पूर्वगृहमन्त्री खाणको मोवाइलमा केही पनि भेटिएन, बयानमा के भने ?
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको मोवाइलबाट प्रहरीले आरोप पुष्टि हुने प्रमाण भेटाएको छैन ।
वैशाख १७ गते चाबहिलको मैजुबहालस्थित निवासबाट पक्राउ परेका खाणमाथि लगाइएको आरोप पुष्टि गर्ने प्रमाण खोज्न प्रहरीले मोबाइल नियन्त्रणमा लिएको थियो ।
मोवाइलमा हेर्दा नक्कली भुटानी शरणार्थी प्रकरणबारे कुनै विषयबस्तु तस्बिर ग्यालरी, एसएमएस तथा उनले प्रयोग गर्ने ह्वाट्सएप, भाइबर तथा फेसबुक म्यासेन्जरमा नदेखिएपछि ‘डाटा रिमुभ’ गरेको आशंकामा प्रहरीले मोवाइलको ‘डाटा रिकभर’ गर्न प्रहरीको फरेन्सिक ल्यावमा पठाएको थियो ।
ल्यावमा ‘डाटा रिकभर’ गरेको प्रमाण अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरूसँग पनि गतसाताको पहिलो दिननै पुगेको थियो । रिकभर गरिएको डाटामा पनि आरोप पुष्टि हुने प्रमाण देखिएको छैन ।
खाण गृहमन्त्री हुँदाका सचिव टेकनारायण पाण्डेको मोवाइलमा ‘डाटा रिकभर’ गर्दा प्रमाण भेटिएपछि पुष्टि हुने प्रमाण भेटियो भनेर प्रचार गरेको प्रहरीले पूर्वगृहमन्त्री खाणको मोवाइलबाट भने केही प्रमाण फेला पार्न नसकेपछि मोवाइल ‘डाटा रिकभर’ गर्दा केही फेला नपरेको भनेर सार्वजनिक गरेको छैन ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं प्रहरी परिसरका मुद्दा शाखाका नायब प्रहरी उपरीक्षक (डीएसपी) निरञ्जन भट्टको नेतृत्वमा आधा दर्जन बढी प्रहरी निरीक्षकले अनुसन्धान गरिरहेका छन् ।
उच्च राजनीतिक नेतृत्वबारे अनुसन्धान भइरहेकाले नयाँ प्रहरी निरीक्षकहरूलाई अनुसन्धानमा संलग्न गराइएको छ ।
उनीहरूलाई मोवाइल, सामाजिक सञ्जाल र अन्यसँग भेटघाटबाट टाढा राखिएको प्रहरी परिसरका एक प्रहरी अधिकृतले बताए ।
खाणको मोवाइलमा कुनै तथ्य ‘डाटा रिकभर’मा पनि नभेटिएपछि गत सोमबार र मंगलबार सरकारी वकिल कार्यालय काठमाडौंमा भएको बयानका क्रममा ‘मोवाइलको ‘फ्याक्ट्री रिसेट’ गर्नुुभएछ, किन गर्नुभएको ?’ भन्ने प्रश्न गरिएको थियो ।
बयानमा सहभागी एक प्रहरी अधिकृतका अनुसार खाणले जवाफमा ‘म अलि पुरानो पुस्ताको हुँ । मैले सामान्य चलाउने बाहेक मोवाइलका प्राविधिक पक्ष धेरैमा जानकार छैन । तसर्थ तपाईंले भनेको विषयमा म जानकार छैन । जे छ त्यही मोवाइलमा छ हेर्नुस् न !’ भनेका थिए ।
प्रहरीले आइतबार सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको प्रतिवेदनमा यही वाक्यांश उल्लेख गरेको ती अनुसन्धान अधिकृतले बताए ।
खाणलाई नक्कली भुटानी शरणार्थी प्रकरणका विचौलिया केशव दुलाल र उनी गृहमन्त्री हुँदाका सचिव टेकनारायण पाण्डेले बयानका क्रममा नाम लिएको आधारमा पक्राउ गरेको थियो ।
उनीहरूले बयानका क्रममा बोलेका विषय प्रमाणमा पुष्टि हुन नसकेको अनुसन्धानमा संलग्नन अधिकारीहरू बताउँछन् । खाणले करिव ११ घण्टाको बयानका क्रममा पनि प्राय: प्रश्नको इन्कारी बयान दिएका छन् । प्रमाण खोजेर मुद्दा दायर गर्नुस् भन्ने जवाफ उनको रहेको बयानमा सहभागी एक अधिकृतले जानकारी दिए ।
प्रहरीले खाणलाई नपोल्न काठमाडौं प्रहरी परिसरमा पुगेर आग्रह गरेको र रकम फिर्ताको प्रलोभन देखाएको भन्दै कांग्रेसका पूर्वसांसद आङटावा शेर्पालाई जेठ १ गते पक्राउ गरेको छ । शेर्पाले पनि बयानमा प्रहरीले लगाएको आरोप अनुरुपको बयान नदिएको प्रहरी अधिकारीहरू बताउँछन् ।
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाणसहित १६ जनालाई पक्राउ गरेको छ । पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापासहितका केही व्यक्ति अहिले पनि फरार छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया