प्रचण्डको जिल्लामा एसपीको लापरबाही, सुजुकीका गाडी किन्ने ९७ ग्राहकहरू ठगिए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा सुजुकी गाडीको आधिकारिक बिक्रेताले ९७ वटा गाडी बिक्री गरिसकेपछि पनि ग्राहकको नाममा नामसारी नगरेको खुलासा भएको छ ।

ग्राहकले पूरा रकम तिरेर किनेका गाडी हिमालयन बैंक भरतपुर शाखाले लिलाम गर्नका लागि ३५ दिने सूचना निकालेपछि खरिदकर्ताले ठगिएको थाहा पाएका हुन् ।

ठगिएको थाहा पाएपछि चितवनस्थित सुजुकी गाडीको आधिकारिक बिक्रेता कम्पनीका प्रमुख प्रतीक श्रेष्ठबिरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा केही दिनअघि उजुरी दिएका थिए ।

प्रहरीले ठगी प्रकरणमा श्रेष्ठलाई पक्राउ गरेको थियो । श्रेष्ठलाई पक्राउ गरी तुरुन्तै आर्थिक चलखेलमा छाडेको आरोप छ ।

९७ जनासँग कराडौं लिएर पनि गाडी नामसारी नगर्ने श्रेष्ठबिरुद्ध परेको ठगीसम्बन्धी उजुरीमा चितवनका एसपी रामेश्वर कार्कीकै अग्रसरतामा दबाब दिएर मिलापत्र गराइएको गुनासो पीडितले गरेका छन् ।

३ महिनाभित्र भुक्तानी गर्नेगरी उजुरी दिने ११ जनालाई चेक दिएर मिलापत्र गराए पनि त्यसपछि प्रतीक श्रेष्ठ सम्पर्कमा नआएको पीडितहरूले गुनासो गरेका छन् ।

प्रतीक श्रेष्ठ र उनका सहयोगी जेम्स चौधरीले हिमालयन बैंक शाखा कार्यालय भरतपुरबाट ५२ करोड रुपियाँ ऋणमा ९७ वटा सुजुकी गाडी बिक्रीका लागि सोरुममा राखेका थिए ।

९७ वटै गाडी बिक्री गरी ग्राहकहरूबाट त्यसबापतको भुक्तानी समेत लिएका छन् । ग्राहकबाट पैसा लिए पनि गाडी पास गर्न आज/भोलि भन्दै झुलाउँदै लगेको आरोप छ । ग्राहकबाट पैसा लिएर पनि प्रतीक श्रेष्ठले हिमालयन बैंकको ऋणको साँवा ब्याज नै नतिरेपछि हिमालयन बैंक भरतपुर शाखाले ९७ वटै गाडी लिलाम गर्ने ३५ दिने सूचना निकालेको छ ।

बैंकले लिलामीको सूचना निकालेपछि गाडी खरिद गर्नेहरू आक्रोशित भएका छन् । डा. सन्दीप साहसहित ११ जनाले जिल्ला प्रहरी कार्यालय चितवनमा प्रतीक श्रेष्ठबिरुद्ध ठगीमा उजुरी हालेका छन् ।

प्रतीक श्रेष्ठलाई पक्राउ गरिसकेपछि उजुरी दिनेमध्येका डा.सन्दीप साहलाई ३८ लाख रुपियाँ दिन लगाइयो । अरु उजुरीकर्तालाई प्रतीक श्रेष्ठका भाइसहितको रोहबरमा ३ महिनाभित्र गाडी नामसारी गर्नेगरी मिलापत्र गराइएको थियो ।

कतिपय उजुरीकर्तालाई चेक दिएका प्रतीक श्रेष्ठ प्रहरी कार्यालयबाट छुटेपछि पीडितको सम्पर्कमा आउन नचाहेको पीडितको गुनासोपत्रमा उल्लेख छ ।

प्रतीक श्रेष्ठ प्रहरीको हिरासतबाट मुक्त भएपछि उनका सहयोगी जेम्स चौधरी फरार भएका छन् । जेम्स चौधरीलाई प्रतीक श्रेष्ठले नै फरार गराएको आरोप छ ।

गाडी किनेका तर, नामसारी नभएका पीडितहरूको गुनासोपत्रमा १० लाख रुपियाँको चलखेलमा ठगी मुद्दामा मिलापत्र गराई छाडिएको उल्लेख छ ।

बैंकिङ कसूर शाखाका सई राम कार्कीको सेटिङमा प्रतीक श्रेष्ठ छुटेको स्रोतले बताएको छ । अहिले टोकन स्वरुप १० लाख र पछि थप दिनेगरी ठगी गर्ने प्रतीक श्रेष्ठलाई छाडिएको आरोप छ ।

प्रतीक श्रेष्ठलाई छाडिएकोबारेमा एसपी कार्कीले भने, ‘प्रतीक श्रेष्ठलाई उजुरी परेपछि पक्राउ गरी म्यादथप गरी मुद्दा चलाइएको हो । उजुरीकर्ता ११ जनामध्ये डा.सन्दीप साहको ३८ लाख फिर्ता गरेको र बाँकी ११ जनाले मिलापत्र गरेकाले उनलाई छाडिएको हो ।’

एसपी कार्कीले भने, ‘उजुरीकर्ताहरूले प्रतीकका बाबु, भाइहरूसँग सम्झौता गरेर उजुरी फिर्ता लिएकाले छाडेका हौं । फेरि उजुरी परे पक्राउ परिहाल्छन् ।’

सुजुकीका ९७ वटै गाडी लिलामीको ३५ दिने सूचना निकालिसकिएको छ । ३५ दिन बित्न एक दुई दिन बाँकी रहेको र ऋण असुली प्रक्रियामै रहेको हिमालयन बैंक भरतपुर शाखाका म्यानेजर कविन्द्र पाण्डेले बताएका छन् ।

म्यानेजर पाण्डेले सुुजुकीका बिक्रेता प्रतीक श्रेष्ठको ऋण रकम बताउन नमिल्ने प्रतिक्रिया दिएका छन् । बैंकले लिलामी प्रक्रिया अगाडि बढाइसकेको र ३५ दिने सूचनाको म्याद पनि सकिन लागेको छ । यस्तो अवस्थामा ३ महिनाभित्र गाडी नामसारी हुने कुरामा गाडी खरिदकर्ताहरूमा आशंका उत्पन्न भएको छ ।

एसपी कार्कीले प्रतीक श्रेष्ठसहितका ठगी गर्ने समूहलाई पाताकसेर कानूनअनुसार कारबाही गरेको भए अहिले यो अवस्था आउने थिएन । एसपी कार्कीकै लापरबाहीले पीडितले झन् समस्या र दु:ख भोग्नुपरेको छ । एसपी कार्कीलाई सम्बन्धित निकायले कारबाही गर्छ वा गर्दैन हेर्न बाँकी छ ।

Published : Sunday, 2023 August 6, 12:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया