गालीगलौजको राजनीति त्याग गर्न २ महामन्त्रीलाई लक्ष्मीको चेतावनी, अन्यथा मूल्य चुकाउनुपर्ने

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले सभापति शेरबहादुर देउवाविरुद्ध भइरहेका व्यक्तिगत लाञ्छना र गालीगलौजको खुलेर आलोचना गरेकी छिन् ।

बुधबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै खतिवडाले सभापति देउवाको रचनात्मक आलोचना गर्न पाइने भए पनि व्यक्तिगत गालीगलौज गरेर कांग्रेस पार्टीलाई कमजोर बनाउने अधिकार कुनै पनि पदाधिकारी वा नेतालाई नरहेको बताइन् । उनले महामन्त्रीसहितका केही नेताहरूले आफूलाई सुधार नगरेमा त्यसको मूल्य चुकाउनुपर्ने घुमाउरो भाषामा चेतावनी दिएकी छिन् ।

उनले सभापति देउवालाई मात्रै दोष थोपरेर पार्टी अघि बढ्न नसक्ने बताएकी छन् । केन्द्रीय सदस्य खतिवडाले पार्टीलाई अघि बढाउने जिम्मा महामन्त्रीहरूको भएको भन्दै मिलेर अघि बढ्न सुझाव दिएकी छिन् । उनले भनिन्, ‘कांग्रेस अहिले २१ औँ शताब्दीको कांग्रेस बन्ने अभियानमा छ । हाम्रा महामन्त्रीहरुले कांग्रेस नयाँ बनाउने सपना देखेका छन् ।

उनले भनिन्, ‘महामन्त्रीहरूले दायरा फराकिलो बनाउन सकेनन् भने हामी विकल्प खोज्न तयार छौँ ।’ सभापति देउवालाई मात्रै दोष देखाएर नेतृत्व उम्किन नसक्ने खतिवडाले चेतावनी दिएकी छिन् । ‘सभापति संस्था हो । हिजो अरु कोही हुनु हुन्थ्यो आज देउवा हुनु हुन्छ’, खतिवडाले भनेकी छिन्, ‘महामन्त्री र अरु नेताहरू सभापति खराब र अनिर्णयको बन्दी तर, हामी असल भन्दै हुनुहुन्छ ।’

उनले भनिन्, ‘गठबन्धनको निर्णय केन्द्रीय समितिबाट गर्ने अनि दोष सभापतिलाई लगाएर उम्किन खोज्ने ? राडीमा काम्लो नमुछ्नु मुछेपछि नघिनाउनु । पार्टीलाई अझै बलियो गरी खडा गर्न महामन्त्री र सभापतिहरू उभिनुपर्छ ।’ नेतृ खतिवडाले भ्रष्टाचाररहित समाज बनाउने चिन्तामा आफूहरू रहेको बताएकी छिन् । ‘कानूनी राज्य र न्यायिक सर्वोच्चता मान्छौँ’, उनले भनिन्, ‘कांग्रेसको एउटा नेता थुनिँदा अरु नेताहरु धन्यवाद दिन गृहमन्त्रीकहाँ जानु हुन्छ । अरु कुनै नेताको नाम आउँदा भने चुपचाप बस्नु हुन्छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि नेता शेखर कोइराला र महामन्त्री गगन थापा निकटको समूहका केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलसहितको समूह गृहमन्त्री नाारायणकाजी श्रेष्ठलाई भेट्न पुगेको थियो । खतिवडाले महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वसँगै उभिनुपर्ने बताएकी छिन् । कांग्रेसलाई बलियो बनाउने उद्देश्यका साथ अघि बढे साथ दिन तयार रहेको उनको भनाइ छ ।

‘तपाईंहरूले दायरा फराकिलो बनाउनुभएन भने तपाईंहरू अरू कसैको विकल्प खोज्छौं भन्दै हिँड्नुभएको छ । तपाईंहरूको विकल्प पनि हामीले खोज्नुपर्ने अवस्था नआओस्’, उनले भनिन् ।

‘गठबन्धन गर्ने निर्णय केन्द्रीय समितिले गरेको थियो । परिणाम पाएपछि सभापतिलाई मात्रै दोष लगाउनु हाँस्यास्पद छ’, उनले भनिन् ।

‘कांग्रेसलाई बलियो बनाउन महामन्त्रीहरूले नबिर्सिनुहोला । सभापति र उप–सभापतिसँग तपाईंहरू उभिनुपर्छ । तपाईंहरूको हरेक गतिविधिको हामीले अवलोकन र मूल्यांकन गरिरहेका छौं’, उनले भनिन् ।

Published : Thursday, 2023 July 20, 12:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया