डा.आरजु राणाविरुद्ध निच तरिकाले चरित्र हत्या गर्नेलाई कारबाही गर्न तरुण दलको माग

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाकी सांसद डा.आरजु राणाविरुद्ध सुवास बोहरा नाममा सञ्चालित टिकटक एकाउन्टबाट गालीबेइज्जती र आपत्ति जनतक सामग्री राखेको भन्दै नेपाल तरुण दलले घोर भर्त्सना गरेको छ ।

शुक्रबार तरुण दलका अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति जारी गरेर नेतृ डा.राणाविरुद्ध सामाजिक सञ्जालमा झुठा, अनर्गल र भ्रामक पोस्टहरू गरिएको भन्दै सुवास बोहरा भन्ने टिकटक आईडीलाई कारबाही गर्न माग गरेका छन् ।

‘राजनीतिक पूर्वाग्रही राखी उक्त कार्यमा संलग्न घृणित र अवान्छित मनोवृत्तिका व्यक्ति वा समूहर्लाइ ३ दिनभित्र कानूनको दायरामा ल्याउन नेपाल तरुण दल केन्द्रीय समिति नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित प्रहरी प्रशासनसँग जोडदार माग गर्दछ’, अध्यक्ष गुरुङले भनेका छन् ।

‘नेपाल तरुण दलको आग्रहलाई बेवास्ता गरी कानून विपरित कार्यमा संलग्न उल्लेखित पक्षलाई कारबाही गर्न आलटाल गरेमा त्यस्ता गतिविधिको विरुद्ध तरुण दल आफै प्रतिकारमा उत्रन बाध्य हुनेछ’, विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष गुरुङले भनेका छन्, ‘नेपाल तरुण दलको धैर्यताको बाँध नटुटोस, यदि तरुण दलले अन्यायका विरुद्ध आफै प्रतिकारमा उत्रदा हुन सक्ने कुनै पनि अकल्पनीय परिस्थितिको जिम्मेवार सरकार र सम्बन्धित पक्ष आफै हुनुपर्नेछ ।’

तरुण दलका अध्यक्ष गुरुङले नेतृ डा.राणाको गरिमा र इज्जतमा गम्भीर आँच पुग्ने खालको प्रकाशित सामग्रीप्रति आपत्ति प्रकट गरेका छन् ।

कांग्रेस नेतृ डा.राणाविरुद्ध पछिल्लो समय निकै गालइबेइज्जत गर्न थालेका छन् । सुनियोजित रुपमा एउटा गिरोहले कांग्रेस नेतृ डा.राणाको गालीबेइज्जत गरेर आफ्नो स्वार्थपूर्ति गर्न खोजिरहेको छ । अपराध गर्ने त्यस्तो समूहलाई सरोकारवाल निकायले कारबाही गर्नुपर्ने माग तरुण दलको छ ।

Published : Friday, 2023 August 4, 1:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया