देवराजले एमालेलाई च्यापेको च्यापै, कांग्रेसका खतिवडा र माओवादीका पौडेलले सूर्यको पोल खोले

काठमाडौं । एमालेका सांसद समेत रहेका सभामुख देवराज घिमिरेको गतिविधि र क्रियाकलापप्रति आशंका उब्जिएको छ ।
घिमिरेले सभामुख पदको गरिमा बचाउन नसकेको आरोप लागेको छ । एमालेप्रति निकै नरम देखिएका घिमिरेले प्रतिनिधि

सभाको बैठक अबरुद्ध हुँदा पनि खुलाउने विषयमा गम्भीर रुपमा पहल गरेका छैनन् । एमालेले सामान्य कुरामा पनि संसद अबरोध गर्दा सभामुख घिमिरेले एमालेलाई सहयोग हुने गरेर बैठकको कामकारबाही अगाडि बढाउने गरेका छन् । घिमिरेका कारण संसदमा सरकारलाई निकै असहयोग भइरहेको छ ।

एमालेले संसद अबरोध गरेका बेला बैठकको नियमावलीलाई पनि उल्लंघन गरेको हुन्छ । त्यो कुरालाई पनि सभामुख घिमिरेले नदेखेको जस्तो गर्छन् । मंगलबार बसेको बैठकमा पनि संसदको बैठक सञ्चालन नियमावलीको विषयमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कुरा उठाएका थिए । तर, खतिवडालाई बोल्न दिए पनि सभामुख घिमिरेले एमालेलाई नै बचाउ हुने गरेर गतिविधि गरेका थिए ।

प्रमुख प्रतिपक्ष दल एमालेले साउन १० गतेदेखि लगातार प्रतिनिधि सभाको बैठक अबरोध गर्दै आएको छ । स्थगित हुँदै आएको संसदको बैठकमा बुधबार फरक दृश्य देखिएको छ । झन्डै ११ मिनेट बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नाराबाजी र अवरोध थालेपछि सत्तापक्षका सांसदहरू पनि प्रतिपक्षी दलको विरोध गर्दै सभामा उठेका थिए ।

सभामुख घिमिरेले एमालेका सांसद सूर्यबहादुर थापालाई बोल्न समय दिएपछि कांग्रेस सांसद रामहरि खतिवडाले उठेर आफूलाई पनि बोल्न समय दिन माग गरेका थिए ।

सांसद थापाले बोलिरहँदा सत्तापक्षका सांसदहरूले अवरोध पुर्‍याएपछि सभामुख घिमिरेले थापालाई समय छोट्याएर बोल्न आग्रह गरेका थिए ।

सत्तापक्ष सांसदको होहल्लापछि सभामुखले थापालाई धेरै बोल्न नदिएपछि एमाले सांसदहरू सभामुखको आसन अगाडि पुगेर नाराबाजी गर्न थाले ।

सभामुख घिमिरेले आसनमा फर्केर बसी सभा सञ्चालनका लागि आग्रह गरे पनि एमाले सांसदहरूले नाराबाजी कायम राखे भने सत्तापक्षका सांसदहरू पनि उठेर होहल्ला गर्दै प्रतिपक्षले गरेको संसद् अवरोधमाथि विरोध जनाए ।

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सभामुखले प्रतिपक्ष दललाई मात्र एकोहोरो बोल्न दिने, सत्तापक्षको कुरा नसुन्ने भएपछि उभिएर विरोध जनाएको बताएका छन् ।

कार्यव्यवस्था परामर्श समितिको छलफलमा एमालेका सांसद थापालाई बोल्न दिने कुरा नभएको तर, सभामुखले बोल्न समय दिएपछि सत्तापक्षले पनि बोल्न समय मागेको पौडेलले बताएका छन् ।

कांग्रेसका सांसद रामहरि खतिवडाले प्रमुख प्रतिपक्षी दलले बार्गेनिङ गरिरहेको आरोप लगाएका छन् ।

खतिवडाले भने, ‘प्रमुख प्रतिपक्षलाई बोल्न दिएपछि सबैभन्दा पहिला म नै उठेर बोलेको हुँ । हिजोको बैठकमा मलाई बोल्न दिइएको थिएन ।’

‘संसद् भनेको प्रतिपक्षको मात्रै हो भनेर कहीँ लेखेको छ ? देशमा यति धेरै समस्याहरू छन्, बाढी पहिरो आएको छ, लम्पी स्किन रोगका कारण किसानहरू मर्माहत भएका छन्, विदेशमा हाम्रा मान्छेहरू मरिरहेका छन्, बाढी पहिरोका कारण घर जाने बाटाहरू छैनन्’, खतिवडाले भने ।

‘संसद् त जनताको प्रतिनिधिहरूको थलो हो । दिनैपिच्छे हाजिर गरेर आउने, प्रतिपक्ष दल संसद्ले नचिनेको, कानुनले नचिनेको, नियमले नचिनेको समिति गठनको माग गरे अनुसन्धानलाई अर्कैतिर मोड्न खोज्दैछ’, खतिवडाले भने ।

खतिवडाले संसदीय समितिमा प्रमुख प्रतिपक्ष दलले किन भागबन्डा लिएको भन्दै प्रश्न समेत गरेका छन् ।

लेखा समितिभन्दा अरू समितिमा प्रतिपक्षी दलले समितिको सभापति लिने चलन नभएको बताउँदै खतिवडाले एमालेले बार्गेनिङ गर्ने काम गरेको बताए ।

‘२०४६ साल पनि नेपालमा कति वटा आयोग बने ? त्यो आयोगका कामहरू के के कार्यान्वयन भए ? संसदीय आयोगकै रिपोर्टहरू कार्यान्वयन भए ? भएका छैनन् नि । जनताको मुद्दामा एमाले छ नि भनेजस्तो पार्न विषयवस्तु विषयान्तर गर्ने काम भएको छ’, खतिवडाले भने ।

‘सीआईबीलाई विश्वास नगर्ने हो भने ललिता निवास प्रकरणका सबैलाई छोडौँ । त्यसो भने नक्कली भुटानी प्रकरणका सबैलाई छोडौँ किनभने त्यसको विश्वास उहाँहरूलाई छैन भने । राज्यलाई यसरी लिएर हुन्छ ?’, खतिवडाले भनेका छन् ।

असार ३१ गते प्रतिनिधि सभाको बैठक सम्पन्न भए यताका बैठकहरू प्रमुख प्रतिपक्षी दलको मागका कारण अवरुद्ध हुँदै आएका छन् । यो बीचमा ३ बैठक सूचना टाँस गरेर स्थगित भएका छन् भने ३ बैठक अवरुद्ध भएका छन् ।

साउन १० गते, साउन २३ गते र साउन २४ गते बैठक अवरुद्ध भएको छ भने साउन १५ गते, १६ गते र २२ गते सूचना टाँस गरेर स्थगित भएको छ ।

Published : Wednesday, 2023 August 9, 10:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया