रास्वपाभित्र बबाल भएको हो ? के भन्छन् सभापति लामिछाने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र बेथिति निम्त्याउन खोज्ने व्यक्तिहरूलाई आफूले राम्ररी चिनेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले बेथितिविरूद्ध लड्छु भनेर रास्वपामा लाग्ने तर, पार्टीभित्रै बेथिति निम्त्याउँन उद्यत व्यक्तिहरूलाई नेतृत्वले चिनेको बताए ।

त्यस्तो प्रवृत्ति भएका व्यक्तिहरूलाई पर पुगेर विदा गर्नुभन्दा आजै विदा गर्दा ठीक हुने सभापति लामिछानेले बताएका छन् ।
उनले भने, ‘स्वार्थ लिएर जोडिनुभएको भए त्यस्ता पार्टीहरू बजारमा छ्यापछ्यापती छन् ।’

‘तिनको ढोकासम्म म आफै पुर्‍याइदिउँला, रास्वपामा ठाउँ छैन’, सभापति लामिछानेले भनेका छन् ।

लामिछानेले रास्वपामा जोडिनु उम्मेदवार बनिहाल्नु नभएको बताएका छन् । रास्वपाबाट सांसद, मेयर, उपमेयर, वडाध्यक्षको उम्मेदवार हुँ भन्दै केही मानिसहरू हिँडेको आफ्नो जानकारीमा आएको बताउँदै लामिछानेले पार्टीमा प्रवेश गराउनु उम्मेदवारको कन्फरमेसन नभएको बताए ।

त्यसैका लागि पार्टीमा जोडिनेहरूको यात्रा लामो समय नजाने पनि उनले बताएका छन् ।

उनले भने, ‘किनकी यो पार्टी कुनै साधारण परिस्थितिमा जन्मिएको पार्टी होइन, यो पार्टी कसैलाई पोस्न पाल्न बनेको होइन । नेपाली जनताले खोजेको नेतृत्व खोज्नका लागि हो ।’

रास्वपामा राम्रा मान्छे नजोडिए मिसन ०८४ सफल नहुने उनले बताएका छन् । वडादेखि केन्द्रसम्म सही उम्मेदवार उठाइएको अवस्थामा देशको कुनैपनि शक्तिले रास्वपालाई हराउन नसक्ने लामिछानेको दाबी छ ।

उम्मेदवार र पदाधिकारी छनोट गर्दा लिगलिगकोटमा दौडिएर राजा भएजस्तै दौडिएर पहिले जो आयो उ राजा हुने भनेजस्तो नहुने उनले बताएका छन् ।

‘त्यस्तो भयो भने, सदस्यता किन्न सक्ने पैसाको बिटो बोकेर हिँडेको मान्छे लिएर पार्टी बनाउन लाग्यौं भने भएको २१ सिट पनि जोगाउन सकिँदैन’, उनले भनेका छन् ।

‘हामी ०८४ सम्म आफू बन्ने अभियानमा छैनौं पार्टीलाई बनाउने हो’, सभापति लामिछानेले भनेका छन् ।

Published : Sunday, 2023 July 30, 9:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया