काठमाडौंमा शंकास्पद वस्तु राख्ने मान्छे पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय काठमाडौंले शंकास्पद वस्तु राखेको अभियोगमा रौतहटका खजाञ्ची पासवानलाई पक्राउ गरेको छ ।

बुधबार काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु राखेको आरोपमा पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) दानबहादुर कार्कीले बताएका छन् ।

बुधबार बिहान सिनामंगलको खोटाङ हलेसी ज्वेलर्स अगाडि शंकास्पद वस्तु फेला परेको थियो । बिहान साढे ६ बजेतिर आएर शंकास्पद वस्तु हालेको सीसीटीभी फुटेजमा देखिएको थियो ।

सीसीटीभी फुटेजबाट मनिटर गर्ने क्रममा खजाञ्ची पासवान फेला परेको एसएसपी कार्कीले बताएका छन् ।

घटनापछि त्यहाँ खटिएको सशस्त्र प्रहरीको पछाडि बसेर लुकेर पासवानले हेरिरहेका थिए । मनिटरमा देखिएको हुलिया अनुसार मिलेकोले पासवानलाई प्रहरीले आशंका लागेर अनुसन्धानका लागि पक्राउ गरेको छ ।

सीसीटीभीमा दुई जना युवाहरू आएर शंकास्पद वस्तु राखेर गएको देखिएको थियो ।

ज्वेलर्स अगाडि फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको छ । बिस्फोटक पदार्थ नरहेको सेनाले जनाएको छ ।

ज्वेलर्स अगाडिबाट प्रहरीले एउटा पर्चा पनि बरामद गरेको छ । जसमा नेपाल उत्थान क्रान्तिकारी पार्टी उल्लेख छ ।

शंकास्पद वस्तु फेला परेको सिनामंगलका घर धनीले पाँच लाख रुपियाँ माग्दै आफूलाई धम्की आएको बताएका छन् । घर धनी युगल किशोर यादवले आफूलाई मंगलबारदेखि एक व्यक्तिले फोन गरेर पाँच लाख रुपियाँ मागेको बताएका हुन् ।

आफूले दिन नमानेपछि आफ्नो घर अगाडि बुधबार बिहान शंकास्पद वस्तु फेला परेको उनले बताएका छन् ।

सिनामंगलको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि कालो टेपले बेरेको र तार बाहिर निस्किएको शंकास्पद वस्तु फेला परेको थियो ।

ती व्यक्तिलाई प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

Published : Wednesday, 2023 July 19, 2:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया