बालुवाटारमा प्रचण्ड खुसी, अब एमालेले चिसोपानीले नुहाउने, मुख्यमन्त्री कांग्रेसले पायो

काठमाडौं । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेपछि त्यसको विरोध गर्दै सत्ता गठबन्धनले बचाउ गरेका छन् ।

बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले एमालेको कदम असंसदीय रहेको ठहर गरेको छ । एमालेको कदम असंसदीय रहेको भन्दै प्रधानमन्त्री दाहालले राजीनामा दिन नपर्ने निर्णय भएको छ ।

सत्ता गठबन्धनको निर्णयले एमालेलाई तनाब बढाएको छ । संसद अबरोध गरेर प्रधानमन्त्री दाहालको राजीनामा माग गरेको एमालेले चिसो पानीले नुहाउने अवस्थामा पुगेको छ ।

एमालेको विरोध र सदनमा गरेको अवरोधलाई संसदमा फेस गर्ने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले बताएका छन् ।

नेता पाण्डेले भने, ‘प्रधानमन्त्री बन्न दिल्ली जानुपर्छ भन्ने प्रकारका कुरा भन्यो भनेर संसदमा हिजो अवरोध गरेको र अवरोध मात्र होइन, प्रमुख प्रतिपक्षी दलले संसदीय दलको बैठकमा प्रधानमन्त्रीको राजीनामा नै माग्ने निर्णय गरेको भन्ने कुरा आयो ।’

‘उहाँहरूले गरेको यो निर्णय असंसदीय निर्णय हो’, उनले भने, ‘संसदीय अभ्यासमा प्रधानमन्त्रीले बोलेको कुरामा कसैलाई आपत्ति छभने संसदमा आवाज उठाउन पाउँछ ।’

सरदर प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिएको आरोप छ ।

कार्यक्रममा दाहालले भनेका थिए, ‘उहाँ (प्रितम सिंह) राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचाटी दिल्ली पनि जानुभयो । काठमाडौंमा पार्टी र नेताहरुसँग पनि लगातार छलफल गर्नुभयो ।’

सो अभिव्यक्तिपछि एमालेले प्रधानमन्त्री दाहालको राजीनामा मागेर संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

यसैबीच, सात दलीय सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापालाई बनाउने पुन: निर्णय गरेको छ । सात दलको बैठकले थापालाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले बिहीबार साँझ पाँच बजे थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्न पुन: निर्णय गरेको बताए । ‘कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई बनाउने निर्णय गरेका छौँ । त्यसमा केही कन्फ्युजन थियो’, उनले भने, ‘आज माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्र आङ्बो र एकीकृत समाजवादीका संसदीय दलको नेता राजेन्द्र राईलाई बोलाएर आज पाँच बसेसम्म उद्धव थापालाई मुख्यमन्त्री बनाउने गरी प्रस्ताव पेस गर्ने भनेर हामीले पुन: निर्णय गरेर पठाएका छौँ ।’

कोशी प्रदेशको गठबन्धनमा कांग्रेस (२९), माओवादी केन्द्र (१३, सभामुखसहित), एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी १ गरी ४७ सिट छ । शुक्रबार विश्वासको मत नपाएर हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुखले सरकार गठनका लागि दाबी पेस गर्न दिएको समयसीमा बिहीबार साँझ ५ बजे सकिँदै छ ।

Published : Thursday, 2023 July 6, 12:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया