भ्रष्टाचार विरोधी अभियन्ता भरत र रविकी पत्नी उपाध्यक्ष रहेको संस्थाले ५ करोड ठग्यो, बालेनको टेबुलमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडल लामिछाने उपाध्यक्ष रहेको ‘साइ स्वागत बचत तथा ऋण सहकारी संस्था’ले ५ करोड ठगी गरेको छ ।

सहकारीविरुद्ध काठमाडौं महानगरपालिकामा कारबाहीको माग गरेर उजुरी परेको छ । लामिछानेकी पत्नी निकिता नेपाल चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष पनि हुन् । निकिताको सहकारीले बचतकर्ताको ५ करोड बराबरको रकम फिर्ता नगरेको उजुरीमा उल्लेख छ ।

काठमाडौं महानगरपालिकाका सहकारी विभाग प्रमुख बलराम त्रिपाठीले ‘साइ स्वागत बचत तथा ऋण सहकारी संस्था’विरुद्ध रकम फिर्ता नगरेको भनेर उजुरी परेको बताएका छन् ।

‘साइ स्वागत बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष भरत जंगम हुन् । जंगम भ्रष्टाचारविरुद्धको अभियानका अभियन्ता हुन् । अरुलाई भ्रष्टाचार गरेको तथा ठगी गरेको भनेर आलोचना गर्दै आएका जंगम अध्यक्ष रहेको सहकारीले नै करोडौं रुपियाँ बचतकर्तालाई ठगी गरेको खुलासा भएको छ ।

काठमाडौं महानगरपालिकामा पेश भएको उजुरीमा उपाध्यक्षको नाम खाली राखिएको छ । निकिताले सो सहकारीबाट राजीनामा दिएको बताइएको छ । निकिताले राजीनामा दिएको भनिए पनि राजीनामा पत्र पेश गरिएको छैन ।

काठमाडौं महानगरपालिकाले ‘साइ स्वागत बचत तथा ऋण सहकारी संस्था’विरुद्ध आएको उजुरीका विषयमा छानविन शुरु गरेको जनाएको छ ।

अध्यक्ष जंगम र उपाध्यक्ष निकितासँग सहकारीको ठगी काण्ड र उजुरीका विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

Published : Monday, 2023 June 19, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया