कांग्रेस नेता खतिवडाको ‘म्याउँ…म्याउँ…’ शब्दले एमालेभित्र तनाब

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभाका सांसद तथा केन्द्रीय सदस्य रामहरि खतिवडाले आफूलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा केही कम्युनिस्ट समर्थक अर्थात एमाले निकटका वेबपोर्टलहरूले मुछेपछि आक्रोश पोखेका छन् ।

खतिवडाले सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता र गल्ती नरहेको बताएका छन् । उनले आफूविरुद्ध कुनै पनि प्रमाण भेटिए कारबाही भोग्न तयार रहेको बताएका थिए । उनले केही सांसदहरू जस्तो भागेर नहिँड्ने बताएका थिए ।

सम्बोधनका क्रममा खतिवडाले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष म्याउँ…म्याउँ… गरेर भ्रष्टचारीलाई बचाउन खोजेको आरोप लगाएका थिए । सो अभिव्यक्तिबाट ओली रिसाएका छन् । ओलीले कांग्रेस नेता खतिवडाविरुद्ध आफूले केही पनि नभनेको नेताहरूसँग बताएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा खतिवडाले एमालेका अध्यक्ष ओलीतर्फ संकेत गर्दै नक्कली भुटानी शरणार्थी काण्डमा आफ्नो मान्छे पर्न लागेपछि प्रधानमन्त्रीकोमा म्याउँ‘म्याउँ‘ गरेर भ्रष्टाचारीलाई जोगाउन सक्रिय भएर लागेको आरोप ओलीलाई लगाएका थिए ।

प्रधानमन्त्री दाहाल र कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूलाई अनावश्यक रुपमा मुछ्न एमालेका नेताहरू लागेका बेला खतिवडाले सो अभिव्यक्ति दिएका थिए । एमालेका ठूला नेताहरू नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएपछि सो काण्डबाट बच्न कांग्रेसका नेताहरूलाई लाञ्छना लगाएर विषयलाई अन्यत्र मोड्न प्रयास भइरहेका छन् ।

अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी काण्डमा परेर फरार भएका एमालेका सचिव टोपबहादुर रायमाझीसहितका नेताहरूलाई बचाउन प्रधानमन्त्री दाहालसँग आग्रह गरेका बेला सांसद खतिवडाले ओलीलाई प्रधानमन्त्रीसँग म्याउँ…म्याउँ नगर्न सुझाव दिएका थिए ।

‘गर्लफ्रेण्डको अनलाइन’ भनेर चिनिएको एउटा एमाले समर्थक कम्युनिस्ट अनलाइनले कांग्रेसका सांसद खतिवडाविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा जबरजस्त नाम मुछेर समाचार समेत लेखेको थियो । सो अनलाइनका बारेमा खतिवडाले सार्वजनिक रुपमा र विभिन्न सञ्चारमाध्यममा आपत्ति जनाएका थिए ।

Published : Tuesday, 2023 May 9, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया