बालकृष्ण खाणको पक्षमा यी बलिया आधारहरू देखिए
काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफूलाई लागेको अभियोगमा कुनै सत्यता नरहेको भन्दै सफाइको माग गरेका छन् । शुक्रबार जिल्ला अदालत काठमाडौंमा दिएको बयानमा खाणले जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंले सरकारी वकिलको कार्यालयमार्फत लगाएको अभियोगको प्रतिवाद गरेका हुन् ।
खाणलाई बयानका क्रममा लामो प्रश्न गरिएको छ । ‘तपाईंउपर मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) अन्तर्गतको कसुरमा सोही संहिताको दफा २४९ को उपदफा (३) को खण्ड (ग) बमोजिम सजाय हुन, मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ को उपदफा (१) र (२) बमोजिमको कसुरमा सोही संहिताको दफा २७६ को उपदफा (३) (ग) बमोजिम सजाय हुन, मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ को उपदफा (१) र (२) को खण्ड (क) बमोजिम राज्यविरुद्धको कसुरमा सोही संहिताको दफा ५१ को उपदफा (क) को देहाय (क) बमोजिम सजाय हुन र संगठित अपराध निवारण ऐन, २०७० को दफा (३) को उपदफा (१) (२) र (३) को खण्ड (क) तथा दफा (५) बमोजिमको कसुरमा सोही ऐनको दफा (९) को खण्ड (क) र (ग) बमोजिम सजाय हुन र मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को उपदफा (१) बमोजिमको कसुरमा सोही संहिताको दफा ४३ को उपदफा (२) बमोजिम सजाय हुन समेतको अभियोग माग दाबी लिइएको छ र जाहेरवालाहरूको अठ्ठाइस करोड एकासी लाख चौहत्तर हजार रकमसमेत तपाईं समेतबाट दिलाई भराई दिनसमेतको अभियोग माग दाबी लिइएको अभियोगपत्र छ । सो अभियोग माग दाबीबमोजिम तपाईंलाई सजाय हुनुपर्ने हो/होइन ? र, जाहेरवालाहरूको रकम तपाईंसमेतले फिर्ता दिनुपर्ने हो वा होइन ? सम्पूर्ण बेहोरा खुलाइदिनुहोस्’ भनेर प्रश्न गरिएको छ ।
बयानमा खाणले भनेका छन्, ‘मैले मउपर दायर भएको अभियोग माग दाबी सुनी पाएँ । मविरुद्ध लगाइएका सबै अभियोग माग दाबीहरू कपोकल्पित र झुटा हुन् । मेरो व्यक्तिगत र राजनीतिक जीवन सिध्याउन राज्यले रचेको षड्यन्त्र हो । माथि अभियोगमा दाबी लिइएको कुनै पनि कसुरमा मेरो कहीँ कतै संलग्नता छैन ।’
उनले भनेका छन्, ‘यी कसुरहरू गर्नमा कसैलाई प्रोत्साहन र प्रेरित गरेको छैन । जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता, जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृत प्रहरी उपरीक्षकले ठगीको कसूर र संगठित अपराधको कसुरमा बयान लिएर अन्य कसुर र राज्यविरुद्धको कसुरमा समेत अभियोग लगाइएको छ । यो सरासर स्वच्छ सुनुवाइ र प्राकृतिक न्यायको सिद्धान्तविपरीत हो । मलाई फसाउने उद्देश्यले यी सबै झुट्टा आरोप र मुद्दाहरू लगाइएका हुन् । यस सम्बन्धमा मैले न्यायमूर्तिसँग न्यायको याचना गर्दछु । उक्त कसुरमा मेरो संलग्नता नरहेको हुँदा अभियोग माग दाबीबाट फुर्सद दिलाइपाऊँ । सफाई पाऊँ ।’
तपाईं आज अदालतमा किन आउनुभएको हो ? भनेर सोधिएको बयानमा खाणले भनेका छन्, ‘गजेन्द्र बुढाथोकी समेतको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी मसमेत भएको ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र संगठित अपराध मुद्दामा अभियोगपत्रसाथ बयानको लागि उपस्थित भएको हुँ ।’
तपाईंलाई तपाईंउपर लागेको अभियोग सुनाइन्छ, सो अभियोग उपर बयान दिन कर छैन, तपाईंंले दिएको दयान तपाईंकोविरुद्धमा प्रमाण लाग्नसक्छ, तपाईं बयान दिन तयार हुनुहुन्छ ? भनिएको छ । जवाफमा खाणले भनेका छन्, ‘म बयान दिन तयार छु । मेरो बयान गरी पाऊँ ।’
प्रतिवादीहरूमध्ये ककसलाई चिन्नुहुन्छ ? निजहरूसँग लेनदेन रिसइबी, झगडा छ, छैन ? भनेर प्रश्न गरिएको छ । खाणले जवाफमा भनेका छन्, ‘प्रतिवादीहरूमध्ये म टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, नरेन्द्र केसी, शमशेर मियाँ र आङटावा शेर्पालाई चिन्दछु । टोपबहादुर रायमाझीलाई राष्ट्रिय नेता भएकोले, टेकनारायण पाण्डे सचिव भएकोले, नरेन्द्र केसी मेरो पहिलाको निजी सचिव भएको कारणले, शमशेर मियाँलाई हज कमिटीको अध्यक्ष भएको कारणले र आङटावा नेपाली कांग्रेसको नेता भएको कारणले चिन्दछु । चिनेका प्रतिवादीहरूमध्ये कसैसँग लेनदेन, रिसइबी र झैझगडा छैन । अरु प्रतिवादीहरूलाई म चिन्दिनँ । नचिनेका प्रतिवादीहरूसँग रिसइबी र झैझगडा हुने कुरा नै भएन ।’
जाहेरवाला गजेन्द्र बुढाथोकीसमेत विभिन्न जाहेरवालाहरूले तपाईं समेतको योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भनी रकम लिई अमेरिका नपठाई रकम फिर्तासमेत नगरी ठगी गरेको भने बेहोराहरू उल्लेख गरी जाहेरी दिएका छन् । सो सम्बन्धमा तपाईंलाई के थाहा छ ? को को भई के कसरी जाहेरी दरखास्तमा उल्लेख गरेअनुसारको कसुर गर्नुभएको हो ? खुलाइदिनुहोस् भनेर प्रश्न गरिएको छ ।
खाणले जवाफमा भनेका छन्, ‘गजेन्द्र बुढाथोकी समेतका कुनै पनि जाहेरवालाहरूलाई म चिन्दिनँ । मैले चिन्दैन नचिनेका र मसँग कुनै सम्पर्क नै नभएका व्यक्तिहरूसँग ठगी गरेको भन्ने जाहेरी बेहोरा झुट्टा हो । सो सम्बन्धमा मलाई कुनै जानकारी नै छैन । ममाथि लगाइएको उक्त आरोप नियोजित र कपोकल्पित छ ।’
तपाईंलाई सहप्रतिवादीहरू केशवप्रसाद दुलाल, सानु भण्डारी, नरेन्द्र केसी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टेकनाथ रिजालसमेतका प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान तथा थप बयानसमेत पढी वाची सुनाइन्छ । निजहरूले गरेको उक्त बयानहरूको सम्बन्धमा तपाईंको के भनाइ छ ? खुलाइदिनुहोस् भनेर प्रश्न गरिएको छ ।
खाणले जवाफमा भनेका छन्, ‘प्रतिवादी टेकनारायण पाण्डेले अनुसन्धानको क्रममा थप बयानमा लेखाएबमोजिम मसँग केशवप्रसाद दुलालको प्रत्यक्ष भेटघाट भएको भनिएको कुरा झुट्टा हो । कसैमार्फत उनीसँग मेरो कुराकानी र लेनदेन भएको भन्ने कुरा सरासर झुट्टा हो । टेकनाथ रिजालको अनुसन्धानको क्रममा भएको बयान बेहोरा सम्बन्धमा मलाई कुनै जानकारी भएन । प्रतिवादी नरेन्द्र केसीले अनुसन्धानको बयानमा खुलाएबमोजिमको कागजको सम्बन्धमा को कसलाई किन लेखिएको हो, मलाई कुनै जानकारी भएन । प्रतिवादी आङटावाको अनुसन्धानको बेहोरा सम्बन्धमा मलाई कुनै जानकारी छैन ।’
प्रतिवादी आङटावा शेर्पाले गर्नुभएको कागज बेहोरा सम्बन्धमा तपाईंको भनाइ के छ ? खुलाइदिनुहोस् भनेर प्रश्न गरिएको छ ।
जवाफमा खाणले भनेका छन्, ‘प्रतिवादी आङटावा शेर्पाले लेखाउनुभएको कागज बेहोरा सुनी पाएँ । सो सम्बन्धमा आङटावा शेर्पासँग मेरो कुनै कुरा पनि भएको छैन र बयान बदल्न पनि लगाएको छैन । मैले पीडितलाई रकम फिर्ता गर्न भनी नरेन्द्र केसीमार्फत आङटावा शेर्पालाई रकम दिएको भन्ने बेहोरा झुट्टा हो । उहाँले केका आधारमा कागजमा यस्तो बेहोरा लेखाउनुभयो, सो सम्बन्धमा जानकारी भएन ।’
अनुसन्धानका क्रममा बुझिएका बालकृष्ण पन्थी, सागरमणि पाठक फणिन्द्रमणि पोखरेल समेतका व्यक्तिहरूले अनुसन्धानको क्रममा गरेको कागज बेहोरा पढी वाची सुनाइन्छ । निजहरूको भनाइ बेहोरा के कसो हो ? खुलाइदिनुहोस् भनेर प्रश्न गरिएको छ ।
जवाफमा खाणले भनेका छन्, ‘बुझिएका व्यक्तिहरू बालकृष्ण पन्थी, सागरमणी पाठक र फणिन्द्रमणि पोखरेलको कागज सम्बन्धमा मलाई कुनै जानकारी भएन ।’
मिसिल संलग्न रहेको गृह मन्त्रालयको च.नं. ८४० मिति २०८०/०१/२६ को पत्रसाथ प्राप्त भएको भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदन र गृहमन्त्रालयको च.नं. ८४३ मिति २०८०/०१/२६ को पत्रसाथ प्राप्त प्रतिवेदन तपाईंलाई देखाइन्छ । दुवै प्रतिवेदन एकै बेहोराका हुन् वा फरक हुन्, के कसो हो ? खुलाइदिनुहोस् भनेर प्रश्न गरिएको छ ।
खाणले जवाफमा भनेका छन्, ‘गृह मन्त्रालयबाट एउटै मितिमा फरक–फरक चलानीमा प्राप्त भएको उक्त प्रतिवेदनहरू हेरी पाएँ । प्रतिवेदनका सम्बन्धमा मलाई कुनै जानकारी भएन । मन्त्रालयको कागजपत्र, प्रतिवेदन र विविध लिखतहरू राख्ने र सुरक्षा गर्ने सम्बन्धित महाशाखा र शाखाहरूको जिम्मेवारी हो । उक्त प्रतिवेदनहरू सम्बन्धमा मलाई कुनै जानकारी भएन ।’
तपाईंलाई प्रेमराज पन्थीको जाहेरी दरखास्त देखाइन्छ, जाहेरी सम्बन्धमा तपाईंको भनाइ के छ ? खुलाइदिनुहोस् भनिएको छ ।
जवाफमा खाणले भनेका छन्, ‘प्रेमराज पन्थीलाई म चिन्दिनँ । केशव दुलाललाई समेत म चिन्दिनँ । उनीहरूको बीचमा के कस्तो कुराकानी र लेनदेनको कुरा हुन्थ्यो, सो कुरा मलाई जानकारी हुने विषय नै भएन। यसमा म संलग्न छैन । सो जाहेरी दरखास्त सम्बन्धमा मलाई कुनै जानकारी भएन ।’
अनुसन्धानका क्रममा ना.सु. सुरेन्द्रराज दाहालले मिति २०८०/०१/२४ मा गरेको कागज पढी वाची सुनाइन्छ, के कसो हो ? खुलाइदिनुहोस् प्रश्नमा भनिएको छ ।
खाणले जवाफमा भनेका छन्, ‘अनुसन्धानका क्रममा ना.सु.सुरेन्द्रराज दाहालले गरेको कागज बेहोरा सुनी पाएँ । सुरेन्द्रराज दाहाललाई मैले चिनेको र कहिल्यै कुनै काम गर्दिनू पनि भनेको छैन । कर्मचारी सरुवा सम्बन्धमा नेपाल सरकार गृह मन्त्रालयको स्पष्ट नीति छ । विभागीय प्रमुख, प्रथम श्रेणीका अधिकृतहरू र प्रमुख जिल्ला अधिकारीहरूको सरुवा मन्त्रीस्तरबाट हुन्छ । तत् मातहत कर्मचारीहरूको सरुवा विभिन्न तहहरूबाट हुन्छ । तसर्थ ना.सु. सुरेन्द्रराज दाहालको सरुवा मैले गरे/गराएको होइन । उनको रमाना पदस्थापनका लागि पनि कुनै अधिकृतलाई भनेको छैन ।’
गृह मन्त्रालयको च.नं.८४३ मिति २०८०/०१/२६ को पत्रसाथ प्राप्त प्रतिवेदनमा प्रतिवेदनको पृष्ठ ३ को ६ नं. बुँदामा अन्तिम वाक्यको बेहोरा थप गरेको; पृष्ठ १० को २.५ नं. बुँदामा फरक बेहोरा देखिएको, पृष्ठ १३ को क्र.नं.(क.अ.) नं १४ को ग नं. को दोस्रो पाराग्राफको पृष्ठ १६ को ३.६३.६.१ र ३.६.२ पृष्ठ नं. १७ र पृष्ठ नं.१८ को अन्तमा निष्कर्ष बेहोरा फेरबदल भएको प्रतिवेदन गृह मन्त्रालयको च.नं. ८४३ मिति २०८०/०१/२६को पत्रसाथ प्राप्त भएको देखिन्छ । ती दुई प्रतिवेदनहरूमध्ये कुन प्रतिवेदन आधिकारिक हो ? खुलाइदिनुहोस् प्रश्नमा भनिएको छ ।
खाणले जवाफमा भनेका छन्, ‘प्रतिवेदनको सम्बन्धमा मलाई कुनै जानकारी भएन । मन्त्रालयको कागजपत्र, प्रतिवेदन र विविध लिखतहरू राख्ने र सुरक्षा गर्ने सम्बन्धित महाशाखा र शाखाहरूको जिम्मेदारी हो । तसर्थ प्रतिवेदनना फेरबदल भएका बुँदाहरूका सम्बन्धमा राख्नेहरूले नै जिम्मेवारी लिनुपर्ने हो । परिवर्तन सम्बन्धमा सलाई थाहा हुने कुरा भएन ।’
काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका बडा नं. ७ मैजुबहालमा रहेको श्यामजंग सिजापतीको घरमा भाडामा बस्ने बालकृष्ण खाणको कोठा खानतलासी गर्दा कोठामा खैरो रंगको नोटबुक थान–१, कालो रंगको डायरी थान ३, आइप्याड थान–२, सम्पति विवरण फारम पाना–३८, च्यातिएर ३ टुक्रा पारिएको कागज जोड्दा नरेन्द्रजीसमेत लेखिएको भनी लेखिएको कागजको टुक्रा पारिएको कागज फेला परेको भन्नेसमेत बेहोराको बरामदी खानतलासी मुचुल्का मिसिल सामेल रहेको देखिन्छ । सो बरामदी मुचुल्काको बेहोरा के कसो हो ? खुलाइदिनुहोस् भनिएको छ ।
जवाफमा खाणले भनेका छन्, ‘खैरो रंगको नोटबुक थान–१ कालो रंगको डायरी थान– ३, आइप्याड थान– २, सम्पत्ति विवरण फारम पाना– ३८ बरामद भएको साँचो हो । च्यातिएको कागज टुक्रा सम्बन्धमा मलाई कुनै जानकारी भएन ।’
तपाईंलाई हिरासतबाट टेकनारायण पाण्डेले तपाईंले पीडितलाई रकम फिर्ता गर्नुपर्ने र प्रतिवादी केशवप्रसाद दुलाल र सानु भण्डारीलाई इन्कारी बयान गर्न लगाउनुभएको भन्ने बेहोराको लिखत मिसिल सामेल रहेको देखिन्छ । सो सम्बन्धमा तपाईंको भनाइ के छ ? भनेर प्रश्न सोधिएको छ । जवाफमा खाणले भनेका छन्, ‘यस बारेमा मैले कसैलाई केही भनेको छैन ।’
तपाईंको परिवारमा कति सदस्य हुनुहुन्छ ? आर्थिक अवस्था सम्बन्धमा खुलाइदिनुहोस् भनेर प्रश्न सोधिएको छ ।
जवाफमा खाणले भनेका छन्, ‘मेरो परिवारमा म, श्रीमती, छोरा, छोरी र मेरो आमा गरी पाँचजनाको सदस्य छौँ । बुटवलमा एउटा घर छ । सो घरबाट घरभाडा आउँछ । जग्गा जमिनबाट पनि भाडा आउँछ । जग्गा जमिनबाट केही कृषिजन्य उत्पादन हुन्छ । काठमाडौं अनामनगरमा एउटा पुरानो घर छ । सोबाट समेत भाडा आउँछ । कोटेश्वरको सुविधानगरमा भएको जमिनबाट भाडा आउँछ । यी आम्दानीहरूबाट हाम्रो जीवन सहजसँग चलेको छ ।’
खाणले भनेका छन्, ‘सेवन गरिरहे पनि हालसम्म मैले राज्यकोषबाट उपचार खर्चसमेत लिएको छैन । म ईश्वरमा विश्वास गर्दछु । धार्मिक प्रवृत्तिको व्यक्ति हुँ । जनतालाई झुक्याउने, अनुचित लाभ लिने कुनै कार्य गर्नेबारे सोच्न पनि सक्दिनँ ।’ माथि उल्लिखित बेहोरा पढी वाची सुनाइन्छ । बेहोरा कसो भयो ? खुलाइदिनुहोस् भनेर प्रश्न सोधिएको छ । खाणले जवाफमा भनेका छन्, ‘माथि लेखिएका सबै बेहोरा मैले भनेबमोजिम लेखिएको हो ।’
खाणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न लाञ्छना लगाएर समाचार बाहिर आएका थिए । ती समाचारलाई खण्डन गर्ने गरेर खाणको बयानमा अदालतमा आएको छ ।
खाणको बयान हेर्दा आरोपहरू पुष्टि बलियो आधार छैन । तर, प्रहरी के–के प्रमाणहरू संकलन गरेर अदालतमा पेश गरेको छ ? त्यसमा भर पर्नेछ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया