महामन्त्री भएर सभापतिविरुद्ध व्यक्तिगत गालीगलौज गर्दा तपाईको इज्जत बढ्छ थापाज्यू ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध आफूलाई निकै आक्रामक बनाउँदै लगेका छन् ।

नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंको सुकेधारामा आयोजना गरेको कार्यक्रममा थापाले सभापति देउवाको व्यक्तिगत चरित्र हत्या हुने गरेर अभिव्यक्ति दिएका हुन् । टिकट बाँड्ने ठाउँमा आफै बसेका महामन्त्री थापाले ‘दाइ–भाउजु’ले टिकट बाँडेको भनेका छन् । थापा महामन्त्री थिए । थापाले त्यो बेला किन टिकट वितरणको किन विरोध गरेनन् ? त्यो बेला थापालाई पनि ८० वर्ष पुग्न लागेका ससुरालाई टिकट दिनुभयो । आफ्ना असेपासेलाई टिकट दिनु थियो । अहिले आएर दाइभाउजु भनेर आलोचना गरेर ‘आफ्नो शरीरको भैँसीपनि नदेख्ने, अरुको शरीरको जुम्रा पनि देख्ने’ जस्तो थापाको व्यवहार भएको छ ।

टिकट वितरणमा महामन्त्री थापाले काठमाडौं क्षेत्र नं. ४ मा प्रदेश सभातर्फ राजु श्रेष्ठको टिकट काटेर आफ्नो मान्छेलाई दिएको कुरा पनि भुलेका छन् । राजु श्रेष्ठहरू जस्ता सयौँ नेता कार्यकर्ताको राजनीति पनि थापाले बिगारिदिएको कसले बुझ्ने ?
देउवाको मानमर्दन र चरित्र हत्या गरेपछि आफ्नो उचाइँ बढ्छ भन्ने ठानेका महामन्त्री थापाले किन तल्लोस्तरमा पुगेर सभापतिविरुद्ध गालीगलौजमा उत्रिएका हुन् कार्यकर्ताहरूले बुझेका छैनन् ।

कार्यक्रममा सभापति देउवाको राजनीतिक रुपमा आलोचना गर्न पाइन्छ । गर्नुपनि पर्छ । तर, परिवारभित्रका व्यक्तिलाई जोडेर ‘दाइ–भाउजु’ भनेर व्यक्तिगत रुपमा निच आलोचना गर्नु भनेको महामन्त्री जस्तो पदमा बसेर थापाले आलोचना गर्न सुहाउँदैन ।
कांग्रेसको राजनीतिबाट निकै अवसर लिएर नुवाकोटमा कांग्रेस समाप्त पारेको अर्जुननरसिंह केसीको परिवारलाई अवसर दिलाउन महामन्त्री थापाले केसम्म गरेका छन् ? राम्रोसँग बुझ्न जरुरी छ । महामन्त्री थापाले डोजर लगाएर तानेर टिकट दिएकै कारण अर्जुननरसिंह केसीले टिकट पाएका हुन् । होइन भने सुसराली खलक केसी परिवार राजनीतिबाट समाप्त हुन लागेको थियो ।

सभापति देउवाको आलोचना गर्ने थापाले आफ्ना ससुरा अर्जुननरसिंह केसीका बारेमा किन बोल्दैनन् ? किन भने अर्जुन नरसिंह केसी भनेका थापाका ससुरा हुन् । कुनै बेला ज्वाइँ र ससुरा एउटै मन्त्रिपरिषदमा पनि थिए ।

महामन्त्री थापालाई पार्टी सभापति र प्रधानमन्त्री बन्न निकै हतार भइसकेको छ । उनले देउवालाई अहिले नै हटाएर सभापति बनेर प्रधानमन्त्री बन्ने सपना देखेका छन् । सपना देख्न पाइन्छ । सभापति र प्रधानमन्त्री बन्न पनि थापालाई बाटो खुला छ । अहिले नै आजै नै देउवाले सभापति पदबाट राजीनामा दिएर थापालाई सभापति बनाइदिने हो र ? देउवालाई १४औँ महाधिवेशनले शानदार मत दिएर जिताएको छ । थापाले धैर्यता गर्नुपर्छ ।

सभापति देउवाकै नेतृत्वमा स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस ठूलो पार्टी बनेको छ । चुनावका बेला महामन्त्री थापाले कसलाई जिताए ? कुन–कुन क्षेत्रमा पुगेर कांग्रेसका कुन उम्मेदवारलाई जिताए ? भन्न सक्छन् ? सक्दैनन् । अहिले आएर जितेको सभापति देउवा प्रधानमन्त्री बनेको पनि मन नपर्ने, सभापति बनेको पनि मन नपर्ने अनि किन कांग्रेसमा बसेको हो त ? थापा महामन्त्री हुन् । महामन्त्रीले कांग्रेसलाई नेतृत्व गरेर लैजान पनि नसक्ने । काम गर्न पनि नसक्ने ।

सार्वजनिक कार्यक्रममा देउवा र कांग्रेसको हुर्मत लिने काम गर्ने ? यो कार्यले कांग्रेसलाई बलियो बनाउँदैन । देउवालाई व्यक्तिरुपमा आलोचना गर्नुभनेको मतदान गरेर जिताउने कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरूलाई गाली गर्नु हो । सभापति देउवाका कमीकमजोरी छन् भने पार्टीको बैठकमा आलोचना गर्नुपर्छ । देउवालाई सुझाव दिनुपर्छ । कसरी जाने भन्नेबारे रणनीति बनाउनुपर्छ ।

महामन्त्री भएर आफूले कांग्रेस बनाउने योजना नल्याउने, देउवालाई ‘दाइ–भाउजु’ भनेर निरन्तर व्यक्तिगत रुपमा गाली गरिरहने यो कदापि राजनीतिक संस्कार होइन । ‘भाइ–भाउजु’को संस्कार महामन्त्री थापामा पनि छ । अमरेशकुमार सिंहले थापाबारे दिएका अभिव्यक्ति अहिले पनि युट्युवमा सुरक्षित छन् ।

थापाले कमाण्डर बनेका बेला उप–चुनावमा चितवन र तनहुँमा कांग्रेसले किन जिते न ? त्यसको समीक्षा गर्ने कि नगर्ने ?
थापाले संसारमा कुनै देशमा एउटै व्यक्ति ५–६ पटक प्रधानमन्त्री नहुने बताएका छन् । ‘संसारमा एउटा त्यस्तो देश मलाई बताइदिनुस्, जुन देशमा व्यक्ति, एउटा नेता ५ पटक, ६ पटक प्रधानमन्त्री भएको देश मलाई बताइदिनुस्’, थापाले भनेका छन्, ‘कहीँ हुँदैन । कुनै डेमोक्रेसीमा हुँदैन ।’

नेपालमा पनि यस्तो व्यवस्था हटाएर कुनै पद्धति बसाल्नुपर्ने थापाले बताएका छन् । जनताले पत्याउँदा सभापति र प्रधानमन्त्री बन्न जो पनि सक्छ । त्यो दिन थापाको पनि नआउला भन्न सकिँदैन ।

उनले भनेका छन्, ‘नेपालमा त्यो परम्परा कसले बसाउँछ ? अनि यो परम्परा र थिति बसाउने पार्टी कांग्रेस होइन ? अनि कांग्रेसले थिति बसाउनु परेन ?’

यस्ता कुरा गर्दा व्यक्तिगत कुरा गरेको भन्ने गरिएको भन्दै थापाले परम्परा बसाले आफ्नो हकमा पनि लागू हुने बताएका छन् ।
‘मैले नेपाली कांग्रेसभित्र विधि बसाल्ने, थिति बसाल्ने कुरा गरेको हो । किन एउटै व्यक्ति ५ पटक, ६ पटक प्रधानमन्त्री बन्ने ? उत्तर के हो त्यसको ?’, थापाले भने, ‘यो कुनै गुटको कुरा होइन । कुनै आदरको कुरा होइन । सुरु गरौ न । खुला छलफल गरौं । नयाँ परम्परा र थिति बसाल्ने कुरा नगर्ने ?’

कांग्रेसले केही भएन भनेर आत्मनिन्दा गर्ने वा सबै ठीकै छ भनेर अहंकार पालेर बस्न नहुने भन्दै थापाले आफ्नो बारेमा आत्मसमीक्षा गर्नुपर्ने बताए ।

‘कांग्रेस बदलियो भने बदलिएको कांग्रेसले देश बदल्छ हेर्नोस् । यो देश बदल्नैपर्छ । बदलिएको कांग्रेसले मात्रै यो काम गर्न सक्छ । तर कांग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ ।’

आफू बदलिन तयार रहेको उनले बताएका छन् । थापाले आफू बदलिन तयार भएको भने पनि सभापति देउवाविरुद्ध व्यक्तिगत लाञ्छना र टिकाटिप्पणी गर्न भने छाडेका छैनन् ।

थापाले भने, ‘मैले पटक–पटक भनेको छु–दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा कांग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ ।’

Published : Sunday, 2023 July 2, 9:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया