पावर र कुर्सी फुस्किने भएपछि एमाले बैठक छाडेर टापकस्याे

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमाले नेतृत्वको सरकार जोगाउन प्रदेशसभा बैठक छाडेर हिँडेका छन् ।

मुख्यमन्त्री कार्की र एमालेका सांसदहरू बैठक छाडेर हिँडेपछि विश्वासको मत लिने कार्यक्रम प्रभावित बनेको छ । प्रदेशसभा बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि सारिएको छ । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको निर्देशनमा मुख्यमन्त्री कार्की र एमालेका कोशी प्रदेशसभाका सदस्यहरू बैठकमा नफर्किएर टापकसेका हुन् । ओलीले कार्की नेतृत्वको एमालेको प्रदेश सरकार बचाउन विभिन्न प्रयासहरू गरिरहेका छन् ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्ताव पेस गरेका थिए । संसदको विश्वास नपाउने स्थिति बनेपछि कार्कीले सभामुख बाबुराम गौतमसँग आग्रह गरेर बैठक सारेका हुन् ।

विश्वासको मत लिने प्रस्तावमाथि प्रदेशसभामा बिहीबार सत्ता पक्ष–विपक्षमा रहेका दलका नेताहरूले छलफलमा भाग लिएका थिए ।

बैठकमा मुख्यमन्त्री र मन्त्रीहरू कोशी प्रदेशसभामा नफर्किएपछि शुक्रबार बैठक बस्न लागेको छ । एमालेका मुख्यमन्त्री कार्की माओवादी केन्द्र, जसपाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसद मुख्यमन्त्री कार्कीका पक्षमा छन् ।

प्रतिपक्षमा गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख गौतमसहित १३, नेकपा (एकीकृत समाजवादी)का ४ गरी ४६ सांसद छन् ।

एक सांसदमात्र रहेको जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरिसकेको छ । एमाले नेता कार्की गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

Published : Friday, 2023 June 30, 7:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया