प्रचण्डले विश्वास गरेका दुई नेताको कुराले निराश, समय आएपछि हिसाब किताब हुने

काठमाडौं । माओवादी केन्द्रका उप–महासचिव वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प कसैले नखोजेको बताएका छन् ।

शनिबार काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकमा उनले माओवादी पार्टीको उत्तराधिकारी तयार पार्ने विधिको खोजीमा लाग्नुपर्ने बताए । उनले पार्टी अध्यक्ष दाहाल नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको गरेको बताए ।

‘अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प कसैले खोजेको छैन’, उनले भने, ‘उत्तराधिकारी निर्माणबारे विधिको विकास गर्नुपर्ने भएको छ ।’

पुनले पार्टी निर्माणका लागि गुट र उपगुट अन्त्य गरेर जानुपर्ने बताएका छन् । ‘गुटउपगुट सबै अन्त्य गरेर बलियो पार्टी निर्माण गरौं, म योगदान गर्न तयार छु’, उनले भने ।

‘अध्यक्ष कमरेड तपाईंको अभियानमा हाम्रो दह्रो साथ छ’, उनले भने, ‘कुनै पनि हालतमा यो अभियान रोकिँदैन र रोकिनु हुँदैन । छानबिन गर्दा पार्टीकै कोही नेता परे पनि सजाय भोग्न तयार हुनुपर्छ । यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि तयार हुनुपर्छ ।’

यसैबीच, माओवादी केन्द्रका उप–महासचिव जनार्दन शर्माले पार्टी नेताहरूको व्यक्तिगत स्वभावमा अध्यक्ष दाहालले खेल्ने गरेको आरोप लगाएका छन् ।

शर्माले पार्टीमा नेताहरूबीच अध्यक्ष दाहालले खेल्ने गरेको बताएका हुन् । उनले पार्टी महासचिव चयनका बेलाको प्रसंग उल्लेख गरेका छन् ।

‘समाजवादी हुनुभन्दा पहिले हामी लोकतान्त्रिक संस्कारलाई स्वीकार गरौं’, शर्माले भने, ‘मान्छे हुनुको नाताले सबैको आ–आफ्नै स्वत्व हुनु स्वाभाविकै छ ।’

उनले भने, ‘अध्यक्ष कमरेडले बेला–बेला त्यसमै धार लाइदिनुहुन्छ । तलबाट पनि म फलनाको हुँ र होइन भन्ने चलन छ । अनि त्यसैलाई गुट भनेर ठूलो प्रचार गरिन्छ ।’

‘हामी तपाईंकै हौं, दुई जनामध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अध्यक्षलाई अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारिन्छ’, उनले भने, ‘सोही प्रस्तावलाई सहज रुपमा स्वीकार गर्दा पनि अनेकन प्रचारबाजी गरिन्छ । अनि गरौं के ?’

उप–महासचिव शर्माले अध्यक्ष दाहालको कुरा जति स्वीकार गर्दै आएपछि राम्रो व्यवहार नपाएको भन्दै दुखेसो व्यक्त गरेका छन् ।

शर्माले अध्यक्ष दाहाललाई जुनसुकै परिस्थितिमा आफूले साथ दिएको भए पनि विश्वास नगरिएको बताएका छन् । उनले भने, ‘परिस्थिति अदलबदल गर्नुपर्दा वा अन्य कुनै संकट आइपर्दा सँधै अध्यक्षको पक्षमा खडा भएकै छु । होला कहिलेकाहीं आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि ।’

‘त्यसैलाई असहयोग गर्‍यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ’, उनले भने, ‘अध्यक्ष कमरेडले भन्नुपर्‍यो– कुन चाहिँ अप्ठेरो मोडमा तपाईंले मेरो साथ र समर्थन पाउनु भएन ? तल कुनचाहिँ व्यक्तिलाई मैले मलाई गुटको नेता मान्नुपर्छ भनेर भोट मागेको छु ? विधि, विधान, पद्धति, प्रणाली मिचिएको कुरा उठाउनैपर्ने भएर उठाइयो होला ।’

‘समस्या जे हो त्यो चाहिँ भन्नैपर्छ’, शर्माले भने, ‘चुप लागियो भने सुधार हुँदैन भन्ने मान्यताले कहिलेकाहीँ काम गर्‍यो होला ।’ पार्टीमा नयाँ नेताहरूलाई ठाउँ नछोडिने गरेको पनि शर्माले गुनासो गरेका छन् ।

प्रधानमन्त्री समेत रहेका माओवादीका अध्यक्ष दाहालको बचाउ गर्ने बेला उप–महासचिवद्वय पुन र शर्माले घुमाउरो भाषामा आलोचना गरेका छन् । पुन र शर्माले अध्यक्ष दाहालको बिकल्प खोज्नुपर्ने प्रस्ताव गरेर सबैलाई हैरान बनाइदिएका छन् ।

अध्यक्ष दाहालका धेरै कमीकमजोरी होलान् । पार्टी चलाउन र अध्यक्ष बनेर नेतृत्व लिन ठूलो चुनौति छ । परिवारका सदस्यलाई अवसर दिएकोमा दाहालको आलोचना हुनु स्वभाविक छ । अहिले नै सरकारको नेतृत्व गरिरहेका बेला दाहालको आलोचना गर्नु उचित होइन । दाहालको समर्थन गर्नुपर्ने बेला विश्वास गरेकै नेताहरूबाट भएको आक्रमणको समय आएपछि हिसाब किताब हुनेछ ।

Published : Saturday, 2023 August 5, 10:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया