कांग्रेस ठूलो र गगन–विश्वप्रकाशलाई सफल बनाउन प्रदीपले सहयोग गर्ने

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा पराजित भएपछि प्रदीप पौडेलले आफूले नजिते पनि आफ्नो पुस्ताको विजय भएको बताएका छन् ।

शुक्रबार महाधिवेशन प्रतिनिधिलाई धन्यवाद ज्ञापन कार्यक्रम गर्दै उनले चुनावमा गएपछि हारजित स्वाभाविक भएको बताउँदै मित्रवत् प्रतिस्पर्धालाई सामान्य रूपमा लिएको बताएका छन् ।

‘हामीले सँगै पार्टीका कमजोरीमाथि प्रश्न उठाएका थियौँ’, उनले भने, ‘म पनि उत्तर दिने ठाउँमा जान चाहन्थेँ, सफल हुन सकिनँ ।’

उनले भने, ‘जो साथीहरू पुग्नुभएको छ । फेरि हिजोजस्तै नहोस्, नयाँ प्रश्न उठ्ने ठाउँ नहोस् ।’ नेता पौडेलले महामन्त्रीमा विजयी भएका गगन थापा र विश्वप्रकाश शर्मालाई सहयोग गर्ने बताएका छन् ।

‘हाम्रो पुस्तामा धेरै आशा छ’, पौडेलले भनेका छन्, ‘कार्यशैली फरक होस्, पार्टीमा हामी आफैँ व्यवस्थित हुन सके मात्रै हामीले देशलाई व्यवस्थित गर्न सक्छौँ ।’

कांग्रेसका नेता पौडेलले आफ्नो पुस्ताका साथीहरू पार्टीको कार्यकारी भूमिकामा पुगेकोमा उनले खुसी व्यक्त गरेका छन् ।

अब पार्टीलाई अगाडि बढाउँदै आमनिर्वाचन जित्ने कुरा महत्वपूर्ण भएको उनले बताएका छन् ।

उनले चुनाव जित्न पार्टीमा एकता आवश्यक भएको बताएका छन् ।

‘आन्तरिक प्रतिस्पर्धाको विधि पनि बदल्नु आवश्यक छ’, उनले भने, ‘नीतिसहितको नेतृत्व आउने अवस्था हुनुपर्छ ।’

आफूले १४औँ महाधिवेशनमा लडेको थिएँ भन्ने मनोविज्ञान बोकेर काम नगर्ने बताएका छन् ।

नेता पौडेलले पार्टी निर्माणको एजेण्डामा नेतृत्वलाई सहयोग गर्ने बताएका छन् ।

Published : Friday, 2021 December 17, 8:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया