कांग्रेसका गुरुङ, बस्नेत र लिम्बू मन्त्रीमा नियुक्ति, ३ बजे शपथ

काठमाडौं । नेपाली कांग्रेसका तीन मन्त्रीलाई थप गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

बुधबार प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीहरूलाई नियुक्त गरेका हुन् । पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम तीन जना मन्त्रीहरू नियुक्त गरी कार्यभार तोकेका छन् ।

नेपाली कांग्रेसबाट उप–सभापति धनराज गुरुङलाई कानून, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बूलाई युवा तथा खेलकुदमन्त्री जिम्मेवारी दिइएको छ ।

सत्ता गठबन्धनमा कांग्रेसको भागमा परेका ८ मन्त्रालयमध्ये बाँकी रहेका तीनवटा मन्त्रालयमा मन्त्री नियुक्त भएका हुन् ।

कांग्रेसबाट यसअघि पूर्णबहादुर खड्का उप–प्रधान तथा रक्षा, डा.प्रकाशसरण महत अर्थ, रमेश रिजाल उद्योग बाणिज्य तथा आपूर्ति, एनपी साउद परराष्ट्र र सीता गुरुङ शहरी विकास मन्त्री नियुक्त भइसकेका छन् ।

राष्ट्रपति कार्यालयकाअनुसार तीन जना मन्त्रीहरूको शपथ बिहीबार दिउँसो तीन बजे हुनेछ ।

Published : Wednesday, 2023 May 3, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया