आयात हुने आलु र प्याजमा हो भ्याट, आन्तरिक उत्पादनमा भ्याटले छुदैन : अर्थमन्त्री डा.महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आम उपभेक्तालाई मारमा पार्न आलु र प्याजमा भ्याट नलगाइएको बताएका छन् ।
सोमबार मोरङ व्यापार संघको ६६औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै डा. महतले आलु र प्याजमा भ्याट लागेको भन्ने हल्ला निराधार रहेको बताएका हुन् । उनले आन्तरिक उत्पादनमा मद्दत पुगोस्, नेपाली उत्पादन प्रवर्धन होस् भनेर आयातित आलु र प्याजमा मात्र भ्याट लगाइएको बताए ।
मन्त्री डा.महतले भने, ‘हामी कृषि प्रधान देश भन्छौं, आलु र प्याज यति अर्बको आयात गर्ने, आलु र प्याज यहाँ उत्पादन गर्न नसक्ने ? जमिन बाँझो छाड्ने ? विदेशबाट किनेर मात्रै खाने ? भन्ने बहसलाई मध्यनजर राखेर आलु र प्याजमा कर लगाएका हौं ।’
‘आम उपभोक्तालाई मर्का पार्न यो कर लगाइएको होइन । यो भन्सार दरले किसानका धेरै संगठनले स्वागत गरेका छन्’, उनले भने, ‘आयातमा मात्र भ्याट लाग्ने हो, आन्तरिक उत्पादनलाई यसले छुँदैन ।’
उनले नेपालको अर्थतन्त्रमा समस्या रहेको स्वीकार गरेका छन् । पूँजीगत खर्च कम भइरहेको पनि मन्त्री डा.महतले बताएका छन् ।
उनले साधारण खर्च घटाउन नसकिएको बताएका छन् । यसो हुनुमा सामाजिक सुरक्षा र दायित्वको भूमिका रहेको उनले बताए ।
विगतमा विभिन्न किसिमका सहुलियत, भत्तामा प्रतिस्पर्धा भएको तर अर्थतन्त्रले कति धान्न सक्छ भन्नेमा ध्यान नदिइएको अर्थमन्त्री डा.महतले बताएका छन् ।

पूँजीगत खर्च २ खर्ब मात्र विनियोजन भएको प्रसंगमा अर्थमन्त्री महतले ऋण र ब्याजको दायित्व बढ्दै गएपछि पूँजीगत खर्च कम हुन पुगेको बताएका छन् ।
भूकम्पको बेला लिएको ऋण तिर्ने बेला भएको डा.महतले बताएका छन् । उनले साधारण खर्च धेरै घटाउन नसक्ने, ऋण र ब्याजको दायित्व बढ्दै गएपछि पूँजीगत खर्चमा दबाब आएको बताए ।
चालु आर्थिक वर्षको अन्त्यमा ब्याजदरमा सुधार हुने उनले बताएका छन् । डा.महतले पूँजीगत खर्च र मौद्रिक नीतिले नेपालको अर्थतन्त्र चलायमान बनाउने बताए ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गमा धेरै स्रोत परिचालन भएको तर यति धेरै खर्चलाई ‘हाम्रो ठाउँमा खर्च भएको’ मान्न कोही तयार नहुने उनको गुनासो छ ।
‘मेरो गाउँमा, मेरो नगर र वडामा कति बजेट आयो, त्यसको मात्र हिसाब किताब हुन्छ’, डा.महतले भने, ‘हाम्रा सांसदहरूको प्रश्न पनि त्यसैमा केन्द्रित रहन्छ ।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया