्डीमा तीन हजार पाँच सय त्रीहत्तर बरामद भएको छ’, कार्कीले भने ।

फेला पारी उक्त नोटलाई रितपूर्वक बरामद गरी बसका चालक तथा सह–चालकलाई सोधपुछ गर्दा उक्त र्‍याप गरेको कार्टुन लुम्बिनी बसपार्कबाट एक जना मानिसले यो अचार हो, काठमाडौं लगिदिनु काठमाडौं बसपार्कमा रिसिभ गर्ने मेरो मानिस आउँछ भनि पठाएका हुन भनि चालक र सहचालकले बयान दिएका छन् ।

बताएको र सो सामान पठाउने तथा रिसिभ गर्ने लगायत उक्त (मुद्रा) नोटसंग सम्बन्धित संलग्न अन्य मानिसहरूलाई खोजतलास तथा सो सम्बन्धी थप अनुसन्धानका लागि बसका चालक तथा सह–चालकलाई साथमा लगी प्रहरी वृत्त थानकोट र नागढुङ्गाबाट खटिएका प्रहरी टोलीले गोंगबु बसपार्क र भक्तपुरको चागुनारायण नगरपालिका–४ बुढाथोकी गाउँस्थितबाट थप नक्कलीजस्तो देखिने १९ गड्डीमा एक हजार मात्र दरका नेपाली मुद्धा (नोट) एक हजार सात सय दुई वटा नोटको अंकित मूल्य अनुसार सत्र लाख दुई हजार गरी जम्मा बाउन्न लाख पचहत्तर हजार रकम बरादम भएको छ ।

काठमाडौं प्रहरीले सिन्धुपाञ्चोकको वलेफी गाउँपालिका वडा नं. ७ घर बताउने वर्ष ४० को अर्जुन सुबेदी, सिन्धुपाञ्चोकको कोठे– ९ घर बताउने वर्ष २५ को सुशील कार्की, सिन्धुपाञ्चोकको सुनकोशी गाउँपालिका वडा नं. ६ घर बताउने वर्ष २३ को शिव भण्डारीलाई पक्राउ गरेको छ ।

सिन्धुपाञ्चोकको सुनकोशी गाउँपालिका वडा नं. ६ घर बताउने वर्ष २३ को मिलन भण्डारी, सिन्धुपाञ्चोकको सुनकोशी गाउँपालिका वडा नं. ६ घर बताउने वर्ष २४ को श्रीकृष्ण भण्डारी, झापाको कमल गाउँपालिका वडा नं. ३ घर बताउने वर्ष २९ को युवराज राई, अछामको मेल्लेख गाउँपालिका वडा नं. ३ घर बताउने वर्ष २१ को अर्जुन बुढा पनि पक्राउ परेका छन् ।

गुल्मीको वाडागाउँ गाउँपालिका वडा नम्बर २ घर बताउने वर्ष ३४ को सागर आचार्य, नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ घर बताउने वर्ष ५३ की पार्वती नेपालीलाई पनि पक्राउ गरिएको एसएसपी कार्कीले बताएका छन् ।

दुबै स्थानमा बरामद भएका नक्कली नोट जस्तो देखिने ५४ गड्डीमा एक हजार मात्र दरका नेपाली मुद्धा (नोट) थान पाँच हजार दुई सय पचहत्तर वटा नोटको अंकित मूल्य अनुसार बाउन्न लाख पचहत्तर हजार रकम बरामद भएको छ ।

मनिटर–१, सीपीयू–१, किबोर्ड–१, माउस–१, कम्प्युटरसेट थान–१ पनि बरामद भएको छ । पेपर कटर मेशिन थान–१, कलर प्रिन्टर थान–१, प्रिन्ट पेपर रिम–१, खुल्ला पेपर २०० पेज, प्रिन्टर थान–१, कलर केमिकल प्लाष्टिकको बोतल २ वटा, भोड्काको क्वाटर बोतलमा १ बोतल केमिकल, अर्जुन सुबेदीको नाममा जिल्ला अदालत चितवनको तारेख पर्चा १ को नामको नेपाली राहदानी थान–१, एक हाजर दरको नोटको साईजको पेपर थान –९ पनि बरामद भएको छ ।

बा. ६३ प. २०७५ नम्बरको १५० सीसीको होण्डा मोटरसाईकल थान–१, बा. प्र. ०२–०३९प ९४०७ नं. को एन.एस. पल्सर मोटरसाईकल थान– १, बा.प्र.०२–०२८ प १३०६ नं.को स्कुटर थान– १, बा. प्र. ०२–०३८ प ५६४२ नं. को २०० सिसिको एन.एस. पल्सर मोटरसाईकल थान –१, स्मार्ट मोबाईल थान १० र सादा मोबाईल थान २ गरी जम्मा १२ थान मोबाईल पनि बरामद भएको छ ।

पक्राउमा परेका व्यक्तिहरू उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद– २२ को मुद्रा सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको काठमाडौं प्रहरीका प्रमुख (एसएसपी कार्कीले बताएका छन् ।

Published : Friday, 2023 August 11, 10:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया