देउवाको निर्देशनमा बोल्ड निर्णय, जनकपुरका मेयर कांग्रेसमै फर्किए

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख मनोजकुमार साहमाथिको कारबाही फुकुवा गरेको छ ।

कांग्रेसभित्रको साबिक पदलाई निरन्तरता दिँदै साहमाथिको कारबाही फुकुवा गरिएको हो ।

स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट विद्रोही भएका उम्मेदवार, उनका प्रस्तावक र समर्थकलाई कांग्रेस पार्टीको विधान २०१७ (संशोधनसहित) धारा ३४ बमोजिम साधारण सदस्यसमेत नरहने गरी पार्टीले कारबाही गरेको थियो ।

पार्टीको आदर्श, सिद्धान्त र उद्देश्य अंगीकार गर्दै पार्टीमा पुन: क्रियाशील रहने प्रतिबद्धता जनाउँदै साहले सोमबार निवेदन दिएका थिए ।

कांग्रेस केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने गरी उनको साबिकको पदलाई निरन्तरता दिँदै कारबाही फुकुवा गरिएको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले जानकारी दिए ।

साह यसअघि कांग्रेसको जनकपुरधाम नगर सभापति थिए । साहले स्थानीय तहको निर्वाचनका क्रममा ९ वैशाख ०७९ मा नगर सभापति पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनको प्रस्तावकमा नन्दलाल साह र समर्थक रामप्रसाद पजियार थिए ।

निर्वाचनका दौरान गठबन्धनले जनकपुरधाम जनता समाजवादी पार्टीलाई दिने निर्णय गरेपछि असन्तुष्टि जनाउँदै साहले कांग्रेस परित्याग गर्दै नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । पार्टी परित्याग गरेर उम्मेदवारी दिए पनि निर्वाचनमा उनी विजयी भएका हुन् ।

सभापति शेरबहादुर देउवाले साहको कारबाही फुकुवा गर्न आदेश दिएका थिए । देउवाको आदेशपछि अनुशासन समितिले साहसहितका नेताहरूविरुद्धको कारबाही फिर्ता गरेको छ ।

Published : Tuesday, 2023 June 13, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया