प्रदीपले उचालेपछि तल्लोस्तरमा उत्रिए आले, बदनाम मान्छे बोक्दैनन् किराँती

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रेम आलेले सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीविरुद्ध जथाभावी बोलेर मर्यादाको उल्लंघन गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद आलेले पशुपतिनाथ मन्दिरको घ्याम्पे दानपेटिका चोरी गर्ने कोषका पदाधिकारीलाई मन्त्री किराँतीले संरक्षण गरेको आरोप लगाए ।

उनले भने, ‘मूर्ति तथा बहुमूल्य सामग्री चोरिएको छ । कोषको अध्यक्ष, मन्त्री, पदाधिकारी मस्त निद्रामा छन् ।’

‘गोठाटारको ५ सय ३५ रोपनी जग्गामध्ये ५ सय ४ रोपनी मात्र हालसाबिक गरेर ३१ रोपनी जग्गा बिचौलियाहरूको मिलेमतोमा अपचलन गरी त्यही अपचलनमा मुछिएकालाई कोषको सदस्यमा नियुक्ति दिइएको छ’, आलेले भनेका छन् ।

‘गोठाटारको सार्वजनिक जग्गा हडपेको विरोध गर्ने कोषका सदस्यहरू विश्वकरण जैन, पूर्णबहादुर जेठारालाई पदबाट हटाउनका लागि यही जेठ २५ गते स्पष्टीकरण सोधिएको छ’, उनले भनेका छन् ।

सांसद आलेले नेपाल वायुसेवा निगम महालेखा परीक्षकको रिर्पोट अनुसार नेपाल वायुसेवा निगमको घाटा १ अर्ब ७० करोड रहेको बताए ।

उनले ऋण ५० अर्ब नाघिसकेको बताउँदै ३ महिनामा निगमले ४ अर्ब नाफा कमायो भनेर पर्यटनमन्त्री किराँतीले संचार मध्यममा झुट बोलेको बताए ।

आले पूर्व सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुन् । उनले आफ्नो कार्यकालमा पर्यटन मन्त्रालय र मातहतका विभाग तथा प्राधिकरणहरूलाई दुहुनो गाई बनाएका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारीलाई घुमाउरो बाटोबाट नियुक्त गरेर आले विवादमा आएका थिए । पर्यटन मन्त्रालयमा आलेका विभिन्न स्वार्थहरू जोडिएका छन् । आले र महानिर्देशक अधिकारीबीच व्यावसायिक साझेदारी छ भनेर आलोचना पनि हुने गरेको छ ।

महानिर्देशक अधिकारीलाई मन्त्री किराँतीले रुचाएका छैनन् । अधिकारी कै उक्साहटमा सांसद आलेले संसदमा मन्त्री किराँतीविरुद्ध जथाभावी बोलेको आरोप छ ।

महानिर्देशक अधिकारीले मन्त्री किराँतीलाई हटाउँछु भनेर आन्तरिक गतिविधि गर्दै आएका छन् । अधिकारीकै डिजाइनमा आलेले जथाभावी बोल्दै आएका छन् । अधिकारीले आलेलाई दाइ भनेर सम्बोधन गर्दै आएका छन् ।

केही दिन अगाडि प्रधानमन्त्री भारत भ्रमण जाने क्रममा पनि महानिर्देशक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठविरुद्ध निकै तल्लोस्तरको शब्दावली प्रयोग गरेर गालीगलौज गरेको प्रत्यक्ष रुपमा सुन्ने एक कर्मचारीले बताएका छन् ।

सांसद श्रेष्ठले प्राधिकरणका महानिर्देशक अधिकारीको विरोध गरेकी थिइन् । सांसद श्रेष्ठले आफ्नो विरोध गरेको अधिकारीलाई मन परेको थिएन ।

Published : Thursday, 2023 June 15, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया