कोरोनाविरुद्धको क्याप्सुल औषधि ७ दिनभित्र ल्याउन डा.अन्सारी तयार, सरकारसँग मागे अनुमति

काठमाडौं । आयान हेल्थ केयर प्रालि, कुपण्डोल, ललितपुरका म्यानेजिङ डाइरेक्टर डा.अबूल हुसैन अन्सारीले कोरोनाविरुद्धका सबै प्रकारका औषधि ल्याउन आफू तयार रहेको बताएका छन् ।

नेपाल सरकारका उच्च अधिकारीहरूलाई भेट गरेर डा.अन्सारीले कोरोनाविरुद्ध विश्वमा बनेका क्याप्सुलसहितका औषधिहरू नेपालमा ल्याएर सहयोग गर्न तयार रहेको बताएका हुन् ।

नेपाल सरकारका सरोकारवाला निकायले पनि डा.अन्सारीको आग्रहलाई सकारात्मक रुपमा लिँदै सहयोग गर्ने आश्वासन दिएका छन् ।

डा.अन्सारीले प्रधानमन्त्री शेरबहादुर देउवाका स्वास्थ्य विज्ञ सल्लाहकार प्रा.डा.आर.पी.बिच्छा, स्वाथ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेललगायतलाई भेटेर क्याप्सुल ल्याउन सहयोग गर्न आग्रह गरेका छन् ।

मोलेनजाइभिर २०० क्याप्सुललाई कोरोना संक्रमित बिरामीलाई चिकित्सकको सल्लाह र निगरानीमा सेवन गराउँदा कोरोनाबाट निको हुने गरेको दाबी गरिएको छ । यो क्याप्सुललाई अमेरिका, बेलायत, भारत, बंगलादेशसहितका देशले आपतकालीन अनुमति दिइसकेका छन् । यो क्याप्सलु भारतमा पनि धमाधम उत्पादन भइरहेको छ ।

डा.अन्सारीले नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धीन नोमन चौधरी, फस्ट सेक्रेटरी मोहम्मद अलामगिर खानसँग पनि भेट गरेर बंगलादेशमा उत्पादन भएको कोरोनाविरुद्धको औषधि मोलेनजाइभिर २०० क्याप्सुल उपलब्ध गराउन अनुरोध गरेका छन् ।

नेपालका लागि बंगलादेशका राजदूत चौधरीले पनि नेपाललाई कोरोनाविरुद्ध उत्पादन भएको क्याप्सुल औषधि दिन तयार रहेको आश्वासन दिएको डा.अन्सारीले बताएका छन् ।

डा.अन्सारीले कोरोनाविरुद्ध प्रयोग हुने खाने क्याप्सुल ल्याउन औषधि व्यवस्था विभागबाट अनुमति पाएको एक हप्ताभित्रै औषधि नेपाल ल्याउने जनाएका छन् ।

बंगलादेशले कोरोनाविरुद्ध उत्पादन गरेको क्याप्सुल औषधि नेपाल ल्याउन डा.अन्सारीले अन्तिम तयारी गरेका छन् । कोरोनाभाइरसको तेस्रो चरणको महामारी फैलिन थालेका बेला डा.अन्सारीले कोरोनाविरुद्धको क्याप्सुल औषधि ल्याउने बताएका छन् ।

यसअघि, कोरोना महामारीका बेला डा.अन्सारीले आफ्नो कम्पनीमार्फत कोरोनाभाइरसबाट संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेमडिसिभिर औषधि बंगलादेशबाट आयात गरेर सरकारलाई सहयोग गरेका थिए । रेमडिसिभिर औषधि लिनका लागि एक वर्ष अगाडि डा.अन्सारीको कुपण्डोलको कार्यालय अगाडि लामो लाइन समेत लागेको थियो ।

ज्वरोका बिरामीले प्रयोग गर्दै आएको सिटामोल औषधि निकै सस्तोमा दिनका लागि डा.अन्सारीले प्रस्ताव पनि अगाडि बढाएका थिए ।

Published : Tuesday, 2022 January 11, 12:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया