रवि लामिछानेका ‘सेना’हरूबीच भक्कुरा भक्कुर, प्रहरीसम्म पुग्यो कुरा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीमा विवाद भएपछि कुटाकुट भएको छ ।

घटनाले उग्ररुप लिएपछि विवाद प्रहरीसम्म पुगेको छ । पार्टीको संस्थापन पक्षले विधानको कुरा उठाउने नेताको सदस्यता खारेजी र कुटपिट गरेको भन्दै अर्को पक्षले विरोध जनाएको छ ।

पार्टीको र्‍यापिड एक्सन टिम सैनामैना नगर संयोजक दामोदर खत्रीले विधानअनुसार पार्टी सञ्चालन गर्नुपर्नेभन्दा प्रदेश उप–सभापति शालिकराम घिमिरे, रुपन्देही संयोजक प्रकाश ज्ञवाली र रुपन्देही क्षेत्र नं २ का क्षेत्रीय सदस्य विक्रम तिवारी लगायतले पार्टी कार्यालयमा बोलाई आफूलाई कुटपिट गरेको र उल्टै आफूबिरुद्ध कुटपिटको उजुरी दिएको बताएका छन् ।

खत्रीले पार्टीलाई विधानअनुसार चलाउनुपर्छ भन्ने आफ्नो आवाजलाई दबाउन घिमिरे, ज्ञवाली र तिवारीको समूहले आफूसँग अनुचित प्रस्ताव राखेको र उनीहरूको प्रस्तावमा सहमत नभएपछि कुटपिटमा उत्रिएको बताएका छन् ।

पार्टी विधानको धारा १३ (ङ) मा सरकारी विद्यालयमा पढाउने व्यक्ति कुनै पनि पदमा नरहने व्यवस्था भए पनि जिल्ला संयोजक ज्ञवाली रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १७ पिपरहियास्थित बालविकास आधारभूत विद्यालयमा पढाउने शिक्षक भएको र उक्त कुरा उठाउँदा आफूमाथि कुटपिट भएको बताए ।

प्रदेश उप–सभापति घिमिरेले क्षेत्रीय निर्वाचनमा पदीय मर्यादा विपरीत मतदातालाई प्रभावमा पारी मतदाताको मोबाइलबाट आफैंले मत हाल्नेसम्मको कार्य गरेको र सो कुराको विरोध गर्दा षडयन्त्रपूर्वक आफ्नो सदस्यता खारेज गर्ने र कुटपिट गरिएको खत्रीको आरोप छ ।

कुटपिट भए पनि पार्टीभित्रको कुरा भनेर आफूले प्रहरीमा उजुरी नगरेको तर, उनीहरूले उल्टै आफूबिरुद्ध उजुरी दिएको उनको भनाइ छ ।

खत्रीले रास्वपामा फरक मतलाई दबाएर लोकतन्त्रको अभ्यास हुन नदिई निरंकुशता लादेकाले पार्टीमा नरहेको घोषणा समेत गरेका छन् ।

रास्वपा जिल्ला संयोजक प्रकाश ज्ञवालीले खत्रीले पार्टी हित विपरीत काम गरेकाले कारवाही प्रक्रिया अघि बढाएको तर, उनले पार्टी परित्याग गरेको बताए ।

रास्वपा रूपन्देहीको आन्तरिक विवाद चुलिँदै गएपछि एक समूहले अर्को समूहलाई कुटपिट गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी पुगेको छ ।

आगामी मंसिरमा रास्वपाको महाधिवेशन तय भएको छ । महाधिवेशनका लागि जिल्ला, क्षेत्र तथा गाउँ तहसम्म पार्टीको संगठन विस्तार गरिरहेकोरास्वपा रुपन्देहीमा भने नेतृत्व हत्याउने दाउपेचकै कारण एक समूहले अर्को समूहका कार्यकर्ताको सदस्यता खारेजी गर्ने र कुटपिट गर्ने तहसम्म पुगेको छ ।

शनिबार दिउँसो इलाका प्रहरी कार्यालय बुटवलबाट फोन गरी आफूमाथि कुटपिटको उजुरी परेको र आइतबार प्रहरी कार्यालयमा उपस्थित हुन भनिएको उनले बताए ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार एउटा समूहले मुद्दा दर्ता गर्न भन्दै निवेदन दिएको र दुबै पक्षलाई छलफलका लागि आइतबार कार्यालयमा बोलाइएको छ ।

खत्रीले आफू स्थापनाकालदेखि नै पार्टीमा लागेको र पार्टीलाई विधानअनुरूप सञ्चालन गर्नुपर्छ भनेर आवाज उठाउँदा पार्टीका लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरे, जिल्ला संयोजक प्रकाश ज्ञवाली र क्षेत्र नं. २ का क्षेत्रीय सदस्य विक्रम तिवारीको समूहले कुटपिट गरेको बताए ।

खत्रीले हालै सम्पन्न भएको पार्टीको क्षेत्रीय निर्वाचनमा समेत प्रदेश उप–सभापति घिमिरेले प्रतिनिधिहरूलाई प्रभावमा पारी उनीहरूका मोबाइलबाट आफैंले मत हालेर आफ्नो पदीय मर्यादाविपरीत काम गरेको आरोपसमेत लगाए ।

खत्रीले उक्त समूहले आफूमाथि कुटपिट गर्न थालेपछि पार्टी कार्यालयबाट बाहिर निस्किएको र सो क्रममा प्रतिरक्षा गर्दा धकेलाधकेल भएको दाबी गरेका छन् ।

रास्वपा रूपन्देहीका संयोजक प्रकाश ज्ञवालीले भने दामोदर खत्रीले पार्टीका विभिन्न तह र पदमा रहेका व्यक्तिहरूलाई मनपरी आरोप लगाउने र पार्टी अनुशासनहीन कार्य गर्दै आएकोले सदस्यबाट हटाइएको बताएका छन् ।

रास्वपाका सभापति रवि लामिछानेका विभिन्न काण्डहरूले देशभरि उत्पाच मच्चाइरहेका बेला रास्वपाको रुपन्देही कार्यसमितिमा बबण्डर भएको छ ।

Published : Sunday, 2023 July 16, 1:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया