भुटानी शरणार्थी प्रकरणमा एसएसपी कार्कीको के छ योजना ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

सोमबार प्रहरीले वकिलको कार्यालयमा बुझाएको हो । ११३ जना पीडित रहेको प्रहरीको अनुसन्धानको निष्कर्ष छ ।

पीडितहरूबाट २३ वटा जाहेरी परेको छ । २७ करोड ५० लाख ७४ हजार ५०० रुपियाँ बिगो कायम गरिएको छ ।

सरकारी वकिलको कार्यालयले अध्ययन गरिरहेको सो प्रतिवेदनमा ३२ जनालाई अभियुक्त बनाइएको छ । यसलाई सरकारी वकिलको कार्यालयले अध्ययन सकेपछि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर हुनेछ ।

बुधबारसम्ममा मुद्दा दायर गर्नेगरी प्रक्रिया अघि बढाइएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी दानबहादुर कार्कीले नक्कली भुटानी शरणार्थी प्रकरणमा २३ थान जाहेरी परेको बताएका छन् ।

सोही जाहेरीको आधारमा प्रहरीले हालसम्म १६ जनालाई पक्राउ गरेको छ । बाँकी १६ जना फरार छन् ।

वकिल कार्यालयलाई बुझाएको प्रतिवेदनमा प्रहरीले ठगी, राज्यविरुद्धको कसुर, संगठित अपराध र एकीकृत कसूरविरुद्धको सजायमा मुद्दा चलाउन राय दिएको छ ।

यसबाहेक बयानका क्रममा प्रतिवादीहरूले पोलेका तर तत्काल प्रमाण जुटाउन नसकिएका अन्य ७ जना रहेका छन् ।

उनीहरूलाई संगठित अपराध ऐन २०७० को दफा २२ र फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम जुनसुकै बेला पक्राउ गर्न सकिने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीका निजी सचिव राजेश बज्राचार्यसहितको समेत नाम यो प्रकरणमा जोडिएको छ । प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिहाल्ने प्रमाण भने फेला पारेको छैन ।

मुद्दा अभियोजनका लागि सह–न्यायाधिवक्ता अच्युतमणि न्यौपानेको संयोजकत्वमा ८ जना सरकारी वकिलहरू खटिएका छन् ।

प्रहरीले सोमबार बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन सकेर बुधबारसम्ममा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्ने तयारी भएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता नेउपानेले जानकारी दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धानका लागि काठमाडौं प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई पत्र पठाएको छ ।

सार्वजनिक पद धारण गरेका बालकृष्ण खाण, टोपबहादुर रायमाझी, इन्द्रजित राई, टेकनारायण पाण्डे लगायतका व्यक्तिहरूको भ्रष्टाचारको विषयमा थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले अख्तियारलाई पत्र पठाएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) कार्कीका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरण मुछिएका सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले भ्रष्टाचार गरेको सम्बन्धमा थप छानबिनका लागि परिसरले अख्तियारलाई पत्र पठाएको हो ।

त्यसैगरी सार्वजनिक पद धारण नगरेका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा लगायतका बिचौलियाहरूको हकमा अकुत सम्पत्तिमा छानबिनका लागि परिसरले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत पत्र पठाएको छ ।

प्रहरीले सीमित समय र अनुसन्धानको दायरा फराकिलो बनाउन नसकेको र कतिपय विषय आफ्नो क्षेत्राधिकारभन्दा बाहिर रहेको भन्दै उनीहरूको सम्पत्तिको छानबिन तथा भ्रष्टाचारका सम्बन्धमा थप अनुसन्धानका लागि अख्तियार र सम्पत्ति शुद्धीकरण विभागलाई गुहारेको छ ।

Published : Monday, 2023 May 22, 11:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया