कांग्रेस नेता गोर्खालीद्वारा बालबालिकालाई न्यानो कपडा वितरण

मेलम्ची । नेपाली कांग्रेसका युवा नेता एवम् महासमिति सदस्य राजेन्द्रबहादुर गोर्खाली ‘राजु’ले सिन्धुपाल्चोकको एउटा सरकारी विद्यालयका बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरेका छन् ।

बुधबार इन्द्रावती गाउँपालिका– ७ तुलसीडाँडाको श्री बालबालिका सुधार आधारभूत विद्यालयका बालबालिकालाई गोर्खालीले न्यानो कपडा वितरण गरेका हुन् ।

यो विद्यालयमा १५० भन्दा धेरै बालबालिकाले अध्ययन गर्दै आएका छन् । विद्यालयमा दलित समुदायका बालबालिका धेरै छन् ।

सिन्धुपाल्चोक कांग्रेसको क्षेत्र नं. २ का क्षेत्रीय सचिव केशव श्रेष्ठ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण बोगटीको आग्रहमा नेता गोर्खालीले न्यान्यो कपडा र १ लाख रुपियाँ आर्थिक सहयोग गरेका हुन् ।

कार्यक्रममा नेता गोर्खालीले आफूले पनि काठमाडौंको सामान्य विद्यालयमा अध्ययन गरेको बताए ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको उदाहरण दिँदै युवा नेता गोर्खालीले भने, ‘प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा डडेलधुरा जस्तो बिकट ठाउँमा विद्यालय अध्ययन गरेर आएर देशको प्रधानमन्त्री बन्नुभएको छ । तपाईहरूले पनि राम्रोसँग अध्ययन गर्नुभयो भने राम्रो ठाउँमा जान सक्नु हुनेछ । सबैभन्दा ठूलो कुरा शिक्षा हो ।’

बालबालिकाहरूलाई गोर्खालीले सरकारी विद्यालयमा अध्ययन गरेकाहरू पनि देशको उच्च ओहदामा पुगेको बताए । उनले मन लगाएर अध्ययन गर्न बालबालिकासँग आग्रह गरेका छन् ।

‘विद्यालयमा विपन्न परिवारका बालबालिकाले अध्ययन गर्दा आउनु भएको रहेछ’, उनले भने, ‘जाडोमा विद्यार्थीलाई समस्या भएको थाहा पाएँ । मैले न्यानो कपडा र एक लाख रुपियाँ आर्थिक सहयोग गरेको छु ।’

कार्यक्रममा नेपाली क्षेत्रीयका क्षेत्रीय सचिव केशव श्रेष्ठ, नेविसंघका नेता मदन गिरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण बोगटी, प्रधानाध्यापक इच्छाराम दंगाल, शिक्षक माधवप्रसाद न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

नेता गोर्खालीले सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तीका बेला लाखौँ रुपियाँ बराबरको सहयोग गरिसकेका छन् ।

बाढीपहिरो र कोरोना महामारीका बेला गोर्खालीले क्षेत्र नं. २ मा नगदका साथै खाद्यान्न र लत्ताकपडा सहयोग गरेका थिए ।

Published : Wednesday, 2021 December 15, 7:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया