खाणलाई निलम्बन गर्ने नै हो ! त्योभन्दा पहिला यताबाट शुरू गर्ने कि ?

काठमाडौं । नेपाली कांग्रेसका केही नेता र पदाधिकारीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका केन्द्रीय सदस्य बालकृष्ण खाणको विषयलाई लिएर ‘धमिलो पानीमा माछामार्न’ खोजीरहेका छन् ।

अभियोग लागेका पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता खाण हिरासतमा छन् । अभियोग लाग्ने कुरा खाणलाई पहिलो नै थाहा थियो । पार्टीभित्र केही समूहले निलम्बन वा कारबाहीको कुरा उठाएर उत्पात गर्छन् भन्ने कुरा पनि खाणलाई राम्रोसँग थाहा छ ।

खाणलाई के कुरा पनि थाहा छभने नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिन्छ र सहयोग गर्नुपर्छ भन्ने पूर्वानुमान थियो । खाणले सबै कुरा जान्दाजान्दै पनि कम्युनिस्टहरू जस्तो फरार भएनन् । आफ्नै घरमा बसे । प्रहरीले लिन आउँदा कुनै प्रतिवाद नगरेर गाडीमा चढेर हिरासतमा गए ।

प्रहरीको अनुसन्धानलाई सहयोग गरिरहेका खाणलाई लिएर महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले निलम्बनको कुरा गरिरहेका छन् । खाणलाई अदालतले दोषी ठहर गरेको छैन । खाण अहिले अनुसन्धानको प्रक्रियामा छन् ।

हो, खाणलाई अदालतले दोषी ठहर गर्‍यो भने निलम्बन मात्र होइन पार्टीबाटै कारबाही गर्नु पर्छ । खाणको विषयलाई लिएर महामन्त्रीद्वय थापा र शर्माले सभापति शेरबहादुर देउवामाथि विभिन्न खालका लाञ्छना लगाउने कार्य उचित होइन । सभापति देउवा पनि नक्कली भुटानी शरणार्थी प्रकरण आएपछि चिन्तित छन् ।

आफूलाई भेट्न आउने नेता कार्यकर्तासँग भुटानी शरणार्थी प्रकरणका विषयमा चिन्ता जनाउँदै प्रहरीलाई अनुसन्धानमा सहयोग गर्नुपर्ने बताउने गरेका छन् ।

अभियोग लाग्नेवित्तिकै खाणलाई निलम्बन वा कारबाही गर्ने हो भने विगतमा महामन्त्रीद्वय थापा र शर्मा तथा केन्द्रीय सदस्य पौडेललाई पनि आरोप लागेकै हो । थापालाई त्रि–चन्द्र क्याम्पसको स्ववियुको भ्रष्टाचार र बाख्रा काण्डको आरोप लागेकै हो । स्वास्थ्यमन्त्री हुँदा थापाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उप–कूलपति नियुक्तिमा पैसा खाएको आरोप लागेकै हो ।

शर्मालाई क्रिश्चियन धर्म प्रचारको आरोप लागेकै हो । एउटा टेलिभिजन कार्यक्रम चलाउँदाको अभियोग पनि लागेकै हो । केन्द्रीय सदस्य पौडेललाई जापानमा मानिसहरू लगेर छाडेको आरोप लागेको थियो । पौडेललाई जापानको अध्यागमनले नियन्त्रण गरेको आरोप लागेकै छ ।

कानूनमन्त्री रहेका उप–सभापति धनराज गुरुङलाई रातो पासपोर्ट बिक्री गरेको आरोप लागेकै हो । एनसेललाई लाभकर छुट प्रकरणमा दश लाख रुपियाँ खाएको आरोप पनि गुरुङलाई छ ।

नेता शेखर कोइरालालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा अडियोमा पैसा दिएको भनेर मुछिएको छ । कसैले अडियोमा मुछ्यो भन्दैमा कोइरालालाई पार्टीले कारबाही गरिहाल्ने ? चरित्र हत्या गर्ने अधिकार कसैलाई छैन ।

खाणलाई सफाइको मौका पार्टीले दिनुपर्छ । खाणले गलत कार्य गरेका छन् भने उनलाई न्यायालयले सजाय दिनेछ ।

जिन्दगीभरि संगठन निर्माणमा विताएको एउटा नेता र कार्यकर्तालाई अभियोग लाग्नेवित्तिकै निलम्बन वा कारबाही गर्ने हो भने पहिला धनराज गुरुङले तत्कालीन सहायक मन्त्रीको रातो पासपोर्ट बिक्री गरेको काण्डमा कारबाही सुरु गर्दा उचित होला ।

कांग्रेसले गलत काम गर्ने नेता वा कार्यकर्ता कसैलाई पनि बचाउनु हुँदैन । अभियोग लागेका नेता कार्यकर्तालाई सुनुवाई र सफाइको मौका दिनुपर्छ । खाणको विषयलाई लिएर आफ्नो विरोध समूहको पत्तासाफ हुने गरे गतिविधि गर्नु उचित होइन ।

महामन्त्रीद्वय थापा र शर्माले दिएका अभिव्यक्तिले कांग्रेसका नेता कार्यकर्तालाई दीभ्रमित बनाएको छ ।

खाण पक्राउ पर्नेवित्तिकै गगन–शेखर समूहका केन्द्रीय नेताहरू गृहमन्त्रीलाई फूलमाला लगाएर स्वागत गर्न पुगे । कांग्रेसका नेता पक्राउ पर्नेवित्तिकै फूलमाला लिएर बधाइ दिन जानै पर्ने थियो ? प्रश्न उठेको छ । यस्ता घण्टी कांग्रेसका गतिविधिले कांग्रेसले नोक्सान नै गर्नेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई मन नपरेको नेताहरूको नाम समाचारमा निरन्तर लेखाएर चत्रिर हत्या गर्ने अधिकार कसले दियो ? प्रश्न उठेको छ । खाण पक्राउ परेकोमा फूलमाला लिएर गृह मन्त्रालयमा जाने नेताहरूको सम्पत्ति छानविन गरौन त्यसो भए । को कति पानीमा छ ? देखिनेछ ।

Published : Thursday, 2023 May 18, 11:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया