राजदूतहरूको नाम सिफारिस, दाङले एकै पटक पायो दुई राजदूत

काठमाडौं । सरकारले विभिन्न देशका लागि राजदूतहरूको सिफारिस गरेको छ ।

सरकारले बिहीबार रिक्त रहेका ७ वटा नियोग प्रमुखमध्ये ६ वटामा राजदूत सिफारिस गरेको छ । राजदूतमा सिफारिस भएका परराष्ट्र मन्त्रालयका सह–सचिवमध्ये दुई जना दाङ जिल्ला निवासी हुन् । सह–सचिवद्वय धनबहादुर वली थाइल्याण्डका लागि राजदूतमा र जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका रामप्रसाद सुवेदी सिफारिस भएका छन् ।

गुल्मी जिल्लाले पनि दुई जना राजदूत पाएको छ । तेजबहादुर क्षेत्री संयुक्त अरब इमिरेट्सका लागि राजदूत र घनश्याम लम्साल कुवेतका लागि राजदूतमा सिफारिस भएका छन् ।

मन्त्रिपरिषदले सिफारिस गरेका ६ जना परराष्ट्र सेवा क्षेत्रमा रहेका मन्त्रालयका सह–सचिव हुन् । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि आवासीय प्रतिनिधिमा लोकबहादुर थापा सिफारिस भएका छन् । थापा मन्त्रालयको उत्तरपूर्वी एसिया विभागको प्रमुख थिए ।

मन्त्रालयको क्षेत्रीय सङ्गठन विभाग प्रमुख धनबहादुर ओली थाइल्यान्डका लागि सिफारिस भएका छन् । शिष्टाचार विभाग प्रमुख सुधिर भट्टराई फ्रान्सका लागि राजदूत सिफारिस भएका छन् ।

जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका लागि मन्त्रालयको दक्षिण एशिया विभाग प्रमुख रामप्रसाद सुवेदी सिफारिस भएका छन् ।

मन्त्रालयको मध्य तथा पश्चिम एशिया र अफ्रिका विभागको प्रमुख रहेका सह–सचिव तेजबहादुर क्षेत्री संयुक्त अरब इमिरेट्सका लागि राजदूत सिफारिस भएका छन् ।

मन्त्रालयको सामान्य प्रशासन विभाग प्रमुखको जिम्मेवारीमा रहेका सह–सचिव घनश्याम लम्साल कुवेतका लागि राजदूतमा सिफारिस भएका छन् ।

सरकारले यस पटक राजदूत सिफारिसलाई वरिष्ठताको आधारमा गरेको छ । परराष्ट्र मन्त्रालयमा रहेका सह–सचिवमध्ये वरिष्ठहरूलाई मन्त्रिपरिषदबाट सिफारिस गरिएको छ ।

अहिले राजनीतिक नियुक्तिबाट १५ जना र सेवा क्षेत्रबाट ११ जना राजदूत छन् । नेपालको विभिन्न ३० मुलुकमा आवासीय राजदूत, तीन वटा संयुक्त राष्ट्रसंघीय मिसन नियोग र सात वटा महावाणिज्य दूतावास छन् ।

यीमध्ये अन्य नियोगहरूसँगै रिक्त भएको क्यानडाका लागि भने राजदूत सिफारिस गर्न बाँकी छ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल पनि राजदूतका आकांक्षी हुन् । पौड्यालले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर न्यूयोर्क जान चाहेका थिए । पौड्यालले त्यो अवसर पाएनन् ।

सरकारले फागुनमा न्यूयोर्कस्थित नेपाली स्थायी प्रतिनिधि अमृतबहादुर राई, जेनेभास्थित स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई र फ्रान्सका लागि राजदूत दीपक अधिकारीको कार्यकाल तीन महिना थप्ने निर्णय गरेको थियो ।

संसदीय सुनुवाइपछि उनीहरूलाई राष्ट्रपतिबाट राजदूतमा नियुक्ति गरिनेछ । त्यसपछि उनीहरूले आ–आफ्नो जिम्मेवारी सम्हाल्न जानेछन् ।

Published : Sunday, 2023 July 16, 10:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया