नक्कली भुटानी शणार्थी काण्डका दुई जना बाहेक सबैलाई कारागार चलान
काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकणका १६ जना आरोपीहरूलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले शुक्रबार नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने काण्डका १६ अभियुक्तलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि कारागार पठाउन अदालतले आदेश दिएको हो ।
अदालतले अभियुक्तमध्ये लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । नक्कली भुटानी शरणार्थी काण्डमा १२ जना अझै फरार छन् ।
पूर्वउप–प्रधानमन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण तथा बहालवाला सचिव (निलम्बित) टेकनारायण पाण्डेसहित १६ अभियुक्तलाई कारागारमा राखेर मुद्दा किनारा लगाउनेगरी अदालतले आदेश दिएको छ ।
अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँसहित १६ र मुद्दा दायर भएपछि नियन्त्रणमा लिइएका २ जना हाल न्यायिक हिरासतमा छन् ।
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ र फरार १४ गरी ३० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ठगी, संगठित अपराध, कीर्ते र राज्यविरुद्धको अपराध कसुरमा कैद, बिगो र जरिवाना मागदाबीसहित जेठ १० मा मुद्दा दायर गरेको थियो ।
२०७९ चैत १२ मा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टंक गुरुङलाई पक्राउ गरेपछि प्रहरीले अदालतबाट म्याद थप गरेर अघि बढाएको अनुसन्धानका क्रममा पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जना पक्राउ परेका थिए ।
रायमाझी, खाण, पाण्डे, राई र रिजालसहित गिरोहका नाइके दुलाल, भण्डारी, गुरुङ, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप, गिरोहका सदस्यहरू सागर राई, रामशरण केसी, खाण गृहमन्त्री हुँदा उनका स्वकीय सचिव रहेका नरेन्द्र केसी र गोविन्द चौधरी अनुसन्धानकै क्रममा पक्राउ परेका थिए ।
प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएर मुद्दा अदालतमा दर्ता भइसकेपछि प्रतिवादीमध्येका थप २ जना लक्ष्मी महर्जन र हरिभक्त महर्जन पक्राउ परेका थिए । महर्जनद्वय दम्पती हुन् ।
पक्राउ परेका १६ र थप १७ जनालाई फरार सूचीमा राखेर जिल्ला प्रहरी परिसर काठमाडौंले जेठ ८ मा राज्यविरुद्ध अपराधसहितका ३ कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
प्रहरीले प्रतिवादी बनाएका ३ जनाको विस्तृत हुलिया नखुलेका कारण उनीहरू प्रतिवादीको सूचीमा समेटिएनन् । उनीहरूलाई पछि कसुर खुलेबमोजिम हुने गरी बाँकीको हकमा चारवटा कसुरमा २८ करोड ८१ लाख रुपियाँ बिगो, ठगिएको रकम फिर्ता र कैद सजाय मागदाबीसहित मुद्दा दर्ता भएको थियो ।
मुद्दा दायर भएको २ दिनपछि जेठ १२ बाट अदालतले अभियुक्तहरूसँग थुनछेक बहसअघिको बयान लिएको थियो । जेठ १९ मा टुंग्याएकोमा त्यसको दुई दिनपछि २१ गतेबाट थुनछेक बहसका लागि इजलास बसेको थियो । त्यसको भोलिपल्ट २२ गतेबाट ३ दिनसम्म सरकारी वकिलले मुद्दाको पक्षमा बहस गरेकामा भोलिपल्टदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीहरूले बहस गरेका थिए ।
शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्त अच्युतमणि न्यौपानेसहितका सरकारी वकिल र जाहेरीकर्ताका कानुन व्यवसायीहरूले जवाफी बहस गरेका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया