काण्डै काण्ड लागेका ल्यारकाललाई माओवादीले लुम्बिनीको उपाध्यक्ष बनाउने, दौडमा को-को छन् ?
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा काण्डै काण्ड गरेका विवादित व्यक्ति ल्यारकाल लामालाई सरकारले नियुक्त गर्ने गृहकार्य गरेको छ ।
सरकारले मंगलबारको मन्त्रिपरिषद बैठकबाट लामालाई उपाध्यक्ष बनाउने तयारी गरेको स्रोतले जनाएको छ । लामा माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन् ।
लामाले लुम्बिनी विकास कोषको उपाध्यक्ष बन्न ठूलो आर्थिक चलखेल गरेको आरोप छ ।
उपाध्यक्षमा लामालाई नियुक्तिको प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।
कोषको उपाध्यक्षमा डा.पेमा लामा, आनी छोइङ डोल्मा, सिद्धार्थ महर्जन, भिक्षु कुन्डय, सुमार्ग भिक्षु लगायतको नाम चर्चामा छ ।
जाजरकोटका भिक्षु सागर धम्म पनि उपाध्यक्ष बन्न माहोल बनाइरहेका छन् । सागरलाई माओवादी नेता तथा जलस्रोतमन्त्री शक्ति बस्नेत मार्फत् गतिविधि भइरहेका छन् ।
उपाध्यक्षकै लागि चर्चामा आएको अर्को नाम कौडन्य भन्ते हुन् । कौडन्य भन्तेलाई चीन निकट भनेर आरोप लागेको छ । कौडन्यलाई उपाध्यक्ष बनाउन चीन निकटका मानिसहरू सक्रिय रुपमा लागेका छन् । सुमंगलो भन्तेले पनि उपाध्यक्ष पद तोकेका छन् ।
अवधेशकुमार त्रिपाठीले पनि लुम्बिनीको उपाध्यक्षमा पुन: दोहोरिन इच्छा जनाएका छन् । त्रिपाठीले निकै चलखेल गरेको चर्चा छ ।
ल्यारकाल लामालाई नेपाली कांग्रेसका नेता तथा तत्कालीन स्थानीय विकासमन्त्री खुमबहादुर खड्काले गुम्बा विकास समितिको अध्यक्ष बनाएका थिए । त्यसपछि कांग्रेस छाडेर ल्यारकाल लामा एमालेबाट राजनीति थालेका थिए । झलनाथ खनाल प्रधानमन्त्री भएका बेला ल्यारकाल लामा अर्थ राज्यमन्त्री बनेका थिए ।
दोस्रो संविधानसभाको चुनावमा उनी माओवादीमा प्रवेश गरेका थिए । माओवादीले उनलाई समानुपातिक सांसद बनाएका थियो ।
ल्यारकाल लामामाथि नक्कली नागरिकता र राहदानी बनाएको आरोप लागेको थियो । २०७३ वैशाखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा समेत दायर गरेको थियो । १० करोड रुपियाँको मागदावी लिएर दायर गरेको मुद्दामा लामा एक करोड रुपियाँ धरौटी तिरेर छुटेका थिए ।
दोहोरो नागरिकता र राहदानी विवादमा मुछिएका लामा २०५८ साल पुस १९ गते गुम्बा विकास समितिको अध्यक्षमा नियुक्त भएका थिए । लामा बैंकको लकरमा १४ राउण्ड गोली भेटिएपछि २०७२ फागुन ३० गते पक्राउ परेका थिए ।
गोली काण्डको आरोपमा ९ दिन र वैदेशिक रोजगारको मुद्दामा थप दुई दिन गरेर ११ दिन प्रहरी हिरासतमा बिताएका लामा माओवादीकै दबाबमा छुटेका थिए । गोलीकाण्डमा ६६ हजार धरौटी तिरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट छुटेका थिए ।
वैदेशिक रोजगारको मुद्दामा ३० लाख धरौटी माग गरेर तारेखमा छाडिदिएको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया