सभापति देउवाले ‘लाइभ गरौँ’ भनेपछि गगनहरूको हुति देखियो, विश्वसहितका युवाहरूको ओठमुख सक्यो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकका लागि विभिन्न दश वटा एजेन्डाहरू तयार पारेको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले बैठकका एजेन्डा तयार गरेको हो । महामन्त्री विश्वप्रकाश शर्माले दश वटा एजेण्डा तयार पारिएको भन्दै पहिलो एजेण्डाको रुपमा समसामयिक विषय रहने बताएका छन् ।

उनले त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरूमा छलफल हुने बताए ।

सांगठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत हुनेछ । कार्यसम्पादन समितिले गरेका निर्णयहरू अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेस र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्तावित हुनेछ ।

विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेस गर्ने एजेन्डा पनि रहेको छ ।

कांग्रेसले प्रतिनिधि सभामा खेलेको भूमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउनेछन् ।

उप–सभापति तथा उप–प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरूको सम्बन्धमा बैठकलाई जानकारी गराउनेछन् । नीति अधिवेशनसम्बन्धी केही खाका बैठकमा प्रस्तावित हुनेछ ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठकलाई सामाजिक सञ्जालमा लाइभ गर्न प्रस्ताव गरेका छन् । देउवाले प्रस्ताव गरे पनि सेलिब्रेटी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले रुचि देखाएका छैनन् ।

महामन्त्री शर्माले बैठकको प्रत्यक्ष प्रसारण गर्ने सम्बन्धमा पनि छलफल भइरहेको बताएका छन् । सभापति देउवाविरुद्ध महामन्त्री थापासहितका कथित युवा नेताहरूले सार्वजनिक रुपमा आलोचना गर्दै आएका छन् । पार्टीको बैठकका विषयमा सबैले सत्यतथ्य थाहा पाउन भनेर सभापति देउवाले बैठक लाइभ गर्न प्रस्ताव गरेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको छ ।

यस्तो छ कांग्रेसको एजेण्डा

१. समसामयिक विषय ।
२. सांगठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव ।
३. कार्यसम्पादन समिति बैठकबाट यसअघि भएका निर्णयहरू अनुमोदन ।
४. पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत ।
५. नीति अधिवेशन सम्बन्धी प्रस्ताव ।
६. विभाग गठनसम्बन्धी प्रस्ताव ।
७. एउटा अभियान घोषणासम्बन्धी प्रस्ताव ।
८. अनुशासन समितिको प्रतिवेदनसम्बन्धी प्रस्ताव
९. प्रतिनिधि सभा बैठकमा पार्टीको भूमिकाबारे संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी गराउने ।
१०. सरकारमा पार्टीको भूमिकाबारे उप–सभापति एवं उप–प्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउने ।

Published : Monday, 2023 July 17, 9:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया