विमानस्थलबाट सय किलो सुन बाहिरियो, तस्करलाई गृहमन्त्री श्रेष्ठसहितको समूहको संरक्षण

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको छ ।

बुधबार साँझ राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय विभागबाहिर कार्गो निरीक्षण गर्ने क्रममा करीव एक सय किलो सुन फेला परेको उच्च स्रोतले जनाएको छ । विभागका कर्मचारीले १६० टुक्रा सुन फेला परेका छन् ।

गृह मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सम्हालेका छन् । श्रेष्ठ स्टन्ट मन्त्रीका रुपमा परिचित छन् । श्रेष्ठले विभिन्न स्टन्ट गरेर सर्वसाधारणको ध्यान अर्कैतिर तानेर सुन तस्करहरूलाई सहयोग गरेको त होइन् ? भन्ने प्रश्न एक सय किलो सुन बरामद भएको प्रकरणले प्रश्न उठाएको छ । श्रेष्ठले सुन काण्डलाई संरक्षण गरेको आरोप लागेको छ ।

काठमाडौं उपत्यकाको कमाण्ड एआईजी श्यामलाल ज्ञवालीले सम्हालेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक दीपशम्शेर जबराले कार्यबाहक प्रमुखका रुपमा सम्हालिरहेका छन् । विमानस्थलको सुरक्षामा विवादित छविका डीएसपी सूर्य सुवेदीहरू पनि छन् । सुरक्षाकर्मीको ठूलो फौज हुँदा पनि झण्डै एक सय किलो सुन विमानस्थलबाट सिनामंगलसम्म कसरी आइपुग्यो ? गृहमन्त्री श्रेष्ठले जवाफ दिनुपर्छ ।

त्यति मात्रै होइन । सुन तस्करीमा माओवादीका नेताहरूको नाम मुछिएको छ । माओवादीका नेता कृष्णबहादुर महरा र उनका छोरा तथा पूर्वउप–राष्ट्रपति नन्दबहादुर पुनका जेठा छोरालगायतको नाम पनि सुन तस्करीमा मुछिदै आएको छ । उनीहरूले हुम्लाबाट सुन तस्करी गर्ने गरेको विगतमा आरोप लागेको थियो । सुन तस्करीको कार्यमा तत्कालीन डीएसपी (हालका एसपी) वीरबहादुर वलीले साथ दिएको चर्चा पनि छ ।

ठूलो संख्यामा सुरक्षाकर्मी भएको विमानस्थलबाट हात्ती जत्रो सुन बाहिरिँदा पनि थाहा नपाउने आश्चर्यको कुरा हो । अपराध अनुसन्धानको जिम्मेवारी सम्हालेका एसएसपी मनोज केसीले के हेरेर बसेका छन् । सीआइबी प्रमुख किरण बज्राचार्यले पनि के हरेर बसेकी छिन् । प्रश्न उठेको छ ।

विभागले सुनको परिणाम कति भन्ने यकिन नभइसकेको बताएको छ । सामानसहित ८० देखि १०० किलोसम्म हुनसक्ने अनुमान गरिएको राजश्व अनुसन्धान विभागका प्रमुख नवराज ढुंगानाले बताएका छन् ।

सुन अहिलेसम्मकै फरक शैलीबाट राजस्व छलेर भित्र्याउन थालेको अवस्थामा विभागले सुराकीका आधारमा छापा मारेको छ ।
स्कुटरमा प्रयोग हुने ब्रेक सुमा राखेर सुन ल्याइएको छ । विमानस्थलमा भएको एक्सरे मेसिनले पनि सुन पत्ता पाउन नसक्ने गरी भित्र्याइएको छ ।

विभाग प्रमुख ढुंगानाले सुन हङकङबाट आएको क्याथे प्यासिफिक जहाजबाट बरामद भएको छ । बरामद भएको सुनबारे थप अनुसन्धान भइरहेको छ । सुनको परिमाण थाहा पाउन राष्ट्र बैंक पठाइएको छ ।

विमानस्थलबाट बरामद गरिएको ८० देखि १ सय किलो सुन मंगलबार नै हङकङबाट आएको थाहा भएको छ । क्याफे प्यासिफिको उडानबाट तस्करले भन्सारको सामान बनाएर सुन ल्याएको राजस्व अनुसन्धान विभागका महानिर्देशक ढुंगानाले बताएका छन् ।

भन्सारको गेट पास भैसकेको अवस्थामा राजश्वको टोलीले छापा मारेर सुन बरामद गर्न सफल भएको छ । सुन बरामद भएपनि सुन ल्याउनेहरू नभेटिएको महानिर्देशक ढुंगानाले बताए ।

सुन आएकोबारे त्रिभुवन विमानस्थल भन्सार कार्यालय र विमानस्थल सुरक्षा कार्यालय बेखबर छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर झण्डै एक क्वीन्टल सुन बाहिरिएको भेटिएको छ ।

सुन बुधबार भन्सार जाँच पास गरेर अपरान्ह २ बजे कटेको सूचना राजश्व अनुसन्धान विभागसम्म पुगेको थियो । त्यसपछि विभागले गरेको कारबाहीमा ठूलो परिमाणमा सुन बरामद भएको छ । हङकङबाट आएको सुन भारततर्फ तस्करी गरेर लैजान लागिएको आशंका गरिएको छ ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेल अहिले विदामा छन् । उनको अनुपस्थितिमा भन्सारको जिम्मेवारी नारद गौतमले सम्हालेका छन् ।

२०७४ सालमा चुडामणि उप्रेती ‘गोरे’ नेतृत्वको समूहले यूएईबाट ९ माघ २०७४ मा ल्याएको ३३ किलो सुन हराएको थियो । खोजीका क्रममा भरिया सनम शाक्य मारिएपछि शुरु भएको अनुसन्धानपछि गम्भीर मोड लिएको थियो । गोरेको समूहले चार वर्षमा झण्डै ३८ क्वीन्टल सुन तस्करी गरेको थियो ।

नेपाल प्रहरीले चलाएको सुनसम्बन्धी हरेक जसो अपरेशन विवादित बन्ने गरेको छ । २०७९ पुस ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जाँचका क्रममा एक जना सुडानी नागरिकको साथबाट १९ किलो सुन बरामद गरेको थियो । यो नै विमानस्थलस्थित भन्सारले समातेको सबैभन्दा ठूलो परिमाणको सुन थियो ।

फागुन ७ गतेदेखि तीन दिनसम्म भरातमा राजश्व अनुसन्धान विभागले चलाएको अपरेशन ‘गोल्डेन डाउन’मा पनि नेपाल हुँदै गएको १०१ किलो सुन बरामद भएको थियो । त्यसले नेपालबाट नयाँ शैलीबाट सुन तस्करी हुन थालेको संकेत दिएको थियो ।

Published : Thursday, 2023 July 20, 12:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया