गृहमन्त्रीको कर्तुत बाहिरियो, १ सय किलो सुनका मालिक कुख्यात व्यापारी मलहोत्रा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको झण्डै एक सय किलो सुन कुख्यात सुन तस्करीको आरोप खेप्दै आएका विवादित व्यापारी दीपक मलहोत्रा रहेको खुलेको छ ।

मोटरसाइकल/स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालयअगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद गरेको छ ।

मलहोत्राले विमानस्थलमा केही ठाउँको ठेक्का पाएका छन् । पछिल्लो समय टाँटपल्टिने अवस्थामा रहेका मलहोत्राको कर्तुतलाई नयाँ पत्रिका दैनिकले बाहिर ल्याइदिएको छ । मलहोत्राको धन्दा र सञ्जाल निकै ठूलो छ ।

प्रारम्भिक अनुसन्धानमा सुन विवादित व्यवसायी मलहोत्राको भएको देखिएको अनुसन्धानमा खटिएका अधिकृतहरूको भनाइ उदृत गर्दै नयाँ पत्रिका दैनिकले समाचारमा उल्लेख गरेको छ । बरामद भएको सुनको मूल्य करिब एक अर्बभन्दा बढी रहेको अनुमान गरिएको छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले ठूलो मुटु बनाएर मलहोत्राको सुन बरामद गरेका छन् । विमानस्थलबाट सेटिङमा सुन बाहिरिए सूचना पाएपछि ढुंगानाले पछ्याएका थिए ।

असार १२ गते विभागको महानिर्देशक बनेका ढुंगानाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भइरहेको सूचना पाइसकेका थिए ।

महानिर्देशक ढुंगानाले मंगलबार विमानस्थलबाट ठूलो परिमाणमा कार्गाेमार्फत सुन आउँदै गरेको सूचना पाएपछि कानठाडो बनाएका थिए । आफ्ना सुराकीहरू परिचालन गरेको स्रोतको भनाइ छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न फण्डा गरेर उत्पात मच्चाइरहेका बेला ठूलो संख्यामा रहेको सुरक्षा निकायको आँखा छलेर करीव १ सय किलो सुन विमानस्थलबाट बाहिरिएपछि श्रेष्ठको हर्कत र चर्तिकला बाहिर आएको छ । गृहमन्त्री श्रेष्ठले विमानस्थलबाट हात्ती छिराएको भनेर सामाजिक सञ्जालमा पूरै चर्चा छ ।

पटक–पटक विमानस्थलबाट ठूलो परिमाणमा सुन तस्करी हुने गरेका घटना सार्वजनिक हुँदै आएका छन् ।

करीव १ सय किलो सुन विमानस्थलबाट बाहिर ल्याएको गिरोहले पछिल्लो दुई महिनामा कम्तीमा २५ पटक सुन ल्याएको छ । सुन काण्डमा विभागले रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सीचालकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

दिलीपको बयानका आधारमा रामकुमार पक्राउ परेको नयाँ पत्रिका दैनिकले जनाएको छ । रामकुमार दिलीपका मामा हुन् ।
विमानस्थल भन्सार कार्यालयअगाडिबाट बा.२च २३२४ नम्बरको ट्याक्सीमा राखेर सुन लैजान लागिएको थियो । यो तस्करीमा ठूलै व्यापारीको संलग्नताको आशंका गरिएको छ ।

Published : Thursday, 2023 July 20, 7:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया