कांग्रेसको संगठन विस्तार सुदृढीकरण अभियान आजदेखि सुरु
काठमाडौं । नेपाली कांग्रेसले संगठन विस्तार र सुदृढीकरण अभियान सुरु गर्दै छ ।
कांग्रेसले शनिबारदेखि अभियान सुरु गर्न लागेको जनाएको छ । पाँचदेखि सात लाखसम्म सदस्यता थप्ने र संगठन चलायमान बनाउनेलगायत कार्यक्रमसहित कांग्रेसले अभियान सुरु गर्न लागेको जनाएको छ ।
कांग्रेसले केन्द्रीय प्रतिनिधिलाई १८ बुँदे कार्यविधि दिएर जिल्ला पठाएको छ ।
सभापति शेरबहादुर देउवाले दिएको कार्यविधिमा जिल्ला पुग्नुअघि नै समन्वय गरेर कार्यक्रम तय गर्न र जिल्लामा पुगेर पार्टीका सबै निकायलाई परिचालन गरेर अभियान पूरा गर्न निर्देशन दिइएको छ ।
७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पुगिसकेका छन् । अभियान देशभर एकसाथ सुरु हुनेछ ।
पहिलो चरणमा २० देखि ३० साउन आन्तरिक र दोस्रो चरणमा १० देखि २४ भदौसम्म समुदायमा कांग्रेस राष्ट्रव्यापी अभियान सञ्चालन हुनेछ ।
सदस्यता वितरण नवीकरण र अभिलेख व्यवस्थापन, पूर्णता पाउन बाँकी पार्टी र भ्रातृ संस्थाका निकाय र समितिलाई पूर्णता दिने, सम्मेलनहरू सम्पन्न गराउने, पार्टी संगठनलाई परिचालन र चलायमान बनाउने, कांग्रेसको विचार र दृष्टिकोणको प्रचार गर्ने, जनप्रतिनिधि र पार्टीका निकायबीच समन्वयको सहजीकरण गर्ने, असन्तुष्ट नेता–कार्यकर्ता र बुद्धिजीवीसँग संवाद गरेर पार्टीको पक्षमा माहोल तयार गर्ने योजना छन् ।
कांग्रेसले प्रतिनिधिलाई वडा र टोलसम्मका कार्यक्रममा अनिवार्य सहभागिताको निर्देशन दिएको छ । पहिलो चरणको रिपोर्टिङ भदौ पहिलो साताभित्र गर्न कांग्रेसको अनिवार्य निर्देशन छ ।
कार्यविधिमा २१ र २२ असारमा जिल्ला सभापति बैठकको १४ बुँदे आन्तरिक प्रतिबद्धता र केन्द्रीय समिति बैठकको निर्णय कार्यान्वयनलगायत विषय उल्लेख छन् ।
अभियानका लागि केन्द्रबाट सबै जिल्ला र सात सय ५३ वटै पालिकामा प्रतिनिधि खटाइएकोे छ ।
कांग्रेसले २ देखि १० साउनसम्म बसेको केन्द्रीय समिति बैठकले पहिलो चरणमा २० देखि ३० साउन आन्तरिक र दोस्रो चरणमा १० देखि २४ भदौमा समुदायमा कांग्रेस राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया