कांग्रेसको शुभेच्छुक संस्थाको अध्यक्षमा केसी दुईतिहाईभन्दा धेरै मतले निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस निकटका कानून व्यवसायीहरूको संस्था नेपाल डेमोक्र्याटिक लयर्स एसोसिसन (डीएलए)को अध्यक्षमा वरिष्ठ अधिवक्ता सीताराम केसी दुईतिहाई मतका साथ निर्वाचित भएका छन् ।

केसीले अध्यक्ष पदमा आफ्ना निकटम प्रतिद्वन्द्वी लक्ष्मीदेवी दाहाल रावललाई निकै फराकिलो मतको अन्तरमा हराइदिएका हुन् ।

अध्यक्षमा निर्वाचित केसीले ६५३ मत पाएका छन् । निकटम प्रतिद्वन्द्वी लक्ष्मीदेवी दाहाल रावलले १७७ मत पाएकी थिइन् ।

अध्यक्ष पदमा पाँच जनाले प्रतिस्पर्धा गरेका थिए । अध्यक्ष पदमा पराजित भएकी रावल निर्वतमान महासचिव हुन् ।

अध्यक्ष पदका प्रत्याशी लक्ष्मण थपलियाले ५५, केदार कार्कीले १३० र कृष्ण घिमिरे ‘भुषण’ले ५३ मत पाएका थिए ।

चितवनको रत्ननगरमा शुक्रबारदेखि डीएलएको ११औँ महाधिवेशन शुरु भएको थियो । शनिबार मतदान भएको थियो । आइतबार बिहानै परिणाम आएको छ ।

वरिष्ठ उपाध्यक्षमा जगन्नाथ ढकाल र महिला उपाध्यक्षमा कविता थापा कार्की विजयी भएका छन् ।

कोशी प्रदेशबाट उपाध्यक्षमा कविता बस्नेत, मधेश प्रदेशबाट उपाध्यक्षमा रमानन्द साह, गण्डकी प्रदेशबाट उपाध्यक्षमा भूमिश्वर शर्मा गौतम, लुम्बिनी प्रदेशबाट उपाध्यक्षमा विष्णुप्रसाद धिताल, कर्णाली प्रदेशबाट उपाध्यक्षमा पदमबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट उपाध्यक्षमा गंगाराम उपाध्याय निर्विरोध निर्वाचित भएका छन् ।

बागमती प्रदेशको उपाध्यक्षमा पदमा सहमति हुन नसकेपछि निर्वाचन भएको थियो । निर्वाचनमा जनकराज श्रेष्ठ निर्वाचित भएका छन् ।

महासचिवमा ज्ञानेन्द्रप्रसाद अधिकारी, सचिवमा शिवप्रसाद रेग्मी, महिला सचिवमा धनमाया राना र कोषाध्यक्षमा हरिबहादुर बस्नेत निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यहरूमा अफ्ताब आलम, गोविन्दराम परियार, प्रवीण महर्जन, सतेन्द्र प्रजापती, अमितकुमार कर्ण, सुनिल पाण्डे, दीपेन्द्र अधिकारी, प्रदीप कार्की, दामोदर तिमिल्सिना ‘चिरन’, किरण पौडेल, चक्रबहादुर थापा, दुर्गाप्रसाद पोखरेल, प्रज्वल अधिकारी, विनोद अधिकारी निर्वाचित भएका छन् ।

हरिप्रसाद रेग्मी, हरिप्रसाद पन्त, विष्णुकुमारी शर्मा, भरतबहादुर सिंह, सीता रेग्मी योन्जन, मन्दिरा अधिकारी, बसुन्धारा थापा, मनमाया पाठक, अमलराज शाही र विष्णु खनाल पनि सदस्यमा निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिको तीन वर्षे कार्यकाल रहनेछ । देशभर झण्डै १६ सय महाधिवेशन प्रतिनिधिहरू रहेका छन् । ११ सयले मात्र मत हालेका थिए ।

निर्वाचनमा केही महत्वपूर्ण पदमा बाहेक अधिकांश पदमा सहमति भएको थियो ।

Published : Sunday, 2023 June 11, 10:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया