लय शिवाकोटीका कारण झापा कारागारभित्र बबाल, कांग्रेसका थेबेले शक्ति दुरुपयोग गरे

काठमाडौं । कैदीबन्दी अर्थात चौकीदार लयप्रसाद शिवाकोटीलाई सरुवा गर्नुपर्नेमा मनोज लावतीलाई सरुवा गरिएको भन्दै झापा कारागारभित्र ढुंगामुडा र आगजनी भएको छ ।

कारागारभित्र निकै दादागिरी चलाउँदै आएका शिवाकोटीलाई अर्को जेलमा सरुवा गर्न कैदी बन्दीहरूको माग थियो । चौकीदार शिवाकोटीले कारागार व्यवस्थापन विभाग काठमाडौंमा नेपाली कांग्रेस झापाका नेता देवान थेबेको पावर लगाएर आफ्नो सरुवा रोक्न लगाएका थिए । आफ्नो सरुवा रोकेपछि शिवाकोटीले मनोज लावतीको सरुवा गराएका थिए । मनोज लावतीको सरुवा भएको विरोधमा अन्य कैदीबन्दीहरूले विरोध जनाएका हुन् ।

झापा जेलभित्र चौकीदार लय शिवाकोटी निकै बदमाश व्यक्तिका रुपमा परिचित छन् । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायमा कारबाहीको माग गरेर उजुरी पनि परेका छन् । शिवाकोटी सुध्रिने पक्षमा छैनन् ।

शुक्रबार दिउँसो असन्तुष्ट कैदीबन्दीले आगजनी र ढुङ्गामुढा गरेका हुन् । हुलदंगा एक घण्टापछि नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताएका छन् ।

मनोज लावतीलाई चन्द्रगढी कारागारबाट सुनसरीको झुम्का कारागारमा सरुवा गर्न लाग्दा असन्तुष्ट कैदीबन्दीको समूहले कारागारभित्र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताएका छन् ।

दिउँसो ३ बजेतिर कैदी लावतीलाई कारागार प्रशासनले झुम्का लैजान कारागारबाट बाहिर निकाल्नासाथ कैदीबन्दीले नारा जुलुस र ढुङ्गामुढा शुरु गरेका थिए ।

कैदीबन्दीले हुलदंगा मच्चाएपछि स्थानीय प्रशासनले कर्तव्य ज्यानका कैदी मनोज लावतीलाई कारागारभित्रै पठाएको छ । उनीभित्र गएपछि कैदीबन्दीले ढुङ्गामुढा बन्द गरेका हुन् ।

यसअघि रिपब्लिका दैनिकले प्रकाशित गरेको झापा कारागारभित्रको समाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झापा कारागारका कैदी आन्तरिक प्रशासनका चौकीदार लयप्रसाद शिवाकोटी, सहायक चौकीदार पासाङ शेर्पा ‘कुमार’, नाइके जीतबहादुर राईलगायतविरुद्ध उजुरी परेको छ ।

नाइके कैदी सुनिल बराल, नाइके रामकुमार लकन्द्री, नाइके श्याम श्रेष्ठ, नाइके डिकेन्द्र दुलाल र नाइके भीमबहादुर बुढाथोकीविरुद्ध उजुरी परेको हो । जेलभित्र सजाय भागीरहेका अपराधी र गुण्डाहरूको गतिविधिले सीमा नाघेको छ । सीमा नाघेपछि अख्तियारमा उजुरी परेको छ । अख्तियारले पनि आफ्नो कामलाई अगाडि नबढाएको गुनासो आएको छ ।

रिपब्लिका दैनिकलाई प्राप्त उजुरीमा कारागारभित्र चौकीदार र नाइकेहरूले कैदीबन्दीहरूमा चरम दमन गरेको निवेदनमा उल्लेख छ ।

झापा कारागारमा विभिन्न कसूरका मुद्दाहरूमा हाल १४ सय भन्दा धेरै संख्यामा कैदी बन्दीहरू छन् । ती कैदी बन्दीहरूलाई आवश्यक पर्ने खाद्य पदार्थ, पेय पदार्थ आदि विक्री वितरण गर्ने जिम्मा कारागारका आन्तरिक प्रशासन भित्र विभिन्न पललहरू रहेका छन् ।

ती पसलको रेखदेख गर्ने जिम्मा चौकीदारको हुन्छ । त्यसमध्ये सबैभन्दा ठूलो किराना पसल (क्यान्टिन) चौकीदारको छ । त्यसमा दाल, चामल, जिरा, मसला, नुन, साग, सब्जी लगायत चुरोट, खैनी, सुर्ती, बिंडी, गुट्खा, लगायतका विभिन्न सुर्तीजन्य सामानहरू पनि कारागारभित्र पाइन्छ ।

साग, सब्जी ल्याउनको लागि प्रत्येक दिन चौकीदार एकजना प्रहरीको जिम्मामा झापका चन्द्रगढी, विर्तामोड समेतमा आइ सब्जी लिएर जाने गरेको उजुरीमा उल्लेख छ ।

चौकीदारले सब्जी लिएर जाँदा सो सब्जीभित्र लागुऔषध गाँजा लगायत ब्राउन सुगर समेत लैजाने उजुरीमा उल्लेख छ । साग, सब्जी, सुर्ती, बिंडी, चुरोट, गुटखा, खैनी लगायतका कारागारभित्र पाउने जे जति पाउने सामानहरू बिक्री हुन्छन् । बाहिर बजारको दरभन्दा ५/७ गुणभन्दा बढी अत्यन्तै महँगोमा विक्री गर्ने गरेका छन् ।

बाहिरबाट अन्य कैदी बन्दीहरूको भेटघाटमा आउँदा ल्याएका पकाएका मासुमुनि राखेको चिउरा समेत भित्र प्रवेश गराउन दिइँदैन ।

बाहिरबाट कैदीहरूका आफन्तले भेटघाटमा आउँदा ल्याएका एक डल्ला साबुन, एउटा चाउचाउ, चिसो, लुगा कपडा समेतका कुनै पनि सरसामानहरू प्रवेश गराउन नाइकेहरूले दिँदैनन् भनेर अख्तियारमा दर्ता गराएको उजुरीमा उल्लेख छ ।

बाहिर घरबाट नगद पैसा मगाइ नाइकेको पसलमै महँगो दर रेटमा आवश्यक सामान किन्न बाध्य हुन्छन् । त्यहाँभित्र म बाहिरबाटै सामान मगाउँछुभन्दा नाइकेहरूले कुटपिट गर्दछन् ।

उजुरीमा भनिएको छ, ‘कुनै कुरा बोल्न पाइँदैन । बोले सरुवा फालिदिन्छन् । कारागारभित्र अत्यन्तै शोषण गरेर कैदी बन्दीहरूलाई राखिएको छ । चौकीदारलाई म निवेदकले किन यति महँगो सामान बिक्री गर्नु हुन्छ भनि सोध्दा मैले जिल्लाको एसपी, सीडीओ, जेलर, कारागारका सुरक्षा इञ्चार्जलगायत सबैलाई महिनावारी भागबण्डा पुर्‍याउनुपर्छ भनि भन्ने गरेको र कारागारभित्र कैदीबन्दीहरूले खाना खाने २१ वटा मेस भएको, प्रत्येक मेस नाइकेहरूको जिम्मामा रहेको र प्रत्येक मेसमा ६५/७० तथा ७०/७५ जना समेत खाना खाने कैदी बन्दीहरू रहेका छन् ।’

‘एउटा मेसमा १ किलो दालमा नुन र भातको माड हाली दालको सट्टा खुवाउने गरेको, सब्जी अत्यन्तै थोरै, तेल, बेसार नहाली अचार जति दिने गरेको’, उजुरीमा भनिएको छ, ‘दाल, भात, तरकारीको बारेमा वा कारागारभित्र भएको महँगीको बारेमा कुनै कैदी बन्दीहरूले बोलेमा कारागारभित्र रहेको ५ नं. वार्डमा लगी निर्घात रुपमा कुटपिट गर्ने गरेको र मिति २०७९ सालको दशैँमा सप्तमीको दिन बेलुका ८ बजेको समयबाट प्रत्येक रात कारागारभित्रका कैदी बन्दीहरू सुत्ने कोठामा प्रकृति हेरी ठूलो कोठामा ५/६ ठाउँ र सानो कोठामा २/३ ठाउँ गरी १३ वटा कोठामा जम्मा ९५ ठाउँमा विभिन्न प्रकारका फलास लगाउतका तास पूर्णिमाको भोलिपल्टसम्म खेलाएको र तिहार समेतमा काग तिहारको दिनदेखि भाइटीकाको भोलिपल्टसम्म तास खेलाएको र उक्त खेल खेलाउने जिम्मा चौकीदारले प्रत्येक नाइकेलाई दिएको ।’

‘नाइकेले तास खेलाइ एक ठाउँबाट १ लाख ९६ हजारसम्म उठाएको । देख्ने स्वयम् म निवेदक प्रत्यक्षदर्शी हुँ’, अख्तियारमा दर्ता भएको उजुरीमा भनिएको छ, ‘कैदी बन्दीहरूलाई आवश्यक पर्ने सामानहरू चौकीदारको पसलमा किन्न जाँदा यो सामान महँगो भयो भनि भन्न समेत पाइँदैन । बोलेमा नाइके जीतबहादुर राई र सुनिल बरालले कुटपिट गर्ने गरेको । गाँजा बेच्ने जिम्मा सुनिल बराललाई दिएको । प्रत्येक एक खिल्ली गाँजालाई रु. १५ सय लिने गरेको । लागुऔषध ब्राउन सुगर बेच्ने जिम्मा नाइके जीतबहादुर राईलाई दिइएको । एक खिल्लीको रु. २ हजार ५ सयसम्म लिने गरेको । सेवनका लागि कारागारभित्रको पश्चिमउत्तरको ट्वाइलेटमा खाने ठाउँ तोकेको र उक्त लागुऔषध दिनको ३ बजेबाट रातिभरि सेवन गर्ने गरेको’, उजुरीमा उल्लेख छ ।

चौकीदार लयप्रसाद शिवाकोटीले २४सैँ घण्टा ९८१७९९९५८५ नम्बरको मोबाइल साथमा राख्ने गरेको उजुरीमा उल्लेख छ । उनले सोही मोबाइलबाट फेसबुक चलाउने र तस्वीर राख्ने गरेका छन् । कैदी समिर बस्नेतलाई ०७९ सालको दशैँमा पाइन्ट साटेको भन्दै कुटपिट भएको थियो । समिर बस्नेतकी आमा शान्ता बस्नेतलाई विभिन्न धम्की दिएर शान्ता बस्नेतको मोबाइल लयप्रसाद शिवाकोटीले कब्जा गरेर राखेको उजुरीमा उल्लेख छ । लयप्रसादले अहिले पनि जेलभित्र माेबाइल बाेकेर बस्छन् । शान्तालाई लयप्रसादले महिला हिंसाजन्य कार्य गरेको आरोप उजुरीमा उल्लेख छ । (लयप्रसादले शान्तालाई गरेको यौनजन्य दुर्व्यवहारको कुरा लेखिएको छैन ।)

नाइके र चौकीदारहरूको ज्यादती तथा एसपी, सीडीओ, कारागारको इञ्चार्ज लगायतलाई छानविन गरेर हदैसम्मको कारबाही गर्न माग उजुरीमा माग गरिएको छ ।

अख्तियारमा दर्ता भएको उजुरीको बोधार्थ गृह मन्त्री, गृह सचिव, कारागार व्यवस्था विभाग, महान्यायाधिवक्ताको कार्यालय र मानव अधिकार आयोगलाई पनि दिइएको छ ।

Published : Friday, 2023 August 4, 10:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया