प्रहरीभित्र ठूलो चलखेल, केही लेखापालहरू खुसी, बाँकी बेखुसी
काठमाडौैैं । नेपाल प्रहरीका लेखापालहरूको पदावधि घटाएर ६ वर्ष पुर्याइएको छ । लेखापालहरूको पदावधि गत वर्ष ८ वर्ष बनाइएको थियो ।
गृह मन्त्रालयको निर्देशनमा ८ वर्षबाट घटाएर ६ वर्ष बनाइएको स्रोतले जनाएको छ । प्रहरीका खान पल्केका लेखापालहरूको गिरोहले ८ वर्षबाट ६ वर्षमा झार्न दिन मानेको थिएन ।
प्रहरीको पोलिसी को–अर्डिनेसन कमिटीले ६ वर्षमा झार्ने निर्णय गरेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको आदेशमा प्रहरीका लेखापालहरूको पदावधि ८ बाट घटाएर ६ मा झारिएको छ ।
गत वर्ष पनि आर्थिक चलखेलकै आधारमा ६ बाट ८ वर्ष बनाइएको थियो । त्यसका लागि लेखापालहरूले मोटो रकम खर्च गरेको आरोप छ ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर आर्थिक चलखेलमा रुचि राख्दैनन् । उनका आसपास रहेका बिचौलियाहरूले आईजीपीको नाम लिएर आर्थिक चलखेल गर्ने गरेको चर्चा छ ।
यसरी हरेक वर्ष नियम परिवर्तन हुनुले प्रहरी संगठनभित्र नीतिगत रुपमै कति चलखेल हुन्छ भन्ने देखाएको छ । पदावधि घटाएर हाल लेखापालको सरुवा गर्न लागिएको छ । प्रहरीका लेखापालहरूको सरुवामा पनि ठूलो चलखेल हुने गरेको छ ।
प्रहरीको एउटा लेखापालले ‘क’ श्रेणीको जिल्लामा बस्न पायो भने एक वर्षमा २/३ करोडसम्म अबैध कमाइ गर्न सक्छ भन्ने आरोप छ । त्यो पनि आफ्नो कार्यालय प्रमुखलाई रिझाएर हुने कमाइ हो ।
उता, प्रहरीभित्र कसरी नीतिगत चलखेल हुन्छन् भन्ने पछिल्लो एक वर्षको घटनाले उजागर गरेको छ । गत वर्ष केही प्रहरीको स्वार्थमा लेखापालहरूको सरुवा सम्बन्धि नीति संशोधन गरी ६ वर्षबाट आठ वर्ष बनाइएको थियो । त्यतिबेला गृहमन्त्रीनिकट समूहले खुलेआम पैसा उठाएरै यसरी नीति संशोधन गरेको थियो ।
६ वर्ष पुगेर हट्न लागेका लेखापालहरुलाई लक्षित गरी त्यसरी नीतिगत चलखेल गरिएको थियो । अहिले पनि प्रहरीमा त्यही रोग देखिएको छ । अन्य केही प्रहरीलाई फाइदा हुने गरी पनि नीति संशोधन गरिएको छ । यसपटक ६ वर्षमा झारिएको छ । लेखाको तालिम गरेर बसेका प्रहरी अधिकृतहरूको चलखेलमा यसरी ६ वर्षमा झारिएको आरोप छ ।
यसका लागि नेताको पिएसओ बसेका लगायतका ३२ जना प्रहरी अधिकृतले चलखेल गरेको स्रोतले जनाएको छ । २०७६ सालमा लेखाको तालिम गरेर लेखामा काम गर्न नपाएकाहरुले अहिले गृहमन्त्री र प्रहरी नेतृत्वलाई प्रभावमा पारी आफू अनुकुल निर्णय गराएका हुन् ।
गतसाल गरिएको गलत निर्णयलाई सच्याइएको दाबी गरिएको छ । केही प्रहरी अधिकृतकै चलखेलमा हेरफेर भएको छ । सो नीति संशोधन गरेलगत्तै प्रहरीका लेखाका कर्मचारीको सरुवा गर्न लागिएको छ ।
लेखापालहरूको व्यापक चलखेल सुरु भएको छ । करिब एक सय प्रहरी कार्यालयका लेखापालहरूको यसपटक सरुवा हुँदैछ ।
सरुवाका लागि केही बिचौलियाहरू भने पैसा उठाउन लागेको स्रोत दाबी गरेको छ । प्रहरीभित्र पैसा लिएर बिचौलियाहरूले सरुवा बढुवा गर्ने गरेको आरोप लामो समयदेखि लाग्दै आएको छ । एक महिना अगाडि प्रहरी निरीक्षकहरूको डीएसपीमा बढुवा गर्ने क्रममा पनि मोटो आर्थिक चलखेल भएको आरोप लागेको थियो ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया