प्रचण्डका बिचौलियासँग ‘ग्वाँ…ग्वाँ’ रोए प्रदीप, १५ करोडमा कुरा मिल्यो रे !

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले कारबाहीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्म कुरा पुर्‍याएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का सांसद तथा पूर्वमन्त्री प्रेम आलेमार्फत अधिकारीले प्रधानमन्त्री दाहालसम्म आफ्ना कुरा पुर्‍याएको स्रोतले जनाएको छ । पूर्वमन्त्री आले र महानिर्देशक अधिकारीबीच निकै राम्रोसम्बन्ध छ । उनीहरू विभिन्न व्यापारिक काममा जोडिएको चर्चा प्राधिकरणभित्र छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले स्पष्टीकरण सोधर कारबाहीको तयारी गरेपछि महानिर्देशक अधिकारीको सातोपुत्लो उडेको छ । अधिकारीले मन्त्री किराँतीविरुद्ध मिडियाबाजी गर्नेदेखि पत्रकारहरूलाई खेदो खन्न लगाएका छन् ।

महानिर्देशक अधिकारीले प्राधिकरणका कर्मचारी युनियनका पदाधिकारीहरूलाई मोटो रकम दिएर प्रधानमन्त्री दाहालसँग आफ्नो पक्षमा लबिङ गरेर कारबाहीबाट बचाउन बालुवाटारमा कुरा गर्न पठाएको बुझिएको छ ।

महानिर्देशक अधिकारीले मन्त्री किराँतीसँग १५ करोडमा सबै कुरा मिलिसक्यो भनेर आफू निकटका मान्छेहरूसँग कुरा गर्ने गरेको बुझिएको छ । महानिर्देशक अधिकारीले प्रधानमन्त्री दाहालका बिचौलियाहरूसँग ‘ग्वाँ…ग्वाँ’ गरेर रोएको चर्चा प्राधिकरणभित्र छ ।

महानिर्देशक अधिकारीले ‘तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेभन्दा अहिलेको मन्त्री किराँती निकै महँगो रहेछ’ भन्दै चरित्र हत्या गर्ने गरेको आरोप छ ।

क्याप्टन रामेश्वर थापाले अनुमति पाएको हेलीपोर्ट बनाउने कुरालाई मिडियाबाजी गर्न केही पत्रकारहरूलाई पैसा नै दिएर महानिर्देशक अधिकारीले समाचार लेखाइरहेका छन् ।

तत्कालीन महानिर्देशक राजकुमार क्षेत्रीलाई हटाउन लगाएर अधिकारीले आफूभन्दा सिनियर कर्मचारीहरूलाई उछिनेर महानिर्देशक पद कब्जा गरेका थिए । तत्कालीन मन्त्री आलेसँग करोडौँ रुपियाँमा डिल भएको चर्चा छ ।

महानिर्देशक अधिकारीलाई बचाउन आलेले निकै ठूलो जोडबल गरिरहेका छन् । टेलिभिजन कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा पूर्वमन्त्री आले र महानिर्देशक अधिकारीले प्रश्न बनाएर पत्रकार ऋषि धमलालाई दिएका थिए । धमलाले त्यही प्रश्नका आधारमा पर्यटनमन्त्री किराँतीलाई प्रश्न सोधेका थिए । आले र अधिकारीले मन्त्री किराँतीविरुद्ध प्रयोजित हर्कतहरू निकै गरिरहेका छन् ।

अधिकारी प्राधिकरणको महानिर्देशक बनेर आएपछि हवाइ सुरक्षामाथि ठूलो प्रश्न उठेको छ । अधिकारी आउनेवित्तिकै नेपाली आकाशमा ठूला दुर्घटना भइसकेका छन् । तर, राजनीतिक शक्ति र आर्थिक प्रलोभनमा पारेर अधिकारी कारबाहीबाट बच्दै आएका छन् ।

मन्त्री किराँतीले महानिर्देशक अधिकारीलाई कारबाही गर्ने तयारी गरिरहेका बेला बचाउन ठूलो चलखेल भएको छ । महानिर्देशक अधिकारीले मन्त्री किराँतीलाई नै मन्त्री पदबाट हटाउँछु भनेर आफू निकटका कर्मचारीका साथै पूर्वमन्त्री आलेलाई भन्ने गरेको चर्चा प्राधिकरणभित्र छ । किराँतीले आफूलाई निकै बाधा पुर्‍याएको र मनपरी ढंगले काम गर्न नदिएको गुनासो महानिर्देशक अधिकारीको छ ।

पोखरा र भैरहवाका दुई अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा आयोजना प्रमुख अधिकारी थिए । अधिकारीले नै ती विमानस्थलमा चलखेल गरेर लागतभन्दा धेरै महँगो बनाएको भनेर आरोप लागेको छ । अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजरीहरू परेका छन् । तर, अख्तियारले पनि उनलाई कारबाही गरेको छैन ।

Published : Sunday, 2023 July 2, 6:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया