सुन तस्करी काण्डमा दावा पक्राउ परेपछि माओवादीभित्र खैलाबैला, छोराहरू डराए
काठमाडौं । करीव सय किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा बाहिर पक्राउ भएपछि त्योसँग जोडिएका केही मानिसहरू पक्राउ परिरहेका छन् ।
सुन प्रकरणसँग जोडिएका कथाहरू पनि बाहिर आउन थालेका छन् । हाइलेबलका राजनीतिज्ञको नाम पनि धमाधम मुछिन थालेको छ । पछिल्लो समय पूर्वउप–राष्ट्रपति नन्दबहादुर पुन, पूर्वअर्थमन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती, पूर्व सभामुख कृष्णबहादुर महरालगातको नाम चर्चामा छन् । उनीहरूका छोराहरूको नाम पनि चर्चामा छन् । शनिबार ठमेलबाट पक्राउ परेका व्यक्तिको माओवादीका ठूला नेताहरूसँग कनेक्सन देखिएको छ । ती व्यक्तिले नेपाल प्रहरीका तत्कालीन आईजीपी सर्वेन्द्र खनालसँग पनि राम्रो सम्बन्ध बनाएको खुलासा भएको छ ।
विशेष सूचनाका आधारमा साउन २ गते राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन बरामद गरेको थियो । ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरेर ल्याइएको एक सय ६० टुक्रा सुन गोदाममा लैजाने क्रममा विभाग टोलीले बरामद गरेको थियो ।
भन्सार प्रक्रिया पूरा गरेर निस्किँदै गर्दा टोलीले चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राईलाई पक्राउ गरेको थियो । १३ दिनमा विभागले १८ जनालाई पक्राउ गरिसकेको छ । विभिन्न गोदाममा छापा पनि हानिसकेको छ । तस्करीका प्रमाणहरू लोप हुने र आशंका गरिएकाहरू फरार हुने क्रम बढेको छ ।
सुन पक्राउ परेको पाँचौँ दिन प्रहरी उपरीक्षक कृष्ण पंगेनीको नेतृत्वमा प्रहरीले केही जनशक्ति पठाएको छ । केही प्रहरी अहिले विभागको अनुसन्धानमा खटिएका छन् ।
शनिबार विभागको अनुसन्धान टोलीले काठमाडौंको टोखामा सुनलाई पगालेर रिसाइज गर्ने कारखानामा छापा हानेको छ । कारखानामा सुन फेला परेको छैन ।
साउन ११ गते टोलीले लाजिम्पाटको अर्को एक घरमा छापा हानेको थियो । पक्राउ परेका चिनियाँ नागरिक जिक्वान लिनले भाडामा लिएको घरको फ्ल्याटबाट पनि केही फेला परेन । तस्करी काण्ड सार्वजनिक भएको लामो समयपछि छापा हानेकाले सुन उठाइसकेको आशंका छ ।
साउन १० गते टोलीले सोह्रखुट्टेको एक घरमा छापा हानेको थियो । त्यहाँ भने सुन गाल्ने मेसिन नै भेटियो । ६६ थान सुन निकालिएको कार्टुन र केही सुटकेससमेत बरामद भयो । त्यसअघि ३ साउन मध्यरात विभागको टोलीले जिक्वान लिनको बालुवाटार गोदाममा छापा हानेको थियो । त्यहाँबाट एयरपोर्टमा बरामद गरिएजस्तै वस्तु भेटियो । जिक्वानले एयरपोर्टबाट सुन ल्याएर त्यही गोदाममा राख्ने र तत्तत् ठाउँमा तस्करी गर्ने गरेकोमा विभाग पहिलोपटक प्रस्ट भएको थियो ।
शनिबार राति विभागले तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङलाई ठमेलको होटल भियानामा छापा हानेर पक्राउ गरेको छ । उच्च राजनीतिक तहसँग पनि छिरिङको संलग्नता रहेको स्रोतले जनाएको छ । छिरिङ विगत पाँच वर्षदेखि नेपालमा बस्दै आएका छन् । विगतमा अवैध कल सेन्टर चलाउने अपराधमा समेत उनको संलग्नता देखिए पनि उनी उम्किएका व्यक्ति हुन् ।
साउन १० गते विभागले सुन व्यवस्थापनका लागि गोदाम खोजिदिने काम गरेको आरोपित सुरेन्द्र तामाङलाई पक्राउ गरेको थियो । ७ साउनमा विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल, एक्सरेमा खटिएका सरोज श्रेष्ठ र भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बालाई पक्राउ गरेको थियो ।
साउन ४ गते चिनियाँ नागरिक जिक्वान लिन र सुनसहितको सामानको भन्सार छुटाउने कार्गो सञ्चालकहरू कृष्णकुमार श्रेष्ठ, पुष्कर भट्ट र राजन श्रेष्ठ पक्राउ परेका थिए ।
साउन ३ गते रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, हर्कराज राई, तिब्बती मूलका भारतीय नागरिक थाप्तेन छिरिङ पक्राउ परेका थिए । भन्सार एजेन्ट र ट्याक्सीचालक अशोक लामा सुनसँगै पक्राउ परेका थिए ।
सुन प्रकरणका प्रमुख व्यक्ति र योजनाकारसमेतका रूपमा आशंका गरिएका भारतीय नागरिक राकेश अडुकिया नेपालबाट भागिसकेका छन् । नेपालमा सेयर, चाँदी, गाडीलगायतमा नामुद व्यापारी अडुकिया पक्राउ पर्ने डरले भागिसकेको स्रोतको भनाइ छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया