गगन थापा निकटका गुण्डा नाइकेको समूह काठमाडौंमा पक्राउ, कांग्रेसभित्र बबाल, गुण्डालाई छुटाउन दवाव
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग नजिकको सम्बन्ध बनाएका गुण्डा नाइके युवराज गुरुङ ‘सानोभाइ’को हर्कत निकै बढेको छ ।
काठमाडौंको ठमेलस्थित क्लब ‘ओम्निया’का मालिक राजेन्द्र गुरुङसहितका मान्छेहरूलाई कुटेर भागेको ‘सानोभाइ’को समूह पक्राउ परेको छ । असार १५ गते राति मान्छे कुटेर ‘सानोभाइ’सहितको समूह भागेको थियो । उनीहरू विभिन्न स्थानबाट पक्राउ परिसकेका छन् । ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटका सानुभाइ भनिने युवराज गुरुङ, टोखाका विक्रम अधिकारी, तनहुँका सुवास कायस्थ, सुरज कायस्थ र नुवाकोटका कमल तामाङ रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताएका छन् । एसएसपी कार्कीले गुण्डाहरूको अपराधलाई कुनै पनि दवावमा संरक्षण नगरिने बताएका छन् ।
पक्राउ परेकाहरूले शेयरसम्बन्धी विवाद रहेको खुलाएका छन् । ‘शेयरको विषयमा पनि कुरा नमिलेको सुनेको छु’, कार्कीले भने, ‘अहिले स्पष्ट भइसकेको छैन ।’
नुवाकोटको ककनी गाउँपालिका घर भएका ‘सानोभाइ’को समूहले क्लवका मालिक राजेन्द्रसहितका मान्छेलाई कुटपिट गरेको सीसीटीभी फुटेजमा देखिन्छ ।
राजेन्द्रले ‘सानोभाइ’को समूहले क्लबका कर्मचारीहरू सुरेश खड्का, आशिष नगरकोटी र आफूलाई विभिन्न अपशब्द बोली हातपात गरेको बताएका छन् ।
राजेन्द्रले प्रहरी वृत्त सोह्रखुट्टेमा उनीहरूविरुद्ध जाहेरीसमेत दिएका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले गुण्डा नाइके ‘सानोभाइ’का ग्याङका दुई जना विनोद लामा र रघु लामालाई पक्राउ गरिसकेको छ ।
‘सानुभाई’ प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैंटेका समूहका गुण्डा हुन् । सानोभाइ घैंटेको मुख्य सहयोगी भएर काम गर्थे । घैंटेको इन्काउन्टर भएपछि असुरक्षित मान्दै बुलेटप्रुफ ज्याकेट लगाएर हिड्ने गरेका थिए । उनै सानोभाइलाई प्रहरीले २०७२ सालमा पक्राउ गरेको थियो ।
त्यतिबेला सानोभाइको साथबाट पेस्तोल र गोलीसमेत बरामद भएको थियो । सानोभाइले २०६७ सालमा नुवाकोटका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई हप्ता असुली नदिएको भन्दै गोली प्रहार गरेका थिए । नुवाकोटकै होटल व्यवसायी सुरेश डंगोललाई पनि सानोभाइले आक्रमण गरेका थिए ।
कांग्रेसका महामन्त्री गगन थापा र अर्जुननरसिंह केसी समूहको राजनीतिक संरक्षणमा सानोभाइमाथि त्यतिबेला कुनै कारबाही भएन । कांग्रेस महामन्त्री थापासँग नजिकको सम्बन्ध बनाएका सानोभाइले राजनीतिक आडमा गुण्डागर्दी गर्दै आएका छन् ।
२०७७ कात्तिक २६ मा डिस्कोमा सेयर मागेको र नदिएपछि हिंडेन डिस्को काठमाडौंका संचालक राज गुरुडमाथि सांघातिक आक्रमण गर्ने पनि उनै सानोभाइ नै थिए ।
एमालेको भ्रातृ संगठन युवासंघ नेपालका केन्द्रीय सदस्य मीनबहादुर गुरुङ ‘राज’लाई सानोभाइको समूहले आक्रमण गरेको थियो ।
सानोभाइले पेस्तोल देखाएर डिस्कोको विनालगानी सेयर मागेका थिए । राजले सेयर नदिने भनेपछि सानोभाइको समूहले उनीमाथि आक्रमण गरेको थियो ।
सानोभाइको समूहले २०७८ सालमा नुवाकोट निवासी निर्माण व्यवसायी जीतबहादुर कार्कीलाई अंगभंग हुनेगरी आक्रमण गरेको थियो । २०७९ को माघमा गोरखास्थित एक सांस्कृतिक कार्यक्रममा सहभागी हुन गएका सानोभाइले एक महिलामाथि बलात्कारको प्रयाससमेत गरेका थिए ।
उनै सानोभाइ र शैलेश श्रेष्ठले २०७७ फागुन ७ मा वीपी स्मृति भवन नुवाकोटको उद्घाटन गराउन आफ्नै खर्चमा महामन्त्री गगन थापालाई हेलिकोप्टरमा लगेका थिए ।
राजनीतिक आडमा गुण्डागर्दी गर्दै आएका सानोभाइलाई अहिलेसम्म प्रहरीले किन पक्राउ गर्न सकेन भन्ने प्रश्न उठ्न थालिसकेको छ ।
पछिल्लो केही समययता काठमाडौं उपत्यकामा गुण्डागर्दी मौलाएको भन्दै उजुरी लिएर प्रहरीका पुग्ने व्यवसायीको संख्या बढ्न थालेको छ ।
शैलेश श्रेष्ठले गुण्डा नाइके सानोभाइलाई महामन्त्री गगन थापासँग नजिक गराएका हुन् । भक्तपुर बस्ने शैलेश श्रेष्ठ मिटरब्याजका नाइकेका रुपमा चिनिन्छन् । शैलेश श्रेष्ठको प्रहरीका उच्च अधिकारीहरूसँग नजिकको सम्बन्ध रहँदै आएको शैलेश आफैले नै सामाजिक सञ्जालमा पोष्ट गरेका तस्बिरहरूबाट पुष्टि हुन्छ । शैलेश श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गर्ने हो भने धेरै कुरा पत्ता लाग्छ ।
विगतमा गुण्डा नाइके घैंटेलाई काठमाडौंमा प्रहरीले इन्काउन्टर गरेका बेला अर्जुननरसिंह केसी, जगदीश्वर नरसिंह केसी लगायतका ससुराली खलकसँग मिलेर महामन्त्री थापाले आन्दोलन समेत चलाएका थिए । गुण्डा नाइके सानोभाइको समूहलाई बचाउन महामन्त्री थापाले प्रहरीलाई दवाव दिएको चर्चा छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया