पूर्वगृहमन्त्री पक्राउ परेकै दिन ३ शीर्ष नेताहरूबीच के भयो सहमति ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेताहरूको छलफल र भेटघाटलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक नरहेको बताएका छन् ।

बुधार सिंहदरबारमा बुधबार शीर्ष नेताको बैठकपछि उनले शीर्ष नेताको छलफललाई लिएर आशंका गरिरहनु आवश्यक नभएको बताएका हुन् । दाहालले भने, ‘मिडियामा जसरी तपाईंहरूले प्रचार गर्नुभएको छ, तीन जना नेताको भेट त्यस्तो होइन, हामीहरूको भेट बढी सदनलाई कसरी सञ्चालन गर्ने, समिति बनाउने विषयमा छलफल भएको हो ।’

दाहालले भने, ‘नक्कली भुटानी शरणार्थी ठगीका विषयमा प्रहरीले जसरी अनुसन्धान अगाडि बढाएको छ, त्यसलाई कुनै अवरोध गर्न हुँदैन भन्नेमा शीर्ष नेताको सहमति रहेको छ ।’

प्रहरीले आफ्नो काम गरिरहेकाले यसमा कुनै शंका गर्नुपर्ने स्थिति नभएको उनको भनाइ छ । ‘आशंका गरिरहनु जरुरी छैन, हामीले प्रस्ट भाषामा भनेका छौँ, दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्, प्रहरीले आफ्नो काम ठीक ढंगले गरोस् भनेर हामीले आदेश दिएका छौँ’, उनले भनेका छन् ।

‘प्रहरीले आफ्नो काम गरेको छ’, दाहालले भनेका छन्, ‘यसकारण यो विषयमा द्विविधा हुनुपर्ने, आशंका गर्नुपर्ने कारण छैन ।’

सोसम्बन्धमा विधि विधान, नियम र पद्धतिअनुसार अनुसन्धान भएको जनाउँदै उनले प्रहरीले आफ्नो काम गरेको बताएका छन् ।
बुधबार दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग भेटवार्ता गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा एकपछि अर्को गरी भीआईपीहरू पक्राउ पर्न थालेपछि प्रधानमन्त्री दाहाल, देउवा र ओलीबीच निरन्तर भेटघाट भइरहेको छ ।

दाहाल, देउवा र ओलीबीचको भेटलाई सर्वसाधारणले भ्रष्टाचारीलाई बचाउमा केन्द्रित भएको हुनसक्ने आशंका गरिरहेका बेला नेताहरूले संसद् सञ्चालनका विषयमा मात्रै छलफल भएको दाबी गरेका छन् ।

तीन नेताहरूबीच संसद् सञ्चालनका विविध विषयहरूमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए ।

‘बजेटको तयारी छ, नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्नुपर्नेछ’, लेखकले भने, ‘संसदीय समितिका सभापतिहरू चयन गर्नुपर्नेछ ।’

उनले भने, ‘आजको छलफल अचानक होइन, पूर्वनिर्धारित हो । भेटमा संसद्लाई कसरी प्रभावकारी बनाउने भन्ने विषयहरुमै छलफल भयो ।’

कांग्रेस नेता लेखकले भेटमा भुटानी शरणार्थी प्रकरणबारे भने कुनै पनि छलफल नभएको बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार बिहानमात्रै कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् ।

Published : Wednesday, 2023 May 10, 6:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया