ग्रिसमा गाडी दुर्घटना, चार जना नेपालीहरूको मृत्यु

काठमाडौं । ग्रिसमा भएको सवारी दुर्घटनामा मृत्यु भएका ४ जना नेपालीहरूको पहिचान खुलेको छ ।

कात्तिक २५ गते टर्कीबाट ग्रिस छिर्न खोज्दा सवारी दुर्घटना भएको थियो । दुर्घटनामा चार जना मृत्यु भएको थियो ।

मृत्यु हुनेमा दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–६ का ३० वर्षीय राजु लामा, रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका–४ की २१ वर्षीया रमिला घले ‘शर्मिला’, कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–४ का ३८ वर्षीय लक्ष्मण सापकोटा र तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–५ का ओमबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

सवारी लाइसेन्स नभएका मोल्दोभाली चालकले चलाएको कालो कारमा १५ जना सवार थिए ।

ग्रिस प्रहरीले रोक्न खोजेपछि तीव्र गतिमा हुइँकिएको कार पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका दोलखा, भीमेश्वर नगरपालिका–९ का मनु लामा र कैलालीको गौरीशंकर नगरपालिका–४ का लोकराज आचार्य केही दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका थिए । लोकराज र लक्ष्मण असोज २ मा नेपालबाट सँगै टर्की उडेका थिए । मनु र राजु भने असोज ९ मा उडेका थिए ।

एजेन्टहरू शम्भु लामा, ईश्वर लामा, सुरज लिम्बूलगायतलाई पैसा बुझाएर उनीहरू गएका थिए ।

Published : Thursday, 2021 December 23, 10:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया