सरकारद्वारा ७ सचिवको सरुवा, एमाले समर्थकलाई फालियो, पक्राउ परेका पाण्ड अतिरिक्तमा पुगे

काठमाडौं । सरकारले अर्थ मन्त्रालयसहित विभिन्न सात जना सचिवहरूको सरुवा गरेको छ ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले ७ जना सचिवहरूको सरुवा गरिएको हो । अर्थ सचिवमा अर्जुन पोखरेललाई सरुवा गरिएको छ ।

अर्थ मन्त्रालयका सचिव तोयम रायलाई उप–राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले रायलाई अर्थमा ल्याएका थिए । राय एमाले समर्थक हुन् ।

सचिव बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा व्यवस्थापन गरिएको छ । अर्याललाई सोही कार्यालयमा पाँच सातादेखि काम नदिई राखिएको छ ।

राष्ट्रपति कार्यालयका सचिव यादव कोइरालालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । उनी राष्ट्रपति कार्यालयमा थिए । उनलाई यसअघि केही समय प्रधानमन्त्री कार्यालयमा राखिएको थियो ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने तयारी गरेको आरोप लागेर बुधबार पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई अतिरिक्त समूहमा राखिएको छ ।

प्रधानमन्त्री कार्यालयका सुमन अर्याललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ । महिला मन्त्रालयका सचिव डिल्लीराम शर्मालाई राष्ट्रपतीको कार्यालय सरुवा गरिएको छ ।

Published : Wednesday, 2023 May 3, 10:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया