साडुको पत्रिकामा एसएसपी केसीको प्रशंसा, टोपबहादुरलाई भगाएर किन बदनाम गराउँदै छन् कांग्रेसलाई ?

काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनका प्रमुख (एसएसपी) मनोज केसीले आफू अनुकूल समाचार लेखाएर हैरान बनाएका छन् ।

एउटा सञ्चारमाध्यममा एसएसपी केसीका नातेदार छन् । ती नातेदारलाई केसीले सूचना दिने गरेको अपराध कार्यालयका एक उच्च प्रहरीले बताएका छन् । एसएसपी केसीले केही अनलाइन र सञ्चारमाध्यमका पत्रकारहरूलाई पनि रकम दिएर आफ्नो पक्षमा समाचार लेख्न लगाएको आरोप छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एसएसपी केसीले काम हुनुभन्दा पहिला नै पत्रकारहरूलाई सूचना दिने गरेका छन् । अपराध कार्यालयको प्रहरी दोषीलाई पक्राउ गर्न जानुभन्दा पहिला नै पत्रकारहरू पुगेर क्यामरा तेर्छाएर बसेका हुन्छन् । त्यसको सूचना एसएसपी केसी बाहेक अरु कसले दिन्छ ?

एसएसपी केसीले नक्कली भुटानी शरणार्थी प्रकरणका प्रमुख दोषी भनिएका एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझीलाई अहिलेसम्म पक्राउ गर्न सकेका छैनन् । आरोप लगाउनेहरूले एसएसपी केसीले नै रायमाझीलाई भगाएको टिप्पणी गर्ने गरेका छन् । अनुसन्धानमा सघाइरहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई एसएसपी केसीले बहादुरीपूर्वक पक्राउ गरेर ल्याएका छन् । जबकि खाणलाई बोलाएको भए उनी आफै प्रहरी समक्ष उपस्थित हुने थिए । खाणले चाहेको भए एमालेका रायमाझी जस्तै फरार हुन सक्थे ।

पक्राउ परेका व्यक्तिहरूको रंगिन तस्वीरहरू पनि एसएसपी केसीले आफू निकटका पत्रकारहरूलाई म्यासेन्जर र ह्वाट्स एपबाट पठाइदिने गरेका छन् ।

कान्तिपुर दैनिकले बिहीबार लेखेको समाचारमा एसएसपी केसीको निकै गुनगान गाइएको छ । कान्तिपुर दैनिकले एसएसपी केसीप्रति किन यती धेरै रुचि देखाएको हो धेरै आशंका गरेका छन् । एसएसपी केसीका साडु भाइ कान्तिपुर दैनिकमा कार्यरत छन् भन्ने कुरा पनि बाहिर आएको छ ।

एसएसपी केसीले विशेष गरेर नेपाली कांग्रेसका नेता र नेतृहरूविरुद्ध समाचार लेखाइरहेका छन् । सन्दर्भ नै नभएका नेताहरूविरुद्ध एसएसपी केसीले किन समाचार लेखाउने गरेका छन् रहस्यको विषय बनेको छ ।

एसएसपी केसीको काममा कुनै शंका छैन । उनी सम्भवत काबिल अफिसर होलान् । तर, समाचार आफ्नो पक्षमा लेखाइहाल्ने कार्य उचित नरहेको टिप्पणी भइरहेको छ ।

एसएसपी केसीलाई ठूलो शुभकामना छ । उनले कांग्रेसका नेताहरूको मानमर्दन गरेर ठूलो बहादुरी देखाएका छन् । नक्कली भुटानी शरणार्थीका दोषीलाई हदैसम्मको कारबाही हुनुपर्छ । तर, संलग्नता नै नभएका कांग्रेसका नेताहरूविरुद्ध दिनदिनै आफ्ना नातेदार भएको दैनिक पत्रिकामा समाचार लेखाउँछन् खोजीको विषय बनेको छ ।

यो विषयलाई नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरले पनि ध्यान दिनुपर्ने भनेर कुरा उठ्न थालेको छ । एसएसपी केसी र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा साथी हुन् । उनीहरूका बीच निकै बाक्लो भेटघाट हुने गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा महामन्त्री थापाको निर्देशनमा एसएसपी केसीले कांग्रेसका केही नेता र नेतृहरूको बदनाम गरिरहेको आरोप छ ।

शुक्रबार प्रकाशित हुने कान्तिपुर दैनिकमा पुन: कांग्रेस र कांग्रेसका नेता तथा नेतृहरूको बदनाम हुने गरेर समाचार आउनेछ । त्यो समाचारमा एसएसपी केसीको निकै बखान भएको हुन बेर छैन । आरोपहरूका बारेमा एसएसपी केसीसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

Published : Thursday, 2023 May 11, 10:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया