सुन तस्करी काण्डबारे शेखर कोइरालाको नयाँ खुलासा, भीभीआईपीहरूलाई तनाब
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले भ्रष्टाचारले देशलाई गाँजेको बताएका छन् ।
बिहीबार काठमाडौंमा नेपाल प्रेस युनियन काठमाडौं शाखाको पदस्थापना कार्यक्रममा कोइरालाले भ्रष्टाचारलाई अर्को दण्डहीनता भनेका छन् । उनले भने, ‘मान्छे मारिन्छन्, त्यसलाई राजनीतिक लेप लगाउने गरिन्छ ।’
‘जिल्ला, उच्च अदालत र सर्वोच्च अदालतले गरेका निर्णयमा पनि मानिस छुटिराखेका हुन्छन्’, उनले भने, ‘यी कुराहरूलाई हामीले ठिक राख्न सकेनौं भने देश अराजकतातिर जान्छ र गइराखेको आभास नेपालीहरूले गरिरहेका छन् ।’
‘एउटा कुनै काण्ड आउँछ, त्यसलाई अघि बढाउँदा बढाउँदै अर्को आउँछ र पहिलेको साइड लाग्छ’, कोइरालाले भने, ‘अहिले हेर्नुस् भुटानी शरणार्थीबाट सुरू भयो, अघि बढ्दै थियो, साइडलाइन लागेको छ ।’
‘शीतल निवास जग्गा प्रकरण । त्यो पनि अघि बढ्दै गयो, ठ्याक्क रोकिएको छ’, उनले भने, ‘किन रोकिन्छ भने माथि कोही न कोही मानिस परिरहेको छ ।’
‘मन्त्रिपरिषद लैजान टिप्पणी उठाएका भरमा कर्मचारी जेल गएका छन् । एक सचिव (कृष्णबहादुर राउत) भर्खर रिहा हुनुभएको छ । जसले मन्त्रिपरिषदबाट निर्णय गर्यो उनीहरूलाई छानबिनले छोएको छैन’, नेता कोइरालाले भनेका छन् ।
कोइरालाले भने, ‘यसपछि सुन काण्ड आयो । यो पनि सामसुम हुन्छ । किनभने माथिल्लो कोही न कोही संलग्न हुन्छ । सुन काण्डमा नेपालमा मानिसको संलग्नता ठूलो भने छैन, नेपालीहरू बिचौलिया को पनि बिचौलिया भए ।’
‘भारतमा १३ सय टन सुन खपत हुन्छ । भारतले ८ सयदेखि ९ सय टन मात्रै आयात गर्ने रहेछ । चार/पाँच सय टन सुन त नेपाल, बर्मा हुँदै मणिपुर वा अन्य कतैबाट भारत पुग्दो होला’, उनले भने ।
‘सुन प्रकरणमा नेपालका नेतृत्वहरू कहीँ न कहीँ संलग्न भइरहेका हुन्छन् । यो अहिलेको घटना मात्र होइन’, उनले भने, ‘नेपालबाट सुन गइराखेको होला नि ! अहिले बरामद गरेको १०० किलो हो । यसबीचमा पनि कति गइसक्यो होला, सोचौं हामी ।’
उनले भने, ‘सुन काण्डमा नेपालीहरू को–को संलग्न छन् त्यो महत्वपूर्णभन्दा पनि सुनले गर्दा नेपालको सुरक्षा नाजुक छ भन्ने देखाइरहेको छ । यो कुरा दुनियाँले हेरिराखेका हुन्छन् ।’
‘हेर्नुहोला, यो काण्ड चल्दाचल्दै फेरि अर्को काण्ड निस्कन्छ । कुनै पनि प्रकरणलाई हामीले तार्किक निष्कर्षमा पुर्याएका छैनौं, किन पुग्दैन भन्दा माथिका मानिस संलग्न भएर हो, अरू म कुनै कारण देख्दिनँ’, कांग्रेस नेता कोइरालाले भने ।
‘रोचक त के छभने– सुन काण्ड सीआइबीले हेरिराखेको छैन, राजश्व अनुसन्धान मात्रै संलग्न भइरहेको छ । उसले कति गर्न सक्छ, सक्दैन’, उनले भने ।
‘पहिले राजश्व अनुसन्धान विभाग अर्थ मन्त्रालय मातहत हुन्थ्यो । केपी ओली प्रधानमन्त्री भएका बेला राजश्व अनुसन्धान प्रधानमन्त्री कार्यालय मातहत ल्याउनुभयो’, उनले भने ।
‘शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा हामीले पटक–पटक राजश्व अनुसन्धान अर्थमै फर्काउनुपर्छ भनेर बोलेका हौं’, उनले भने, ‘देउवाले पनि यो विभाग प्रधानमन्त्री कार्यालय मातहतमै रहन दिनुभयो । हामीले त यो गलत हुन्छ भनेका थियौं ।’
‘अब अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि यो विभाग अर्थमा फर्काउनुभएन । तपाईंहरू (पत्रकारहरू) यसबारे गहिरोसँग सोच्नुस्, के हुँदैछ भन्ने कुरा’, उनले भने, ‘त्यतिमात्र होइन, राजश्व अनुसन्धानको महानिर्देशक सुन काण्ड हुनुभन्दा एक साताअघि प्रधानमन्त्रीको स्वकीय सचिव हुनुहुन्थ्यो ।’
उनले भने, ‘अर्कोतिर रोचक के छ भने– प्रमुख प्रतिपक्षी नेकपा एमाले संसद अबरूद्ध गरेर बसिराखेको छ । संसदमा जति बोल्नु नि ! यही सुनकाण्डकै कुरा होला । आफ्ना कुरा राख्नु, नयाँ कुरा छ भने बाहिर ल्याउनु । सत्तापक्षका साथीहरूले पनि बोल्छन् पक्ष विपक्षबाट त संसदमा कुराहरू आइहाल्छन् ।’
‘संसदलाई अबरूद्ध गर्यो भने राष्ट्रका लागि कति घाटा हुन्छ ? यो कुरा विपक्षी दलले बुझ्न जरूरी छ । नेपाली कांग्रेस अहिले सत्तापक्षमा छ तर यो कुरा हामीले पनि बुझ्नुपर्छ’, उनले भने ।
‘एउटा कुरा मलाई बडो रमाइलो लागेको छ– एउटा प्रकरण आउँछ, अलिकति अघि बढ्दै जान्छ । अनि शीर्ष तीन जना नेता (पुष्पकमल दाहाल, शेरबहादुर देउवा र केपी शर्मा ओली) एक ठाउँमा बसिहाल्नुहुन्छ’, उनले भने, ‘के छलफल हुन्छ थाहा छैन मलाई, हिजोअस्ती पनि उहाँहरूबीच छलफल भएको थियो ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया