नागरिकता विधेयकमा बबण्डर भइरहेका बेला दाङमा नागरिकता बनाउन कीर्ते, ८ जना पक्राउ

काठमाडौं । नागरिकताको माग गरेर आन्दोलन चलिरहेका बेला दाङमा प्रहरीले कीर्ते नागरिकताको कसूरमा ८ जनालाई पक्राउ गरेको छ ।

दाङको राजपुर गाउँपालिका वडा नं. ५ हथिया बस्ने ५६ वर्षीय ज्ञानबहादुर बिश्वकर्मा र उनकी श्रीमती जोगिनी बिश्वकर्माले नातीलाई छोरा बनाइ नागरिकता दिलाएको कसूरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

ज्ञानबहादुर र जोगिनीले आफ्नो छोरीको छोरा १९ वर्षीय नाती विवेक बिश्वकर्मालाई छोरा कायम गरी २०८०/०१/२७ गतेको दिन जन्मदर्ताको प्रमाण– पत्र बनाइदिएका थिए ।

सोही जन्मदर्ताको आधारमा राजपुर गाउँपालिका वडा नं. ५ को वडा कार्यालयबाट नेपाली नागरिकताको प्रमाण–पत्र बनाउनको लागि सिफारिस गरी ज्ञानेन्द्रबहादुर र जोगिनीले नाती विवेकलाई नागरिकता बनाइदिएका थिए ।

सोही सिफारिस अनुसार मिति २०८०/०१/२८ गतेको ईलाका प्रशासन कार्यालय लमही दाङबाट बुवा ज्ञानबहादुर बिश्वकर्मा र आमा जोगिनी बिश्वकर्मा कायम गरी विवेक बिश्वकर्माको नाममा नेपाली नागरिकता जारी भएको प्रहरीले जनाएको छ ।

उक्त नेपाली नागरिकता प्रमाण पत्रको सम्बन्धमा ईलाका प्रशासन कार्यालय लमही हुँदै जिल्ला प्रशासन कार्यालय दाङको मिति २०८०/०१/२४ गतेको पत्रबाट विवेक बिश्वकर्माले प्राप्त गरेको नेपाली नागरिकताको प्रमाण पत्रमा बाबु ज्ञानबहादुर बिश्वकर्मा मावली बाजे भएकाले कसूरमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई नागरिकता सम्बन्धि कसूरमा दाङ जिल्ला अदालतबाट म्यादथप गरी अनुसन्धान कार्य जारी रहेको विज्ञप्तिमा उल्लेख छ ।

नागरिकता कीर्तेको कसूरमा पक्राउ पर्नेहरूमा दाङको राजपुर गाउँपालिका वडा नं. ५ हथिया बस्ने ५६ वर्षीय ज्ञानबहादुर बिश्वकर्मा, १९ वर्षीय नेपाली नागरिकता प्रमाण पत्र बहाक विवेक बिश्वकर्मा, जन्मदर्ता बनाउँदा साक्षी बस्ने ५२ वर्षीया सवित्राकुमारी विश्वकर्मा, जन्मदर्ता बनाउँदा साक्षी बस्ने ३५ वर्षीया गौसरी बोहरा रहेका छन् ।

जन्मदर्ता बनाउँदा साक्षी बस्ने ४६ वर्षीया बुधिमाया घर्ती, जन्मदर्ता बनाउँदा साक्षी बस्ने ३६ वर्षीया मनकुमारी घर्ती, जन्मदर्ता बनाउँदा साक्षी बस्ने ५६ वर्षीया जोगिनी बिश्वकर्मा, जन्मदर्ता बनाउँदा साक्षी बस्ने १९ वर्षीय रमेश घर्ती रहेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2023 June 18, 8:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया