तीन शीर्ष नेताहरूबीच सभापतिहरू चयन गर्ने सहमति
काठमाडौं । नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीच संसदीय समितिको सभापति चयन प्रक्रिया अघि बढाउने सहमति भएको छ ।
मंगलबार सिंहदबारमा बसेको तीन दलका शीर्ष नेता र सभामुख देवराज घिमिरेको बैठकले सभापति चयन प्रक्रिया अघि बढाउने सहमति गरेको कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बताएका छन् ।
सभामुख घिमिरेले लामो समयदेखि संसदीय समितिहरू ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन भइरहेको भन्दै सभापति चयनमा छिटो सहमति गर्न आग्रह गरेका थिए ।
सभामुख घिमिरेले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘तपाईहरूले गर्नुभएन भने मैले आफ्नो स्टेप चाल्नुपर्ने हुन्छ ।’
शीर्ष नेताहरूले सभापति चयन प्रक्रिया अघि बढाउन म्यान्डेट दिएको घिमिरेले बताएका छन् । कानूनमन्त्री गुरुङका अनुसार संसदीय समिति सभापतिका विषयमा पुरानै सहमति कार्यान्वयन हुनेछ ।
निर्वाचन प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नेछन् । दलहरुबीच सहमति नहुँदा प्रतिनिधिसभाको संसदीय समितिको सभापति चयन भएको छैन् ।
यसअघि शीर्ष नेताहरूबीच सार्वजनिक लेखा समितिसहित तीन संसदीय समितिको सभापति प्रमुख प्रतिपक्षी एमालेले लिने सहमति बनेको थियो ।
बाँकी समितिहरू सत्ता गठबन्धनबीच बाँडफाँट गर्ने सहमति भएको सार्वजनिक भएको थियो ।
गुरुङले संसदीय समितिको सभापतिमा पुरानै सहमति कार्यान्वयन गर्ने शीर्ष तहमा सहमति भएको जानकारी दिए । ‘पहिलेकै सहमति कार्यान्वयन हुन्छ’, कानूनमन्त्री गुरुङले भनेका छन् ।
प्रतिनिधिसभाअन्तर्गत १० वटा विषयगत समितिहरू छन् । ती सबै संसदीय समितिका सभापति चयन भएका छैनन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाका संयुक्त दुई समिति पनि सभापति विहीन छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया