एमालेका सचिवका बाबु–छोराको कुरा सुनुवाइ भएन, राईले मागे रोटी

काठमाडौं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा १६ जना अभियुक्तहरूलाई सुन्धारास्थित केन्द्रीय कारागारमा राखिएको छ ।

शुक्रबार जिल्ला अदालत काठमाडौंको आदेशमा १६ जनालाई कारागार चलान गरिएको हो । उनीहरूलाई दुईवटा छुट्टाछुट्टै ब्लकमा आठ–आठजना राखिएको कारागार प्रशासनले जनाएको छ ।

पूर्वउप–प्रधानमन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई एउटै ब्लकमा राखिएको छ ।

रायमाझी र खाणलाई भद्र बन्दीगृहमा राखिएको केन्द्रीय कारागारका जेलर ललितकुमार बस्नेतले बताएका छन् । पूर्वउप–प्रधानमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी पनि भद्र बन्दीगृहको ब्लकमा राखिएको छ ।

एमालेका नेता रायमाझीले आफू र छोरा सन्दीपलाई एउटै कोठामा राखिदिन आग्रह गरेका थिए । रायमाझीको सो आग्रहलाई कारागार प्रशासनले अस्वीकार गरिदिएको छ ।

पूर्वगृहमन्त्री खाणका सहयोगी नरेन्द्र केसी, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, पूर्वसांसद आङटावा शेर्पा, बिचौलियाद्वय रामशरण केसी र गोविन्द चौधरीलाई भद्र बन्दीगृहमा राखिएको छ ।

पूर्वगृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, हरिभक्त महर्जन र सागर थुलुङ राईलाई केन्द्रीय कारागारको ब्लकमा राखिएको छ ।

अदालतको आदेशअनुसार १६ जनालाई फोटो खिचेर उनीहरूको अभिलेख दर्ता गराइएको छ ।

जेल प्रशासनसँग इन्द्रजित राईले खानेकुराका विषयमा चासो राखेका थिए । राईले आफू सुगरको बिरामी भएको भन्दै रोटीको व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

राईले भात नखाने भन्दै रोटी चाहिने माग राखेका छन् । राईलाई रोटीको व्यवस्था गरिदिने जेलर ललित बस्नेतले बताएका छन् । कैदी बन्दीले दैनिक ८० रुपियाँ भत्ता पाउँछन् । उनीहरूले सात सय ग्राम चामलको सुविधा पनि पाउँछन् ।

Published : Saturday, 2023 June 17, 10:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया