जब मलाई राज्यले जिम्मेवारी दिइन्छ त्यहिबेला लाञ्छाना लगाउने जमात निस्कन्छ : डा.लामा

काठमाडौं । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा.ल्हारक्याल लामाले बुद्धको उपदेशबाट दायाँबायाँ नगरेको बताएका छन् ।

सोमबार विज्ञप्ति जारी गरेर डा.लामाले भने, ‘बुद्धको उपदेशबाट एक ईञ्च दायाँबायाँ गरेको छैन । मेरो जीवन दर्शन र मैले आर्जन गरेको शिक्षाले त्यो गर्न दिँदैन ।’

‘यो प्रेस वक्तव्यमार्फत के प्रण गर्छु भने ममाथि लगाइने यस्ता नियोजित र निराधार आरोपहरूको खण्डन मैले मेरो कामबाटै गर्नेछु’, डा.लामाले भने ।

पूर्वअर्थराज्यमन्त्री समेत रहेका डा.लामाले भने, ‘हुँदै नभएका र गर्दै नगरेका अपराधको समेत मलाई अभियुक्त बनाउनेहरूसँग कानूनी लडाइँमै जितेर आएको मान्छे हुँ ।’

‘लुम्बिनी विकास कोषको जिम्मेवारी केही मान्छेका लागि जागिर होला तर, मेरो लागि गहन जिम्मेवारी हो’, डा.लामाले भने, ‘जुन दर्शन र सभ्यताको अन्तर्राष्ट्रियकरण गर्न मैले व्यक्तिगत रुपमा भूमिका खेलिरहेको थिएँ अब राज्यको जिम्मेवारीमा रहेर त्यसलाई प्रमाणित गर्नेछु ।’

उनले आफ्नो नियुक्तिप्रति आशावादी भएर बधाइ तथा शुभकामना दिने र सत्मार्गमा अघि बढिरहन प्रेरणा दिने सबैमा आभार व्यक्त गरेका छन् ।

विश्वभरका बौद्ध धर्माबलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारी दिने नेपाल सरकारको निर्णयप्रति डा.लामाले आभार व्यक्त गरेका छन् ।

‘लुम्बिनीको विकास र यसको अन्तर्राष्ट्रिय पहुँच तथा पहिचान विस्तारका लागि मलाई योग्य ठानेर नियुक्त गर्ने मन्त्रिपरिषद, प्रधानमन्त्री, मन्त्रीसहित सबैप्रति अभारी छु’, उनले भने ।

पूर्वसांसद समेत रहेका नवनियुक्त उपाध्यक्ष डा.लामाले आफ्नाविरुद्ध मिडियामा आएका निकै तल्लोस्तरका समाचारहरूप्रति चित्त दुखाएका छन् । उनले भने, ‘लुम्बिनी विकास कोषको उपाध्यक्षमा मेरो नियुक्तिपछि केही मिडियाले मविरुद्ध चरित्रहत्याको निम्नतस्तरीय तहमा उत्रिएर गरिएका समाचार टिप्पणी र लाञ्छानाहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘विगत केही वर्षयता जब जब मलाई राज्यको तर्फबाट जिम्मेवारी दिइन्छ त्यहिबेला मविरुद्ध यस्ता लाञ्छाना लगाउने गिरोह र मिडिया सधै संगठित रुपमा सक्रिय हुने गरेका छन् र तिनीहरू एउटै जमात छन्’, उनले भने ।

‘उनीहरूले लगाएका अभियोगहरूको अदालती परीक्षणमा समेत मैले सधैं सफाइ पाएको छु तर, जब उनीहरूको स्वार्थमा धक्का लाग्छ, तब मविरुद्ध समाचारका खेती हुने गरेका छन्’, डा.लामाले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘यो भनेको सम्मानित अदालतको समेत अपहेलना हो ।’

‘अघिपछि मैले संविधान सभा सदस्य, व्यवस्थापिका संसदको सदस्य वा राजनीतिक दलको जिम्मेवार पदमा रहेका बेला तथा अन्तर्राष्ट्रिय फोरमहरूमा मैले देशको र बुद्ध जन्मस्थल लुम्बिनीको पक्षमा बोल्दा तथा लबिङ गर्दा नउठ्ने प्रश्न जब मैले देशको पक्षमा केही काम गर्ने बेला हुन्छ त्यसमा अवरोध सिर्जना गर्ने नियतले यस्ता अफवाहहरू फैलाइने गरेका छन्’, उनले भने, ‘केही सीमित मिडिया र व्यक्तिहरू यसमा संलग्न छन्, सबै होइन ।’

उनले भने, ‘म हेलम्बुजस्तो दुर्गम गाउँमा गरिव आदिवासी जनजाति परिवारमा जन्मिनु, मैले बौद्ध दर्शनको शिक्षादीक्षा लिएर बुद्धत्वको प्रचार प्रसारमा आफ्नो जीवन समर्पित गर्नु नै मेरो अपराध हो भने यो अपराधबाट मैले कहिल्यै सफाइ पाउन सक्दिन ।’

‘बाँकी उनीहरूले लगाएका सबै आरोपहरूको राज्यका संवैधानिक अंग तथा अनुसन्धान गर्ने अख्तियारीप्राप्त निकायहरूको अनुसन्धानबाट मैले पटक पटक सफाइ पाएको सत्य किन स्वीकार गर्न सक्दैनन् केही मान्छेहरू ? के अदालतले सफाइ दिए पनि केही पेशवर मेरा विरोधीहरूको इजलालसले सफाइ नदिएसम्म मैले अभियुक्त र अपराधी नै भइदिनुपर्ने हो ?’, डा.लामाले प्रश्न गरेका छन् ।

‘कहिले नागरिकताको प्रश्न उठाए, कहिले सम्पत्ति शुद्धीकरणको कुरा, कहिले हातहतियारको त कहिले ठगीको तर, ती सबै मविरुद्ध र मैले अबलम्बन गरेको धार्मिक आस्थामाथि हिलो छ्याप्ने नियतबाट लगाइएका अभियोग थिए भन्ने सम्मानित अदालतबाट पुष्टि भइसकेका छन्’, विज्ञप्तिमा उल्लेख छ ।

‘मविरुद्ध राज्यकै जिम्मेवार निकायमा बसेका केही व्यक्तिले पदको दुरुपयोग गरेर लगाइएका झुठा मुद्दाहरूबाट समेत मैले सफाइ पाइसकेको यथार्थ स्वीकार गर्न नसकी लगातार आक्रमण गर्नेहरूप्रति मेरो केही भन्नु छैन’, उनले भने ।

‘के मैले उनीहरूका आरोपबाट सफाइ पाउन मृत्यु नै रोज्नु पर्ने हो ? उनीहरूको यो चाहना हो भने मलाई बुद्ध दर्शनले त्यति कायर पनि बन्न प्रेरित गर्दैन’, उनले भने ।

‘मेरो विरोध र निन्दा गर्नुलाई नै आफ्नो पेशा बनाएकाहरूप्रति मलाई केही पनि भन्नु छैन’, डा.लामाले भने, ‘मैले सार्वजनिक जीवनमा प्रवेश गरेको यो २३ वर्षका बीचमा गरेका कामहरू राज्यको रेकर्डमा र पब्लिक अडिटमा छन् ।’

सरकारले डा.लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेपछि एउटा समूहले निरन्तर सफाइ पाइसकेको विषयलाई जोडेर समाचार लेखेको छ । ती समाचारप्रति डा.लामाले चिन्ता जनाएका हुन् ।

आइतबार उपाध्यक्ष पदमा नियुक्त भएको पत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट पत्र बुझेका डा.लामाले केही दिनभित्रै जिम्मेवारी सम्हालेछन् । डा.लामा बौद्ध धर्म र लुम्बिनीका विषयमा जानकार व्यक्ति पनि हुन् ।

Published : Monday, 2023 August 7, 8:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया