मन्त्री नपाएको झोँक निकाले, गगन-प्रदीपले किन कांग्रेसकै अर्थमन्त्रीले ल्याएको बजेटको विरोध गरे ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगनकुमार थापाले सरकारको आर्थिक वर्षको बजेटको आलोचना गरेका छन् ।

आइतबार आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा सहभागी हुँदै थापाले बजेटको आलोचना गरेका हुन् । उनले बजेटलाई समर्थन गर्ने बाध्यता रहेको भन्दै बजेट बास्तविकतामा नरहेको बताएका छन् ।

अर्थमन्त्री कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत छन् । आफ्नै पार्टीको अर्थमन्त्रीले ल्याएको बजेटलाई विपक्षमा रहेका कम्युनिस्टहरूले जस्तै गरेर बजेटको आलोचना गरेका हुन् । उनले ऐन, नियम, कानून संशोधन गर्नुपर्ने बताएका छन् ।

एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाका सांसदहरूले बजेटको सबैभन्दा धेरै विरोध गरिरहेका छन् । उनीहरूकै स्वरमा स्वर मिलाएर कांग्रेसका सांसद थापाले बजेटको आलोचना गरेका हुन् ।

सांसद थापाले आफ्नै पार्टी कांग्रेसले ल्याएको बजेटको विरोधमा किन यसरी धुँवाधार विरोधमा उत्रिएका हन् कांग्रेसकै सांसदहरूले बुझ्न सकेका छैनन् ।

सांसद थापाकै बाटोबाट कांग्रेसका सांसद प्रदीप पौडेलले पनि बजेटको धुँवाधार विरोध गरेका छन् ।

सांसदद्वय थापा र पौडेलले अर्थमन्त्री डा.महतले ल्याएको बजेटको करको व्यवस्था र राजश्वका विषयमा पनि आपत्ति जनाएका छन् ।

सभापति शेरबहादुर देउवाविरुद्ध सार्वजनिक रुपमा गालीगलौजमा उत्रिएका गगन–प्रदीपहरूले सरकारलाई कमजोर बनाउन संसदमै बजेटको आलोचना गरेको आरोप छ । कांग्रेसकै अर्थमन्त्रीले ल्याएको बजेटको विरोध गरेर एमाले, रास्वपा र राप्रपासहित विपक्षमा बसेका दलहरूलाई खुसी बनाएका छन् ।

मन्त्री बन्न तछाड मछाड गरेका गगन–प्रदीपले भाग नपाएपछि सभापति देउवाविरुद्ध आक्रामक बनेका छन् । उनीहरूले अहिलेको सरकारको बचाउ गर्नेभन्दा पनि विरोध गर्दै आएका छन् । आफ्नै सरकारको बचाउ गर्नुपर्नेमा गगन–प्रदीपको गतिविधिले कांग्रेसलाई कमजोर बनाएको आरोप छ ।

Published : Sunday, 2023 June 11, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया