कांग्रेसले नेता खाणबारे के गर्छ ?

काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूमाथि निष्पक्ष छानबिन र अनुसन्धानको माग गरेको छ ।

बुधबार साँझ सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले नेता बालकृष्ण खाणसहितका नेताहरूमाथि निष्पक्ष ढंगले छानविन गर्न माग गरेको हो ।

कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा.प्रकाशशरण महतले पार्टीका नेता खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपितका रुपमा रहेको र उनीमाथि अनुसन्धान भइरहेको बताए ।

डा.महतले भने, ‘उहाँ फरार हुनुभएको होइन, उहाँलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । यो भनेको उहाँ दोषी ठहर भइसक्नुभएको होइन ।’

उनले भने, ‘हाम्रो बैठक आकस्मिक होइन । हामी पार्टीका भ्रातृ संगठनका विषयमा छलफल गर्न पहिल्यै बैठक बस्ने तयारी थियौँ । यद्यपि बैठकमा उहाँ पक्राउ पर्नुभएको विषयमा छलफल भयो ।’

‘यो विषयमा हाम्रो भनाइ यत्ति हो कि उहाँमाथि निष्पक्ष अनुसन्धान हुनुपर्छ’, डा.महतले भने, ‘यो मुद्दामा जो पनि दोषी छन् दोषीलाई कारबाही र निर्दोषलाई न्याय मिल्नुपर्छ ।’

प्रवक्ता डा.महतले खाण पक्राउ पर्नु र पार्टीको बैठक बस्नु संयोगमात्रै भएको बताएका छन् ।

बैठकमा नेता खाणको बारे सामान्य छलफल भए पनि पार्टीमा निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा कुनै छलफल नभएको बताएका छन् ।

डा.महतले भने, ‘शरणार्थी प्रकरणमा उहाँलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । उहाँले आफैं अनुसन्धानमा सहयोग पुर्‍याउँछु भन्नुभएको छ ।’

उनले भने, ‘पहिले अनुसन्धान होस् त्यसपछि उहाँ दोषी ठहर भएको अवस्थामा हामीले पार्टीमा राखिराख्नु नै पर्दैन ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको छ । खाणका स्वकीय सचिव नरेन्द्र केसीसमेत पक्राउ परेका छन् ।

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । पाण्डेले पूर्वगृहमन्त्री खाणको समेत नाम लिएका छन् ।

आरोपितहरूको बयानका आधारमा अनुसन्धानका लागि प्रहरीले पूर्वगृहमन्त्री खाणलाई तानेको छ ।

Published : Wednesday, 2023 May 10, 10:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया